काठमाडौं, २३ असार । बहुदलीय व्यवस्थामा दलको भूमिका महत्वपूर्ण हुन्छ । एक प्रकारले भन्ने हो भने, दल नै प्रजातान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो भन्न सकिन्छ । तर नेपालमा दलहरु संधै कमजोर देखिए । जब जब महत्वपूर्ण निर्णय गर्नुपर्ने बेला आउँछ , तब दल टुक्रिने गर्छ । २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी २०४६ सम्म आउँदा कति टुक्रा भए भनेर, सायद जनतालाई थाहा छैन । माक्सवाद, लेनिनवाद माओवाद भन्दै तिनीहरुको दर्शनशास्त्रबाट आआफ्नो दृष्टिकोण अनुसार परिभाषित गर्दै टुक्रिएका त्यतिखेरका कम्युनिष्ट घटकप्रति जनताको चासो किन पनि भएन भने, तिनीहरु राजनीतिको मूल प्रवाहमा थिएनन् । कसरी फुटे ? कसरी जुटे ? ति सबै कुरा कोठा भित्रै सीमित हुन्थ्यो । ति निर्णयहरु सानातिना आआफनो पार्टीका मुखपत्रका रुपमा रहेका पत्रिकामार्फत राजनीतिमा चासो राख्ने व्यक्तिले समाचार पढ्थे ।
त्यतिबेला पार्टी फुट्नुलाई व्यक्तिवादी, संकिर्णवादी, उग्रवादीदेखि दक्षिणपन्थी, बामपन्थी र मध्यपन्थी भनेर आरोप लगाइन्थ्यो र दलहरु आफू नै सच्चा कम्युनिष्ट भएको घोषणा गर्थे । विचार, सिद्धान्त वा कार्यनीतिलाई जतिसुकै महत्व दिइएको देखिएतापनि, मूलभूत रुपमा हेर्ने हो भने, व्यक्तिगत टकराव नै पार्टी फुटको मुख्य कारण देखिन्थ्यो । २०४६ सालमा बहुदलीय व्यवस्थाको लागि संघर्ष गर्ने बेलामा यी सम्पूर्ण कम्युनिष्ट घटकहरु मुख्यतः दुई भागमा विभाजित भए । एउटा नरम पन्थी, एउटा उग्रपन्थी । सात वामोर्चा र संयुक्त राष्ट्रिय जनआन्दोलन नामक दुई कम्युनिष्ट धारले, यही नरम र उग्र विचारको प्रतिनिधित्व गर्यो ।
जुटेर आएकै कारणले यिनीहरुलाई पहिलो निर्वाचनमा नै जनताले पत्याए र संसदमा दोश्रो र तेश्रो ठूलो दल बन्न सफल पनि भए । त्यसपछि पनि पार्टी फूटको इतिहासले निरन्तरता नै पायो । कहिल्यै नफूटेको नेपाली कांग्रेस पनि फुट्यो । वामदेव गौतमले सीपी मैनाली लगायतका नेताहरुलाई लिएर नेकपा माले बनाए । माओवादी विभिन्न चिरामा विभाजन भयो । तराईवादी दलहरु पनि गन्नै नसक्ने संख्यामा विभाजित भए । यसप्रकार निरन्तर रुपमा पार्टीहरु सत्तामा पुग्ने लोभलालचमा आफैं कमजोर बन्दै गए । तर जनताको नजर भने, सक्षम र सवल पार्टी कसरी बन्छ भन्नेतर्फ नै थियो । त्यसैले चोइटिएको शेरबहादुर देउवाको पार्टी मूल पार्टीमा फर्किन विवश भयो ।
वामदेव र सीपीले गठन गरेको नेकपा माले निर्वाचनको बेला लज्जाजनक हारमा परिणत भयो । सत्ताबाट बाहिर बस्न प्रायः नरुचाउने वामदेव आफ्नो गुटसहित पुन एमालेमा फर्किन विवश भए । ठूलो नेतृत्व पंक्तिका महत्वपूर्ण व्यक्तिहरुसहित बाहिरिएको रामबहादुर थापा बादल समूह पुन मूल धारमा नै फर्किन बाध्य भयो । हुँदाहुँदै यस्तोसम्म बनाई दियो कि, थुप्रै टुक्रामा विभाजित तराईवादी दलहरु एकरातमा नै एकीकृत भएको घोषणा गर्न पुगे ।
कांग्रेस, कम्युनिष्ट र तराईवादी यी सबै शक्तिहरु राज्यको कुनै न कुनै ठाउँमा प्रभावी बन्दै गए । संविधान बन्यो । देशमा सरकारहरु बन्दै गए । फुटको राजनीतिबाट गुज्रिरहेको दलहरुका लागि अझ पार्टी एकीकृत हुनुपर्छ भन्ने सोच पलाउँदै गयो । फलस्वरुप चार वर्ष अगाडिसम्म एकले अर्काको छायाँसम्म देख्न नरुचाउने दुई वटा पार्टी नेकपा एमाले र नेकपा माओवादीलाई पार्टी एकतामा परिणत गर्दै नेकपा नामको पार्टी बनाईयो । स्थायी सरकार र स्थिर नीतिसहितको अब देश संचालन हुन्छ भन्ने, अपेक्षा राख्ने जनतालाई यो एकताले अत्यन्त उत्साहित गर्यो । केही मात्रामा भएपनि अब विदेशीको चलखेल नेपालमा कम हुन्छ भन्ने कुरामा जनता आशावादी बन्न पुगे ।
सत्ता संचालनको तीन वर्ष पनि नपुग्दै नेपाली जनताको अगाडि फेरी त्यही विरासत देख्नु पर्ने अवस्था आएको छ । मूल पार्टी नेकपामा गम्भीर संकट देखिएको छ । अविश्वास नै अविश्वासले घेरिएको चार पाँच जना नेताको चक्रव्यूहमा नेकपा फसेको छ । कुनै पनि बेला केही पनि हुनसक्छ भनेर सिंगो पार्टी पंक्ति त्रसित छ । यो अवस्थामा पार्टी नेतृत्वले के बुझ्न जरुरत छ भने, आफ्नो स्वार्थ र उत्कण्ठालाई नेताहरुले विराम दिन सकेनन् भने र जुन पक्षले पार्टी फुटाउनेका निमित्त महत्वपूर्ण भूमिका खेल्छ, त्यो पक्षलाई जनताले तिरस्कार गर्नेछन् । फूटको राजनीतिबाट गुज्रिएका र फूटको कारक मानिएका कसैलाई पनि जनताले स्वीकार गरेका छैनन् ।
मूलपार्टी नै जनताले अंगीकार गरेका छन् । मूल पार्टीलाई नै जनताले भोट दिएका छन् । त्यसैले नेतृत्व पंक्तिले बुझोस कि, नीति जतिसुकै राम्रो भए पनि, नेतृत्व जतिसुकै सक्षम देखिए पनि पार्टीलाई कमजोर गरेर गरिने राजनीति, नेपाली जनताले स्वीकारेका छैनन् र कहिल्यै स्वीकार्ने पनि छैनन् ।