काठमाडौं, ३० असार । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी–पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा आफु अत्यन्त दु:खित भएको बताउनुभएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘ यो वर्षको वर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु ।’
पूर्वराजा शाहले यो दुखको स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् भन्दै विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने आग्रह गर्नुभएको छ।
विज्ञप्तिमा शाहले, ‘ हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ ।’
पूर्वराजा शाहले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने ईश्वरसँग प्रार्थना गर्दै प्राकृतिक विपदको यो समयमा शोक सन्तप्त पिडित सबैमा समवेदना तथा घाइते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।