काठमाडौं, ३० असार । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिनुभएको अभिब्यक्ति राजनीतिक विषयसंग संम्बन्धित नभएको जनाएको छ । परराष्ट्रले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो । भानु जयन्तिको अवसरमा सोमबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गर्नुभएको थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत प्रधानमन्त्रीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको जनाएको हो । प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पु¥याउने आशयमा व्यक्त नभएको बिज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति भारतको अयोध्याको विशेषता र सांस्कृतिक महत्वलाई अवमूल्यन गर्नको लागि नभएको पनि विज्ञप्तिमा उल्लेख छ । परराष्ट्रले सांस्कृतिक परम्पराअनुसार विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म हरेक वर्ष विवाह आउने गरेको स्मरण गराएको छ । प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१८ मे मा जनकपुर–अयोध्या यात्रु बस सेवालाई महत्वका साथ उद्घाटन गरेको परराष्ट्रको बिज्ञप्तिमा उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सत्तारुढ नेकपाका नेताहरूले नै आलोचना गरेका छन । नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिनुभएको छ । यसैगरी नेकपाका नेता भीम रावलले पनि ट्वीट गर्दै भारतले सीमा मिचेको,तराइका भूभाग डुवानमा परेको बेला भारतसंग वार्ता गर्नुपर्नेमा प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै अभिव्यक्तिको आलोचना गर्नुभएको छ ।