पछिल्लो मतपरिणाम : १८ वटा तहको नतिजा सार्वजनिक, कसले कहाँ जिते (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, ५ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत १८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । १८ मध्ये नेपाली काँग्रेसले ६ वटा तथा नेकपा एमालेले चार स्थानीय तहमा जित हात पारेका छन् ।

एमालेले पर्साको पटेर्वा सुगौली, धनुषाका मुखियापट्टी मुसहरनिया र बटेश्वर गाउँपालिका तथा सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको हो । पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश चौधरीलाई ९० मतले पछाडि पारी एमालेका हरिनारायण चौधरी विजयी भएका हुन् । उपाध्यक्षमा भने कांग्रेसकी ममता चौधरी निर्वाचित भएकी छिन् ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमालेका मनोज यादव अध्यक्षमा निर्वाचित भएका छन् भने बटेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेकै डम्बर बहादुर राउत २३ सय ७७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामआशिष महतोले २१ सय ९६ मत प्राप्त गरेका थिए । सप्तरीको सप्तकोशी नगरपालिकाको मेयरमा एमालेका ४३ सय ६१ मत ल्याइ एमालेका उतम कुमार शर्मा मेयरमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीले ३ हजार ६ सय ९० मत ल्याएका थिए ।

नेपाली कांग्रेसले सर्लाहीको धनकौल, सप्तरीको विष्णुपुर, धनुषाको औरही र जनक नन्दिनी तथा सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा रौतहटको परोहा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । धनकौल गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा निलाम्बर यादव, जनक नन्दिनी गाउँपालिकाको अध्यक्षमा वारिक अब्दुल शेख तथा औरही गाउँपालिकाको अध्यक्षमा ब्रह्मदेव यादव विजयी भएका हुन् । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विश्वमोहन प्रसाद यादव २३ सय ३ ल्याएर अध्यक्षमा तथा शोभाकुमारी यादव २३ सय ७७ मत ल्याएर उपाध्यक्षमा विजयी भएकी हुन् । त्यस्तै परोहा नगरपालिकामा पनि कांग्रेस विजयी भएको हो ।

रौतहटको परोहा नगरपालिकाको मेयरमा शेख वकिल तथा उपमेयरमा सुगन्धी गिरी निर्वाचित भएका हुन् । नगरपालिकाका ९ वडामध्ये ७ वटामा काँग्रेस र २ वडामा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर तथा अर्नमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । मेयरमा गंगा पासवान ४ हजार ३ सय ९ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रामदयाल महतोले ३ हजार १ सय ९० मत ल्याए । माओवादीले कर्जन्हाका ११ मध्ये ९ वटा वडा जितेको छ । अर्नमा गाउँपालिकाको अध्यक्षमा ठकु महतो कोइरी २४ सय ३६ मतसहित विजयी भएका हुन् । उपाध्यक्षमा माओवादीकी सीयावती मुखिया एक मतको अन्तरले विजयी छिन्, उनले २२ सय ९९ मत ल्याएकामा एमालेकी रामकुमारी महतोले २२ सय ९८ मत पाईन् ।

सिरहाको विष्णुपुर गाउँपालिकाबाट जितको खाता खोलेको संघीय समाजवादी फोरम नेपालले सिरहाकै भगवानपुर गाउँपालिकामा पनि विजय हासिल गरेको छ । भगवानपुर गाउँपालिकाको अध्यक्षमा वेचेनप्रसाद यादव तथा विष्णुपुरको अध्यक्षमा जागेश्वर यादव विजयी भए ।
नेपाल लोकतान्त्रिक फोरमले रौतहटको ईशानाथ नगरपालिका र सर्लाहीको विष्णु गाउँपालिकामा जित हात पारेको छ । ईशानाथ नगरपालिकाको मेयरमा सन्तोष महतो ५७ सय ८५ मत ल्याएर विजयी भएको हो भने विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव १९ सय ४६ मत ल्याइ निर्वाचित भए ।

धनुषाको हंसपुर नगरपालिकाबाट खाता खोलेको राजपा नेपालले सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा रामरामप्रसाद राय र उपाध्यक्षमा सुनितादेवी विजयी भएकी हुन् ।

 

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);