काठमाडौं, १९ असार । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेभि देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।
शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन् । आजसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टीनमा ३५ हजार ४ सय ७२ रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् । आजसम्म ६ हजार १ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो
त्यस्तै कोरोना संक्रमणबाट काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ । नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको बताउनुभयो । छाति दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।