समाचार | Page 1707 of 6015 | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

समाचार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको दबदबा

कास्की। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी भएका छन् । हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, नाै रजत र १० काँस्यसहित २७ पदक जित्दै शीर्ष स्थानमा छ। दोश्रो भएको बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र दुई काँस्यसहित १० पदक जितेको छ। एपिएफले चार स्वर्ण, पाँ रजत र नाै काँस्यसहित १८ पदक जितेको छ भने नेपाल पुलिस क्लबले दुई स्वर्ण, एक रजत र दुई काँस्यसहित पाँच पदक पाएको छ। घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएकाे छ। गण्डकीले हालसम्म स्वर्ण र रजत पदक पाउन सकेको छैन। पाँच वटा काँस्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ। पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले एक स्वर्ण र तीन काँस्यसहित चार पदक र लुम्बिनीले दुई रजत पदक पाएको छ।

प्रदेश १ ले तीन कास्य मात्रै जितेकाे छ। कर्णाली, मधेश र एनआरएनए हालसम्म पदकविहिन छन् । हालसम्म २० इभेन्टका खेल सकिएका छन् ।

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा

अर्घाखाँची। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ । १५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि जिल्लाकाे प्रतिनिधित्व गर्दै संसदमा पुगेकी पुष्पा भुसालको अगाडि जिल्लामै रहेर सामाजिक गतिविधिमा सक्रिय भुसालको उम्मेदवारीले चुनावी रौनक बढेको छ ।रायमाझी र भुसाल मैदानमा रहे पनि स्वतन्त्र पत्रकार संघको अध्यक्ष भएर सामाजिक गतिविधिमा देखाएकाे सक्रियताले आफूले निर्वाचन जित्ने दाबी गर्छन पत्रकार भुसाल । यता, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसाल भने अर्घाखाँचीको प्रतिनिधित्व गर्दै विभिन्न मन्त्रालयसहित उपप्रधानमन्त्री समेत बनिसकेका टोपबहादुर रायमाझीको प्रतिस्पर्धा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग मात्र रहेको बताउँछन्ए । स्थानीय तहको निर्वाचनको मतका आधारमा पनि अर्घाखाँचीमा आफूहरूको सहज जीत हुने कांग्रेस नेताहरूको अपेक्षा छ । ‘हामीसँग यसै पनि बहुमत छ,’ कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले भने ।

घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले आफ्नो प्रतिष्प्रधा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृतिसँग रहेको जिकिर गरे । यो पटक अर्घाखाँचीले नयाँ सन्देश दिने उनकाे विश्वास  ।

१५ सय मिटरमा मुकेश र फुलमतिलाई स्वर्ण

काठमाडौं। नवौं वृहत राष्ट्रिय खेलकुदअन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जितिन् । फुलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् । पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन् । नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए ।

महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्णपदक जितेकी छिन् ।

हनुमान चरित्रले शाकाहारी बनेका दारा सिंह

मुम्बई। बलिउड अभिनेता दारा सिंह लोकप्रिय धार्मिक टेलिफिल्म ‘रामायण’ मा ‘हनुमान’ को भूमिका निर्वाह गरेर विश्वभर लोकप्रिय बने । तर उनीसँग जोडिएको एक किस्सा भने कमैलाई मात्र थाहा होला । हनुमान बन्नकै लागि दाराले जीवनमा एउटा महत्वपूर्ण निर्णय लिएका थिए । उनले ‘रामायण’कै लागि हनुमान हुन शाकाहारी बनेका थिए । त्यसअघि मांसाहारी उनी ‘रामायण’ अवधिभर शाकाहारी नै भएका थिए ।

सुटिङ सकेर घरमा आउँदा अधिकांशले उनको खुट्टा ढोगेका थिए । मानिसहरुले उनलाई हनुमान नै ठानेर पूजा समेत गर्दथे । कुनै समय मन्दिरमा उनका तस्वीर पनि राखिन्थे । मन्दिरमा समेत आफ्नो तस्वीर राखिएपछि उनले सदाका लागि शाकाहारी भोजन अपनाउने निर्णय लिए ।

दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीमा चरम ढिलासुस्ती 

खोटाङ।  खोटाङको दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती भएको छ । दिक्तेल–खोटाङबजार सडकअन्तर्गत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नतीको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो । अस्पतालचोक–दुबेचिवा (३ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम ढुकुछु/बगाले/बिएनटी जेभीले लिएको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी ढुकुछु/बगाले/बिएनटीले २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।  यस्तै, दुबेचिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याटसहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो। उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । तर, करिब चार महिना म्याद बाँकी रहदा दुबै सडक खण्डको काम निरासाजनक छ । सडक स्तरोन्नतीमा ढिलासुस्ती हुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिका आवतजावत गर्न सास्ती भइरहेको छ । विशेषगरी सामान्य वर्षाकै कारण दिक्तेलदेखि साप्सु खोलाबबीचका सडक हिलाम्मे हुने गरेको छ ।

मेयर भट्टराई पुगे डेडेलिगेसन  दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा ढिलासुस्ती भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगामा डेलीगेसन पुगेका छन् । मेयर भट्टराईले बिहीबार कार्यालय प्रमुख इन्जिनियर अरुणकुमार लाल कर्णलाई भेटेर मौखिक स्पष्टीकरण लिएका छन् । इन्जिनियर कर्णले निर्माण व्यवसायीलाई तत्काल फोन गरेर एक साताभित्र काम सुरु गर्न निर्देशन दिएको मेयर भट्टराईले बताए ।‘निर्माण व्यवसायीले समयमा काम नगरी कर्तव्यविमुख हुँदा मात्तिम–रतन्छा हुँदै साकेला जाने नागरिक पीडा खेप्न वाध्य छन् । एक साताभित्र काम सुचारु नगराए अन्यथा नयाँ शिराबाट काम गराउने समझदारी भएको छ,’ भट्टराईले भने, ‘यती गर्दा पनि काम सुरुवात नभए नागरिकको हितलाई मध्यनजर गर्दै नगरपालिकाले कडाभन्दा कडा कदम चाल्ने तयारी गरेको छ । हामी आन्दोलनदेखि विभागसम्म डेलीगेसन दिन पुग्छौँ ।’

अस्पतालचोक–दुबेचिवा सडक खण्डमा सामान्य काम भए पनि दुबेचिवा–साप्सुखोला सडक खण्डमा भर्खर मात्र काम सुरु भएको मेयर भट्टराईले बताए ।

सय मिटर दौडमा निशाको कीर्तिमान

काठमाडौं। नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग)  त्यो कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।

ह्यारी पोटरका रुबियस हेग्रिडको निधन

लसएञ्जल्स। हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ। उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा भएको थियो । उनको वास्तविक नाम एन्थोनी रोबर्ट मेकमिलन थियो। आफ्नो पढाई पूरा गरेपछि जब रोबीले अभिनयमा आफ्नो पाइला चाले, सुरुवाती दिनमा उनले निकै संघर्ष गर्नुपरेको थियो । अभिनयमा खासै सफलता नपाएपछि उनी क्लबमा स्टेण्ड अप कमेडी गर्न सक्रिय थिए । उनले आफ्नो अभिनय करियरको सूरुवात टेलिभिजन सिरियलबाट गरेका थिए । फिल्ममा आउनुअघि उनले ‘फ्लेश गार्डन,’ ‘ब्लेकएडर’ र ‘कीप इट इन द फेमिली’ जस्ता शोमा काम गरेका थिए । यसबाहेक उनी ‘ए किक अप द एइटीज’, ‘द कमिक स्ट्रिप’ र ‘अल्फ्रेस्को’ जस्ता कमेडी शोमा पनि देखिएका थिए ।

सन् १९९३ र २००६ को बीच प्रसारण भएको जिमी मेकगवर्नको क्रेकर सिरिजमा रोबी एक असामाजिक आपराधिक मनोवैज्ञानिकको भूमिकामा देखिएका थिए । तर उनले बढी चर्चा ‘ह्यारी पोटर’को भूमिकाबाट पाए ।

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

काठमाडौं। इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ ।  खेलको २७औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४औं मिनेटमा पेनाल्टी मार्फत गरे ।

जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकसाथ सातौं स्थानमा छ ।

फोडेन थप पाँच वर्ष सिटीमै रहने 

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन पाँच वर्षको सम्झौता नवीकरण गरेका छन्।  इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका फोडेनले सन् २०२७ सम्म सिटीमै रहने निर्णय लिएका हुन् ।२२ वर्षीय मिडफिल्डर फोडन सिटी एकेडेमीकै हुन् । उनले सन् २०१७ बाट सिनियर टोलीबाट खेलेका थिए । फोडेनले सिटीका सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका छन् ।

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

तेहरान। टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको  उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् । विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् ।

‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने । विस्फोटबारे अनुसन्धान भइरहेको छ ।

साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता प्रदान गर्ने

रियाद। साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् ।

युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा सहयोग गर्ने सबैलाई समर्थन गर्न तत्परता व्यक्त गरेको पनि प्राप्त विवरणहरुमा जनाइएको छ ।

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक 

काठमाडौं। नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । राजपुराले ३६ मिनेट २९ सकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७.०४ सकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

बिहान नै भएको पहिलो स्पर्धाको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

बुद्धिचाल प्रतियोगिता: आशिष र रुपेसको अग्रता

काठमाडौं। गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा एनआरएनएका आशिष फुयाँलले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए । प्रतियोगिताका शीर्ष वरीयताका खेलाडी आर्मीका रुपेसको पनि ३ अंक छ । उनले दोस्रो चरणमा प्रदेश–१ का प्रज्वल घिमिरे तथा तेस्रो चरणमा एनआरएनएका कृष्ण थापालाई हराए । बागमतीका निकेन कुसाराले ३ अंक जोडेका छन् । पुलिस क्लबका क्षितिज भण्डारी र आर्मीका सजिन मर्हजनको २ दशमलव ५ अंक छ ।

महिलातर्फ आर्मीकी सुजना लोहनी ३ अंक सहित शीर्ष स्थानमा छिन् । यसैगरी, एनआरएनकी सुशिला गुरुङ र प्रदेश –१ की खुस्बु थापाको पनि समान ३ अंक छ । यसैगरी प्रदेश –१ की कृत्तीसरा अधिकारी र गण्डकी प्रदेशकी पूजा भण्डारीले २ दशमलव ५ अंक जोडेकी छन् ।

वर्षाले अवरुद्ध बेसिशहर–चामे सडक पूर्ण रुपमा सञ्चालन

लमजुङ। हिमाली जिल्ला जाने एक मात्र बेंसीशहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । योजनाका प्रमुख अच्युतविलास पन्तका अनुसार वर्षाका कारण आंशिक अवरुद्ध भएको लमजुङतर्फको रामबजार, घोप्टेको बाटो पूर्ण रुपमा खुलाइएको छ । मनाङतर्फको खोक्रो, कोतोलगायतको स्थानमा भत्किएका तथा विग्रिएका खण्डको मर्मत गरिएको योजनाले जनाएको छ । उक्त सडकबाट पूर्ण रुपमा यातायात सुचारु भएको छ । बर्खाका कारण पहिरोले अवरुद्ध सडक असोज २० गतेबाट आंशिक रुपमा मात्र सञ्चालन भएको थियो । मर्मतको काम सकिएपछि पूर्ण रुपमा यातायात सञ्चालन भएको छ।

सडक सहज बनेपछि सवारी साधन सहजै आउजाउ हुन थालेको छ । नागरिक र पर्यटकलाई यात्रा गर्न सहज भएको छ।

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

 जुम्ला। बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ । बाढि पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरको  छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो ।  सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुयाईएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात पुर्याएको हो ।यस्तै, नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुरयाईएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र  डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ ।त्यस्तै, २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल सावुन एक कार्टुन पुर्याइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहात पुरयाएको छ । उनले भने,कर्णाली प्रदेश सरकारको सहयोगमा  खाद्यन्न ल्याइएको छ । त्यस्तै, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको पर्यासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४,५,६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा रअसोज २८ गते शुक्रबार १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टर द्वारा राहतका सामग्री उपलब्ध भएको बताए  ।गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पुर्ण क्षेति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षेति भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए ।

त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षेति कति भयो भन्ने तथ्यांक संकलन भईरहेको बताए  ।

यस्तो छ तपाइँको राशिफल

आजको पात्रो : आज २९ असोज २०७९,शनिबार । तद्नुसार अक्टुबर महिनाको १५ तारिक २०२२ । कार्तिककृष्णपक्ष षष्ठी, गर करण, मृराशिरा नक्षत्र, वरीयान योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः०३ मा र सूर्यास्त ५ः३६ मा हुनेछ । आजको देवता कुवेर र ग्रहदेव बृहस्पति रहेको छ । शनिबारको दिन शनिवेदको ध्यान साधना गर्नु उत्तम हुनेछ । फलामको सामान दान गर्दा उत्तम हुनेछ । शनिवारको दिन गरिने यात्रामा एक पटक विचार गर्नुपर्छ । यात्रामा पूर्व दिशा फर्केर नगर्नुहोला । आज विहान ८ बजेर ५७ मिनेटदेखि १०ः२४ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहोला । ११ः२७ देखि १२ः१३ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिनको लागि राम्रो समय मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार ब्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले  तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । शनिदेवको आरधना गर्नु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । ब्यापारको कामबाट फाइदा  हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आज कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । कसैलाई पनि अपमान हुने काम नगर्नुहोला । सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला । आजको दिन कसैसँग विवाद हुने काम नगर्नु होला । सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ ।   दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन गर्नुहोला । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ। साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ। विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ। साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातकका लागि फाइदा पुग्नेछ  । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको भेटघाटले मनमा खुसियाली छाउनेछ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट तपाईलाई आत्मिक शक्ति प्राप्त हुँदै जानेछ ।