समाचार | Page 12 of 5895 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

दबाब वा प्रभावमा नपरी निर्धक्क भएर मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनका लागि भरपर्दो र सुदृढ सुरक्षा प्रवन्ध मिलाइएको स्पष्ट पारेको छ । विगतका अभ्यासहरुलाई समेत मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति अपनाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा सुरक्षा चुनौतीका विषयमा आएका अतिरञ्जित र भ्रामक सूचनाहरुप्रति ध्यानाकर्षण गर्दै आयोगले त्यस्ता हल्लाहरुमा सत्यता नरहेको प्रष्ट पारेको छ । सबै सुरक्षा निकायहरुलाई समन्वयात्मक रुपमा परिचालन गरिएको र सुरक्षा मन्त्रालयहरुमार्फत भरपर्दो व्यवस्था मिलाइएकोले मतदाताहरु त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

आयोगले मतदाताहरुलाई कुनै पनि डर, त्रास, दबाब वा प्रभावमा नपरी निर्धक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रमा जान र आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अपिल गरेको छ ।

शान्ति सुरक्षाको अवस्था मजबुत रहेकोले मतदान गर्न जानका लागि कुनैपनि प्रकारको अवरोध नरहेको आयोगको भनाइ छ ।

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडाैं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ ।  निर्वाचनमा दिइने भोट केवल एक मत मात्र नभई नागरिकमा निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उल्लेख गर्दै उहाँले सही उम्मेदवार छनोट गर्न सुझाव दिनुभएको हो ।

मतदातालाई सचेत गराउँदै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले उम्मेदवारले मतदाताको महत्वपूर्ण अधिकार कसरी प्रयोग गर्छ र त्यो अधिकार प्रयोग गर्नसक्ने हैसियत राख्छ कि राख्दैन भन्नेकुरामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उम्मेदवारले व्यक्ति र मुलुकको भविष्य कसरी बनाउँछ भन्नेकुरामा आफू पूर्णरुपमा विश्वस्त भएपछि मात्रै उम्मेदवारलाई ‘फिल्टर’ गरेर भोट हाल्न उहाँले आग्रह गर्नुभयो ।

पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यमको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो । सञ्चारमाध्यमले भ्रम, अफवाह र गलत सूचनाहरुलाई नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले सञ्चारकर्मीहरुलाई आफ्नो आचरण र परिधिभित्र रहेर काम गर्न आग्रह समेत गर्नुभयो ।

निर्वाचनमा खसालिने एउटा मत केवल प्राविधिक प्रक्रिया मात्र नभई मतदातामा अन्तर्निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको बताउनुभयो ।

मतदान गर्न नागरिक गृहजिल्ला फर्किएपछि काठमाडाैंकाे सडक सुनसान

काठमाडाैं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।  सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरुमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन गुडेको देख्न सकिन्छ ।

दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । नयाँ बसपार्क, कोटेश्वर, कलंकी, र बल्खु लगायतका नाकाहरुबाट विगत केही दिनयता दैनिक हजारौंको संख्यामा यात्रुहरु बाहिरिएका छन् ।

निर्वाचन आयोगले मतदानको लागि सार्वजनिक बिदा दिएको र धेरैजसो विद्यालय, कलेज तथा कार्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र कर्मचारीहरु गाउँ फर्किएका हुन् । सार्वजनिक यातायात कम चल्दा उपत्यकामै रहेका र अत्यावश्यक काममा निस्कनुपर्ने नागरिकलाई भने आवतजावतमा केही सास्ती भएको छ । मतदान सम्पन्न भएर सार्वजनिक बिदा सकिएपछि मात्रै उपत्यकामा पुनः चहलपहल बढ्ने र जनजीवन सामान्य अवस्थामा फर्किने अनुमान छ ।

इरानमाथिको अमेरिकी आक्रमण पाँच साता लामो हुनसक्छ : राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्नसक्ने बताउनुभएको छ।

ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा पहिला प्रक्षेपण गरेको चार देखि पाँच हप्ता भन्दा धेरै लामो समयसम्म जाने क्षमता रहेको बताउनुभयो ।

यसअघि ट्रम्पले न्युयोर्क पोस्टलाई यदि आवश्यक भएमा इरानमा अमेरिकी स्थल सेना पठाउने कुरालाई स्वीकार गरेको बताउनुभएको थियो ।

युएईमा इरानको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरु

काठमाडाैं । इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीलेसंयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत २९ वर्षीय श्रेष्ठको निधन भएको जानकारी दिनुभयो ।

क्षेत्रीले अहिले खाडी मुलुकहरुमा रहेका र ट्रान्जिटमा फसेका सबै नेपाली सुरक्षित रहेको बताउनु भयो । उहाँका अनुसार खाडी क्षेत्रमा रहेका १० वटै नियोग तथा सरकारी निकायहरुबाट पछिल्लो घटनाक्रमबारे निरन्तर रुपमा प्रतिवेदन प्राप्त भइरहेको छ ।
बाइट…लोकबहादुर क्षेत्री, प्रवक्ता, परराष्ट्र मन्त्रालय यसैबीच पश्चिम एशियामा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ ।

मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा, समन्वय र आवश्यक परे उद्धार व्यवस्थापनका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरिएको हो । टिमले मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाक्रमको निरन्तर अनुगमन गर्ने, अन्तरनिकाय समन्वय सुदृढ गर्ने तथा आवश्यक परे उद्धारका लागि उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिनेछ ।

उहाँले परराष्ट्र सचिव राईको निर्देशनअनुसार टिमले काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

‘जन्मदिनमा वृक्षरोपण अभियान’लाई सरकारको प्राथमिकतामा पार्न पहल गर्छु : अध्यक्ष पाण्डे

काठमाडाैं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले जन्मदिनमा वृक्षरोपण अभियानमा आफूले पनि एउटा इँटा थप्ने बताउनुभएको छ । अध्यक्ष पाण्डेको जन्मदिनका अवसरमा लजमुङको बेसीशहरमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वृक्षरोपण अभियानमा आफ्नो तर्फबाट हरतरहको साथ रहने बताउनुभएको हो ।

अध्यक्ष पाण्डेले आफ्नो जन्मदिनको अवसरमा बेसीशहर–७ स्थित बालमन्दिर आभारभूत विद्यालय परिसरमा वृक्षरोपण गर्नुभयो । उहाँले पवित्र अभियानमा सहभागी हुन पाएकोमा गौरव महशुस गरेको बताउनुभयो । उहाँले जन्मदिनमा वृक्षरोपण अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल स्थापना गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । अभियानलाई सरकारको प्राथमिकतामा पार्न आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष पाण्डेले अभियन्ताहरुको साथमा रहेर आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार बासुदेव सेढाईँले अभियान सञ्चालन गर्नुको उद्देश्य तथा अभियानले सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष पाण्डेकी आमा शान्ता पाण्डे, जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एवं संस्थाका अध्यक्ष बासुदेव सेढाईँ, कार्यसमिति पदाधिकारीहरु, आजीवन सदस्यहरु, अभियन्तालगायतको उपस्थिति थियो ।

२०७५ मंसिर २९ गते लमजुङ जिल्लाबाट शुरु भएको जन्मदिनमा वृक्षरोपण अभियान हाल नेपालका ६५ जिल्ला तथा विश्वभर नौवटा देशमा सञ्चालन भइरहेको संस्थाकाे भनाइ छ ।

प्रतिनिधि सभा निर्वाचन : किन लागू हुन्छ मौन अवधि ? के गर्नु हु्ँदैन ?

काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि मतदान कार्य सम्पन्न नभएसम्म कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न वा भोट माग्न पाइँदैन।

यसअघि आज दिनभर चुनावी सभा र प्रचारप्रसारमा राजनीतिक दल तथा उम्मेदवारहरू व्यस्त छन्।

किन लागू हुन्छ मौन अवधि ?
मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भन्ने उद्देश्यले मौन अवधिको व्यवस्था गरिएको हो। शान्त वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउन तथा उम्मेदवारबीच प्रतिस्पर्धात्मक वातावरण कायम गर्न यो अन्तर्राष्ट्रिय अभ्याससमेत हो।

यदि मतदानअघिसम्म प्रचारप्रसार खुला गरिएमा मतदातालाई प्रभावित पार्ने जोखिम रहने भएकाले मौन अवधिको कडाइका साथ कार्यान्वयन गरिन्छ।

के गर्न पाइँदैन?
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा:

दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने,

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न नहुने,

सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशाला जस्ता गतिविधि गर्न नपाइने,

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्न नहुने व्यवस्था छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित सबै व्यक्ति वा संस्थाले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेछ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल वा उम्मेदवारलाई निर्देशन दिने जनाएको छ।

ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली भान्साघरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

करिब पौने ४ बजेदेखि सुरुभएको आगलागि लगभग एक घण्टाको प्रयासपछि दमकलको सहायताले नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर सल्किएको आगोले ठूलो रूप लिए पनि मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुर र काठमाडौंका दुवै महानगरपालिकाका दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीको दमकलमार्फत् तीन वटै सुरक्षा निकायको प्रयासले आगो नियन्त्रणमा आएको हो । भवनको सातौं तल्लामा सञ्चालित भान्साघरले परम्परागत शैली देखाउन छतमा छ्वाली र दाउरा समेत राखेको थियो । आगलागिबाट ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।

मुग्लिङ–पोखरा सडकः पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न

काठमाडौं ।

पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूवी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ । मुग्लिङ– पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ ।

सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकाल बताउनु हुन्छ । मुग्लिङ–पोखरा सडक खण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ । मुग्लिङ–पोखरा सडक खण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ । यस सडक खण्डमा ५६ वटा पहिलो रहेका छन्, यि मध्ये १८ वटा पहिरो विशेष प्रकारका रहेका र यिनीहरुको अध्यन भइरहेको छ । पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो । मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौं ।

मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि शुरु हुने माध्यमिकी यात्रा केवल शारीरिक पदयात्रा मात्र नभई एक गहिरो आध्यात्मिक अनुभव पनि हो । श्रद्धालु भक्तजनहरूकाअनुसार यो परिक्रमाले जीवनमा सफलता र मानसिक शान्ति प्रदान गर्दछ । परिक्रमाको इतिहास केलाउँदा अयोध्या र वृन्दावनको परिक्रमाको परिकल्पनालाई पछ्याउँदै यसको शुरुवात गरिएको पाइन्छ । विशेषगरी २०१६ सालमा अयोध्याबाट आएका मौनी बाबाले यसलाई व्यवस्थित बनाएका थिए ।

अहिले यो एक ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा स्थापित भइसकेको छ । भक्तजनहरूले यस परिक्रमालाई भगवान गणेशले आफ्ना माता–पिता (शंकर र पार्वती) को परिक्रमा गरेर प्राप्त गरेको प्रथम पूज्य स्थानसँग तुलना गर्छन् । यसले समाजमा आमा र बुवाको महत्वलाई पनि उजागर गर्दछ । यसरी मिथिला मध्यमिकी परिक्रमाले धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र व्यक्तिगत आध्यात्मिक शुद्धीकरणको सन्देश प्रवाह गरिरहेको छ ।

१५ दिनसम्म चल्ने यो यात्रामा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । अठारौँ शताब्दीदेखि मिथिला मध्यमा परिक्रमाको शुरुवात भएको मानिन्छ । परिक्रमा १५ औँ दिन जनकपुरधाम पुगेर अन्तगृह परिक्रमा गरेसँगै मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ । परिक्रमामा मन, वचन र कर्मसमेतले सहभागी भएमा अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने जनविश्वास छ

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको यो प्रदर्शन इरानमाथि भएका हालैका आक्रमणहरूको प्रत्यक्ष प्रतिक्रिया हो । जसले आगामी कुनैपनि घटनाक्रमका लागि पूर्ण तयारी देखाउँछ । आज यमनी राजधानीबाट आएको सन्देश अटल ऐक्वबद्धताको हो । आईतवार यमनको राजधानी सानामा लाखौं मानिसहरूले इरानप्रति ऐक्यवद्धता जनाउन र देशमाथि भएको संयुक्त अमेरिका–इजरायल आक्रमणको निन्दा गर्न र्‍याली निकालेका छन् ।

हुथी नेता अब्दुल मलिक अल–हुथीद्वारा शुरु गरिएको यो प्रदर्शनको उद्देश्य गतिशील क्षेत्रीय अवस्थाका लागि समूहको तयारी देखाउनु थियो । प्रदर्शनकारीहरूले इरानी झण्डा फहराएका थिए र आयतोल्लाह अली खामेनीका तस्बिरहरू बोकेका थिए । उनीहरूले हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए, जसलाई हुथी नेताले ‘अमेरिका र इजरायलको स्पष्ट आक्रामकता’ भनेका छन् ।

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ । नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेश जाने यात्रुहरूको संख्या उल्लेख्य रहेको छ । निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै मतदाताहरूले आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ जाने बाटो रोजेका छन् ।

वसन्तपुरमा रङ्गहरूको उत्सव : ‘होलीको उल्लास’ (फोटो फिचर)

काठमाडाैं । वसन्तपुर दरबार क्षेत्रको वातावरण आज अर्कै छ । काठमाडौंको मुटु, जहाँ ढुङ्गाका मूर्तिहरू बोल्छन् र इतिहासले सास फेर्छ । हावामा अबिरको सुगन्ध छ र आकाश रङ्गीन बादलले ढाकिएको छ । यो केवल एउटा पर्व मात्र होइन । होली खुशी साट्ने माध्यम पनि हो । सैको हातमा रातो, कसैकोमा नीलो त कसैकोमा पहेँलो । यी रङ्गहरूमा कुनै भेदभाव छैन । यहाँ न कोही पराई छ, न कोही अपरिचित । जब गालाहरूमा अबिरको स्पर्श हुन्छ, तब मानिसका मनहरू पनि एकाकार हुन्छन् । वसन्तको यो आगमनले सुक्खा रुखहरूमा मात्र होइन, मानिसका भावनाहरूमा पनि पालुवा फेराएको छ । पिचकारीबाट निस्किएका पानीका फोहोराहरू र ती साना नानीहरूको खिलखिलाउँदो हाँसो । साँच्चै होलीमा खुशीकाे जादु नै छ ।

एउटा सानो बालकले जब आफ्नो कलिलो हातले रङ्ग दल्छ, तब लाग्छ संसारका सारा खुशीहरू यही मुस्कानमा लुकेका छन् । यो पर्वले हामीलाई फेरि एकपटक बालक बन्न सिकाउँछ । सात समुन्द्र पारिबाट आएका पाहुना हुन् वा हाम्रै गल्लीका छिमेकी, आज सबै एउटै रङ्गमा रङ्गिएका छन् । ‘ह्याप्पी होली’ को एउटै गुञ्जनले भाषा र भूगोलको सीमा मेटिदिएको छ ।

साइकलका पाङ्ग्राहरूदेखि मन्दिरका खुड्किलाहरूसम्म, जहाँ हेर्यो त्यहीँ उत्साहको भेल छ । सुरक्षामा खटिएका प्रहरीदेखि रमाइलो गरिरहेका युवायुवतीसम्म, सबैको अनुहारमा एउटै चमक छ— आत्मीयताको चमक । होली केवल रङ्गहरूको पर्व मात्र होइन यो त मनभित्रको तिक्ततालाई पखालेर प्रेम र सद्भाव भर्ने अवसर हो । वसन्तपुरको यो ऐतिहासिक आँगन साक्षी छ— कि रङ्गहरूले मानिसलाई जोड्छन्, तोड्दैनन् ।


तस्बिरहरु : अनुप प्रधान

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाडौं । इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डको रुपमा मिडल इस्ट कम्पनीमा कार्यरत दिवस श्रेष्ठको ज्यान गएको हो । यूएईको पराराष्ट्र मन्त्रालयले नेपाली नागरिकको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । दिवस ड्रोन निष्क्रिय पार्ने क्रममा घटनामा पर्नुभएको दूतावासले जनाएको छ ।

गोर्खा घर हुनुभएका २९ वर्षीय दिवसको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने सम्पूर्ण कार्यमा सहजीकरण दूतावासले गरिरहेको जानकारीसमेत गराएको छ ।

दूतावासले संवेदनशील परिस्थितिमा यूएइमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नसमेत विशेष अनुरोध गरेको छ ।

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल, भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको छ । सोमवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको हो ।

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको बताउँदै उहाँले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताउनु भयो । प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिलाई स्मरण गर्नुभयो । सडकमा देखिएको युवाहरूको आक्रोश र देशको भविष्यप्रतिको अन्योललाई चिर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याउन वर्तमान सरकार सफल भएको उहाँले दाबी गर्नुभयो ।

निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको भुमिकाको प्रशंसा गर्नुभयो । छोटो समयमै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र चारवटै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै उहाँले भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाउनुभयो। साथै, मौन अवधिमा पूर्ण अनुशासन पालना

गर्न र संयमित ढंगले प्रचारप्रसार गर्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूलाई उहाँले आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले कडा निगरानीमा राखेको चेतावनी दिनुभएको छ । मुलुकमा कुनैपनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानूनबमोजिम कडा कारबाही गर्न सरकार पछि नहट्ने उहाँको दृढ भनाइ छ ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नु नपर्ने

काठमाडाैं । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरि व्यवस्थापन गरिएको जनाएको हो ।

आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बन्चित हुन नपर्ने गरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।