समाचार | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

समाचार

काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे

काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आउो्जना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । काँग्रेसको अधिवेशनमा उपसभापति पदका उम्मेदवार दिनुभएका पाण्डेले पार्टीभित्र सबै पक्षलाई समेटेर काँग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।उहाँले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ

काठमाडौं ।

नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभएको हो । नेता गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन तरुण पुस्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । नेता गुरुङले १५ औं महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै उहाँले बदलिँदो राजनीतिक परिवेशमा काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न र देशव्यापी रूपमा संगठनलाई सबल बनाउन सक्षम नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभयो । गुरुङले पार्टीका सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । गुरुङले आफू खुलातर्फ केन्द्रिय सदस्यको उम्मेदवार बनेको बताउनु भयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न र योग्य व्यक्तिहरूलाई मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

‘पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्नसक्ने क्षमता राख्छु’–उदयशमशेर राणा

काठमाडौं ।

नेपाली काँग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभएको हो । नेता राणाले आफू व्यक्तिगत स्वार्थभन्दा पनि सिङ्गो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको बताउनु भयो । राणाले आफ्नो विगतको कार्यक्षमतालाई दाबीको आधार बनाउनु भयो । तरुण दलको नेतृत्व गर्दा ललितपुरमा पार्टीले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै उनले आफ्नो छवि स्वच्छ र प्रभावकारी रहेको दाबी गर्नुभयो । पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै राणाले सबै पक्षलाई मूलधारमा समेटेर लैजान सक्ने क्षमता आफूमा रहेको जिकिर गर्नुभयो । उहाँले जिल्ला र प्रदेश स्तरका आफ्ना समर्थक तथा तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारीलाई जिताउन सक्रिय लाग्न आग्रह गर्नुभयो । पार्टीभित्र युवाहरूको ऊर्जालाई संगठित गर्दै वैचारिक र सांगठनिक सुधार गर्न आफू सक्षम रहेको उहाँको भनाइ छ

विश्व फुटबलमा मेसी युगको अन्त्य : २१ वर्षपछि अर्जेन्टिनाको १० नम्बर जर्सीबाट बिदा

काठमाडौं ।
कहिलेकाहीँ एउटा खेलाडी मैदानबाट बिदा हुँदा केवल एउटा करियरको अन्त्य हुँदैन, एउटा युग नै समाप्त हुन्छ। विश्व फुटबलमा लियोनल मेसीको नामसँग जोडिएको त्यही स्वर्णिम युग अब अन्त्यतिर पुगेको छ।अर्जेन्टिनाको निलो–सेतो जर्सीमा मेसीलाई अन्तिमपटक मैदानमा देख्दा विश्वभरका करोडौँ फुटबलप्रेमीका आँखामा एउटै प्रश्न थियो,अब त्यो जादु फेरि कहिले देखिएला?बाल्यकालमै फुटबलको संसारमा उदाएका मेसीले दुई दशकभन्दा लामो यात्रामा असम्भवजस्ता लाग्ने सपना पूरा गरे। कहिले हारको पीडा, कहिले आलोचनाको बोझ त कहिले अधुरो विश्वकप सपनाले उनलाई पछ्याइरह्यो। तर उनले हार मानेनन्।

अर्जेन्टिनाका लागि सुरुवाती वर्षहरू मेसीका लागि निकै कठिन थिए। ठूला प्रतियोगिताका फाइनलमा पराजय, निरन्तर आलोचना र राष्ट्रिय टोलीबाट केही समय टाढिने अवस्थासम्म पुगेका मेसी अन्ततः त्यही टोलीका महानायक बने, जसको जर्सी लगाउनु उनको सबैभन्दा ठूलो सपना थियो।२०२१ को कोपा अमेरिका जित्दै उनले अर्जेन्टिनासँग पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिते। त्यसपछि फाइनलिसिमा र अन्ततः २०२२ को विश्वकप,मेसीको अधुरो सपना पूरा भयो। कतारमा विश्वकपको ट्रफी उचाल्दै गर्दा उनले केवल एउटा उपाधि जितेका थिएनन्, उनले वर्षौँदेखि बोकेको पीडा र आलोचनाको पनि जवाफ दिएका थिए।त्यो क्षणसँगै मेसीको कथा पूर्ण भएको थियो।आज उनी मैदानबाट बिस्तारै टाढिँदै गर्दा फुटबलप्रेमीहरूका लागि यो केवल एउटा खेलाडीको बिदाइ होइन। यो त्यो पुस्ताको बिदाइ हो, जसले मेसीको ड्रिब्लिङमा जादु देख्यो, उनको गोलमा खुसी मनायो, उनको हारमा आँसु झार्‍यो र उनको सफलतामा गर्व गर्‍यो।अब रंगशालामा मेसीको नाम गुञ्जिएला, १० नम्बर जर्सी देखिएला, तर त्यस जर्सीभित्र उही सानो कदको जादुगर दौडिरहेको दृश्य सधैँ देख्न पाइने छैन।फुटबल परिवर्तन हुनेछ। नयाँ स्टारहरू आउनेछन्। नयाँ कीर्तिमान बन्नेछन्। तर मेसीले बनाएको स्थान खाली हुनेछैन किनकि त्यो स्थान कसैले भर्न नसक्ने इतिहास बनिसकेको छ।मेसी मैदानबाट बिदा हुँदैछन्, तर उनको जादु कहिल्यै बिदा हुनेछैन।उनले फुटबल खेलेनन् मात्र, एउटा पुस्तालाई फुटबलसँग प्रेम गर्न सिकाए।उनले गोल गरेनन् मात्र, करोडौँ मानिसको भावनामा अमिट छाप छोडे।

सायद यही कारण हो मेसीको युगको अन्त्य हुँदै गर्दा पनि, मेसीको कथा कहिल्यै अन्त्य हुनेछैन।

मेसीले अर्जेन्टिनाको जर्सी फुकालेका छन्, तर उनको कथा फुटबलबाट कहिल्यै मेटिने छैन।
किनकि केही खेलाडी खेल्छन्, केही खेलाडी इतिहास बन्छन्मेसी भने स्वयं एउटा युग बने।

केन्यामा इबोला भाइरसको पहिलो संक्रमण पुष्टिः संक्रमित व्यक्तिको मृत्यु

केन्यामा पहिलो पटक ‘बुन्दिबुग्यो’ इबोला भाइरसको संक्रमण पुष्टि भएको छ । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी) मा लामो समयदेखि बसोबास गर्दै आएका एक केन्याली नागरिकको उपचारका क्रममा नैरोबीको अस्पतालमा मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले संक्रमणको पुष्टि गरेका हुन् । केन्याका स्वास्थ्य मन्त्री एडेन डुवालेकाअनुसार मृतक व्यक्ति विगत सात वर्षदेखि डिआरसीको इतुरी प्रान्तमा बसोवास गर्दै आएका थिए । करिव एक महिना अघि बिरामी परेका उनी डिआरसीका विभिन्न अस्पतालमा उपचार गराएपछि गत अक्टोबर ३ मा हवाई मार्ग हुँदै नैरोबी आइपुगेका थिए । नैरोबी अवतरण गरेलगत्तै उनलाई आफन्तले सिधै अस्पताल पु¥याएका थिए । अस्पतालमा भर्ना हुँदा उनमा ज्वरो, अत्यधिक थकान, मांसपेसी दुखाइ र छालामुनि रक्तस्रावजस्ता गम्भीर लक्षण देखिएका थिए । राष्ट्रिय भाइरोलोजी रेफरन्स ल्याब र केन्या मेडिकल रिसर्च इन्स्टिच्युटमा गरिएको परीक्षणबाट उनमा ‘बुन्दिबुग्यो’ प्रजातिको इबोला भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले घटनापछि तत्कालै कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कमा आएकाहरूको खोजी) शुरु गरेको छ । हालसम्म मृतकका परिवार र स्वास्थ्यकर्मी गरी २८ जनालाई पहिचान गरिएको छ भने उनी चढेको विमानका २३ यात्रु र चार चालक दलका सदस्यको पनि खोजी भइरहेको मन्त्रालयले जनाएको छ । सम्भावित संक्रमण रोक्नका लागि जोखिममा रहेका व्यक्तिहरूलाई क्वारेन्टिनमा राख्ने तयारी गरिएको मन्त्री डुवाले बताएका छन् । सन् २०२६ को मे महिनादेखि नै केन्याले इबोलाप्रति उच्च शतर्कता अपनाउँदै आएको छ । मन्त्रालयले सर्वसाधारणलाई आतंकित नहुन आग्रह गर्दै साबुन–पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न र संक्रमण देखिएका देशहरूबाट आएका बिरामीहरूको सम्पर्कमा नजान सूचित गरेको छ । थप जानकारीका लागि सरकारले टोल–फ्री हटलाइन नम्बरसमेत सार्वजनिक गरेको छ ।

मनिलामा ‘कम्फर्ट वुमन’ को सम्झनामा प्रदर्शनीः युद्धकालीन यौन हिंसाको पीडा र न्यायको खोजी

दोस्रो विश्वयुद्धका क्रममा जापानद्वारा ‘कम्फर्ट वुमन’ बनाइएका फिलिपिनी महिलाहरूको दर्दनाक कथा र उनीहरूले खोजेको न्यायलाई केन्द्रमा राखेर मनिलामा विशेष प्रदर्शनी शुरु भएको छ । ‘लीला फिलिपिना’ नामक संस्थाको आयोजनामा जारी यस प्रदर्शनीले युद्धकालीन यौन हिंसा र त्यसपछिको निरन्तर उपेक्षाको विषयलाई पुनः बहसमा ल्याएको छ । सन् १९४२ देखि १९४५ सम्मको अवधिमा करिव १ हजार फिलिपिनी महिला तथा किशोरीहरूलाई जापानी सेनाले बलपूर्वक यौन दासी बनाउन बाध्य पारेका थिए । युद्ध सकिएको दशकौँ बितिसक्दा पनि पीडितहरूको घाउ अझै निको हुन सकेको छैन । यसै यथार्थलाई भावी पुस्तासामु पु¥याउने उद्देश्यले मनिला सिटी हलभित्रको संग्रहालयमा अक्टोबर १४ सम्मका लागि उक्त प्रदर्शनी सञ्चालन गरिएको छ ।
प्रदर्शनीमा राखिएका कलाकृतिहरूले युद्धको विभत्स रूपलाई उजागर गरेका छन् ।

स्वर्गीय रिमेडियस फेलियासले आफ्नो हातले बनाएका चित्रहरूमा जापानी सैनिकहरूबाट भएको यौन हिंसा र त्यसबाट पीडित महिलाहरूको चीत्कार प्रष्ट झल्किन्छ । यी चित्रहरूले आगन्तुकहरूको विशेष ध्यान आकर्षित गरिरहेका छन् । प्रदर्शनमा राखिएको अर्को महत्वपूर्ण पाटो सन् २०१७ मा मनिलामा स्थापना गरिएको स्मारकको हो । युद्धपीडित महिलाहरूको सम्मानमा ठड्याइएको उक्त प्रतिमा टोकियोको कूटनीतिक दबाबपछि केही महिनामै हटाइएको थियो । यस घटनालाई समेटिएका कमिक्सहरूले इतिहास मेट्ने प्रयासविरुद्धको निरन्तर संघर्षलाई चित्रण गरेका छन् । प्रदर्शनीस्थलमा पुग्ने आगन्तुकहरूले ‘स्टिकी नोट’ मार्फत आफ्ना भावना व्यक्त गरिरहेका छन्। ‘हाम्रा हजुरआमाहरूका लागि न्याय’, ‘युद्धका पीडितहरूप्रति श्रद्धाञ्जली’ र ‘निरन्तरको संघर्ष जारी रहनेछ’ जस्ता सन्देशहरूले पीडितहरूप्रति गहिरो सहानुभूति र न्यायको मागलाई जीवन्त राखेका छन् । ‘लीला फिलिपिना’ का अनुसार, यस प्रदर्शनीको मुख्य उद्देश्य विगतका ती अमानवीय घटनाहरूलाई बिर्सन नदिनु र महिलाविरुद्धको हिंसा रोक्न विश्वलाई सचेत गराउनु हो

सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित

सुडानको उत्तरी दारफुर राज्यस्थित टाविलामा पछिल्लो एक महिनामा ६ हजारभन्दा बढी मानिस विस्थापित भएर भित्रिएसँगै त्यहाँको मानवीय अवस्था चरम संकटमा पुगेको छ । द्वन्द्व, खाद्यान्न अभाव र खडेरीका कारण विस्थापित भएका सर्वसाधारणहरू सुरक्षित आश्रयको खोजीमा टाविला पुगे पनि आधारभूत आवश्यकताको चरम अभाव झेलिरहेका छन् । उत्तरी दारफुरको टाविला सहर हाल सुडानको सबैभन्दा ठूलो विस्थापित केन्द्रमध्ये एक बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, टाविलाले विगत लामो समयदेखि ७ लाखभन्दा बढी विस्थापितहरूलाई आश्रय दिँदै आएको छ । तर सेप्टेम्बरको सुरुवातयता मात्रै ६ हजार १ सय ९१ जना नयाँ विस्थापित थपिएका छन् । विशेष गरी गत साता मात्र १ हजार ३ सय ९४ जना मानिस टाविला पुगेका छन्, जसमा महिला, बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ ।

विस्थापितहरूको समन्वय समितिका प्रवक्ता एडम रिजलकाअनुसार सुरक्षा व्यवस्थाको बिग्रँदो अवस्था, खाद्यान्न अभाव र कम वर्षाका कारण उत्पन्न खडेरीले मानिसहरू पलायन हुन बाध्य भएका हुन् । पूर्वी दारफुरका क्षेत्रहरूमा आधारभूत सेवा सुविधाको कमी र बढ्दो भोकमरीले मानिसहरू टाविलातर्फ धपिन थालेका हुन् । स्थानीय द्वन्द्व र युद्धका कारण घरबार छोडेका मानिसहरूले बाटोमा समेत भोक र तिर्खाको सामना गर्नुपरेको छ । टाविलामा आश्रय लिइरहेका विस्थापित महिलाहरूले युद्ध र अभावको भयानक कथा सुनाएका छन् । खडेरीले बालीनाली नष्ट हुनु र खानेपानीको समेत अभाव हुनुले उनीहरूको जीवनयापन

जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर

काठमाडौँ ।

नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्रोत, सहयोग र क्षतिपूर्तिको माग गर्दै आए पनि त्यसलाई बलियो बनाउने आन्तरिक तयारी कमजोर देखिएको छ । जलवायु वित्तमा पहुँच, स्थानीय तहको क्षमता, हिमाली मुद्दाको अन्तर्राष्ट्रिय पैरवी, राष्ट्रिय प्राथमिकता र राज्य–नागरिक समाजबीचको प्रभावकारी समन्वय हुन नसक्दा नेपालको जलवायु न्यायको दाबी अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको हो । जलवायु कार्यमा संलग्न हुँदै आएका विज्ञहरुले विश्वसामु जलवायु न्यायको मुद्दा बलियो रूपमा उठाउन नेपालले आन्तरिक क्षमता वृद्धिसँगै अन्तर निकायबीचको समन्वय प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् । जलवायु वित्तमा पहुँचदेखि स्थानीय तहको कार्यान्वयन क्षमता, हिमाली मुद्दाको अन्तर्राष्ट्रिय पैरवी र वार्तामा नागरिक समाजको सहभागितासम्मका पक्ष कमजोर रहेकाले जलवायु न्यायको दाबीलाई प्रभावकारी बनाउन नसकिएको तर्क उनीहरुको छ ।
आवश्यकताको तुलनमाा जलवायुवित्त नगन्यः दीपक केसी, जलवायु उत्थानशील विज्ञ
नेपाललाई जलवायु परिवर्तनसँग जुध्न अर्बौं डलर आवश्यक भएपनि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच निकै न्युन देखिएको छ । तेश्रो राष्टिय निर्धारित योगदान (तेस्रो एनडिसी) ले सन् २०३५ सम्म ७५ देखि ९० अर्ब डलर आवश्यक पर्ने देखाएको छ भने राष्ट्रिय अनुकूलन योजनाले २०२१ देखि २०५० का लागि ४७ अर्ब डलरको आवश्यकता औँल्याएको छ । तर हरित जलवायु कोष लगायत माध्यमबाट नेपालले पहुँच गरेको रकम आवश्यकताको तुलनामा निकै कम छ ।जलवायु परिवर्तन र उत्थानशील विज्ञ दीपक केसीले रकमको आवश्यकताको मात्रै समस्या नभई त्यसमा पहुँच र प्राप्त स्रोतको प्रभावकारी उपयोगमा पनि रहेको बताउनु भयो । जलवायु कोषबाट रकम ल्याउन परियोजना तयारी, वातावरणीय तथा सामाजिक सुरक्षा, लगायत कडा मापदण्ड पूरा गर्नुपर्ने भएकाले प्रक्रिया पनि लामो हुने बताउनु भयो । यो प्रक्रिया पुरा गर्न झन्डै चारदेखि छ वर्षसम्मको समय लाग्नसक्ने उहाँले उल्लेख गर्नुभयो । विशेषगरी अनुदान प्राप्त गर्न लामो समय लाग्ने र प्राविधिक, वातावरणीय, सामाजिक, लैङ्गिक तथा वित्तीय मापदण्ड पूरा गर्नुपर्ने अवस्थाले नेपालको पहुँचलाई थप कठिन बनाएको उहाँको भनाई छ । जलवायु वित्त परिचालनसँगै त्यसको प्रभावकारी उपयोग र जवाफदेहिताको प्रश्न पनि उत्तिकै महत्वपूर्ण रहेको केसीले बताउनु भयो ।

नीति छ, स्थानीय क्षमता कमजोरः डा. सम्झना बिष्ट, जलवायु तथा विपद् व्यवस्थापन विज्ञ 
वित्तको पहुँचसँगै प्राप्त नीति र योजनालाई स्थानीय तहमा कार्यान्वयन गर्ने क्षमता पनि चुनौतीपूर्ण देखिएको छ । जलवायु तथा विपद् व्यवस्थापन विज्ञ डाक्टर सम्झना विष्टले जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोग्ने समुदायलाई जलवायु परिवर्तन, विपद् र जोखिम न्युनिकरणबारे आधारभूत जानकारी पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले समुदायलाई जलवायु न्याय दिनका लागि स्थानीय सरकारको बुझाई र क्षमता विस्तारको आवश्यकता औँल्याउनु भयो । प्रभावित समुदायको निर्णय प्रक्रियामा सहभागिता पनि जलवायु न्यायको महत्वपूर्ण पक्ष भएको उहाँले बताउनु भयो । उहाँले जलवायु न्यायको शुरुवात नै प्रभावित समुदायको सूचनामा पहुँचबाट हुने बताउनु भयो । जलवायु परिवर्तनका प्रभाव र समुदायका आवश्यकतामा निरन्तर परिर्वतन आएकाले एउटै रणनीतिले मात्र काम नगर्ने भएकाले आवश्यकताअनुसारको रणनीति अबलम्वन गर्न आनवश्यक रहेको बताउनु भयो ।

हिमालको मुद्दा कुटनीतिक प्राथमिकतामा परेनः डा. विमलराज रेग्मी, जलवायु अनुकुलन विज्ञ
स्थानीय तहको क्षमता र वित्तीय स्रोतसँगै नेपालले जलवायु संकटको सबैभन्दा संवेदनशील पक्षका रूपमा रहेको हिमाली क्षेत्रको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउन पनि सरोकारवालाले जोड दिएका छन् । जलवायु अनुकुलन विज्ञ डा.विमलराज रेग्मीले जलवायु परिवर्तनको सबैभन्दा गम्भीर असर हिमाली क्षेत्रमा देखिए पनि त्यसलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको औपचारिक एजेण्डा बनाउन नसकिएकोतर्फ गम्भीर समिक्षा आवश्यक रहेको बताउनुभएको छ । नेपालको जलवायु कुटनीति सम्मेलन केन्द्रित भएको टिप्पणी गर्नुभयो । उहाँले हिमाली संकटलाई अन्तर्राष्ट्रिय एजेण्डामा स्थापित गर्न सरकारले नियमित र तयारीसहितको कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

‘जलवायु न्याय’राष्ट्रिय मुद्दा बन्नुपर्छः अर्जुन भट्टराई, अध्यक्ष, गैसस महासंघ
जलवायु न्यायको मुद्दालाई कुनै एउटा सरकार, राजनीतिक दल वा संस्थाको मात्र विषय नभई राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनुपर्ने देखिएको छ । गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले जलवायु वित्तमा पहुँच, हिमालको संरक्षण र क्षतिपूर्तिको विषयमा साझा धारणा बनाउन सरकारलाई सुझाव दिनुभयो । भट्टराईले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय तहमा नयाँ संयन्त्रको आवश्यकता औँल्याउनु भयो । प्रतिवद्धता जनाउने मुलुकबाट स्रोत उपलब्ध नभए त्यसको जवाफदेहिता सुनिश्चित गर्ने भन्ने विषयमा विश्वस्तरीय न्यायीक संयन्त्रबारे पनि बहस गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालले ‘फ्ल्यागसिप’ मुद्दा घोषणा गर्नुपर्छः टुङ्गभद्र राई, जलवायुनीति विज्ञ 
जलवायु नीति विज्ञ टुङ्गभद्र राईले नेपालले हिमालको मुद्दालाई जलवायु न्यायसँग जोडेर उठाउने अवसर भएपनि त्यसका लागि स्पष्ट आधार र आफ्नै ‘फ्ल्यागसिप’ मुद्दा पहिचान गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय जलवायु प्राथमिकता स्पष्ट पारेर अन्तर्राष्ट्रिय वार्तामा नागरिक समाजको विज्ञता र ज्ञानलाई उपयोग गर्न सुझाव दिनुभयो । उहाँले सरकारको राष्ट्रिय प्राथमिकता र रणनीति नागरिक समाजलाई स्पष्ट रूपमा जानकारी गराएर समन्वय गर्न सके अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मुद्दा अझ प्रभावकारी रूपमा उठाउन सकिने तर्क गर्नुभयो ।

चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी

काठमाडौँ ।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । मंगलवार राष्ट्रिय सभागृहमा उहाँले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँले मनोनयन दर्तापछि संचारकर्मीसंग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गर्नुभयो । काँग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको उहाँको भनाई छ ।ललितपुर महानगरपालिकाको दुई पटक मेयर हुनुभएका महर्जन अब पार्टी राजनितिमा सक्रिय हुने तयारीमा लाग्नुभएको हो । संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगातार दुई पटक भन्दा बढी हुन बन्देज लगाएको छ ।

महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’

काठमाडौँ ।

नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझैपनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकेको बताउनुभएको छ । काँग्रेसको १५ औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनु भयो । पार्टीले संविधानमा स्वीकार गरेको समावेशी सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको उहाँको भनाई छ । काँग्रेसले लिएको समावेशी सिद्धान्तलाई पार्टीको संगठनमा समेत प्रत्याभूत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सबै समूह र विचारलाई समेट्ने पार्टी निर्माण आफ्नो मुख्य प्रतिबद्धता रहेको उहाँको भनाई छ ।उहाँले देशभरबाट आएको माग र आवश्यकता सम्बोधन गर्न कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको बताउनु भयो । यस सन्दर्भमा पार्टीभित्र भने आलोचना भइरहेको उहाँको भनाई छ । यदपी अन्य राजनीतिक पार्टीको तुलनामा भने अझै पनि काँग्रेसको संख्या कम रहेको उहाँको दाबी छ । ठूलो संख्याको केन्द्रिय समितिले प्रभावकारी रूपमा काम गरेर पार्टी निर्माणमा परिणाम दिनसके त्यसप्रतिको विरोध अन्त्य हुने उहाँले बताउनु भयो ।उपाध्याय १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनभएको थियो । यसअघि सहमहामन्त्री भएर काम गरिसकेकोले अहिले महामन्त्री पदमा आफ्नो दाबी स्वभाविक रहेको उहाँको भनाई छ ।

अनुसन्धानकर्तालाई सहज बन्दै त्रिभुवन विश्व विद्यालयको रिर्सच कमन

कविना बलामी,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले विद्यार्थी तथा अनुसन्धानकर्तालाई अध्ययन–अनुसन्धानमा सहजता प्रदान गर्ने उद्देश्यले नयाँ भवनमा ‘रिसर्च कमन’ सञ्चालनमा ल्याएको छ । परम्परागत पुस्तकालय सेवासँगै डिजिटल युगको आवश्यकता पूरा गर्न ई–लाइब्रेरी तथा डिजिटल प्रणाली विस्तार गर्ने तयारीसमेत अघि बढाइएर समयसापेक्ष हुदै गएको छ ।

समयसँगै अध्ययन गर्ने शैलीमा परिवर्तन आएपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पनि सेवा र संरचनालाई प्रविधिमैत्री बनाउँदै लगेको छ । नयाँ भवनमा स्थापना गरिएको ‘रिसर्च कमन’ले विशेषगरी अनुसन्धानकर्तालाई अध्ययनका लागि सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ। अनुसन्धानकर्ताका लागि आवश्यक वातावरण र सुविधा उपलब्ध गराउने उद्देश्यले यसको व्यवस्था गरिएको हो। अनुसन्धानका क्रममा लामो समयसम्म अध्ययन गर्नुपर्ने, विभिन्न पुस्तक तथा अनुसन्धान सामग्री हेर्नुपर्ने र आफ्ना सामग्री तयार गर्नुपर्ने भएकाले अनुसन्धानकर्तालाई शान्त तथा व्यवस्थित वातावरण आवश्यक हुन्छ। अनुसन्धानको प्रकृति सामान्य पढाइभन्दा फरक हुन्छ। अनुसन्धानकर्ताले एउटै विषयमा विभिन्न स्रोतको अध्ययन गर्नुपर्ने, तथ्य तथा तथ्यांक खोज्नुपर्ने र त्यसलाई विश्लेषण गरेर अनुसन्धान तयार गर्नुपर्ने हुन्छ ।

अनुसन्धान तथा अध्ययनका लागि आउने व्यक्तिको संख्या बढ्दै गएपछि उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले रिसर्च कमनको व्यवस्था गरिएको पुस्तकालयका जिम्मेवार अधिकारीले बताएका छन्। केन्द्रीय पुस्तकालयले भौतिक पुस्तकसँगै डिजिटल सामग्रीको प्रयोगलाई पनि प्राथमिकता दिन थालेको छ। अहिलेको समय डिजिटल युग भएकाले अधिकांश विद्यार्थी तथा अनुसन्धानकर्ताले मोबाइल, ल्यापटप तथा कम्प्युटरमार्फत अध्ययन सामग्री खोज्ने र प्रयोग गर्ने गरेका छन्। यही बदलिँदो अभ्यासलाई ध्यानमा राख्दै पुस्तकालयले ई–लाइब्रेरीको विस्तार तथा डिजिटल मेकानिजम विकास गर्ने प्रयास गरिरहेको छ।

पुस्तकालयमा रहेका महत्वपूर्ण अध्ययन सामग्री तथा अनुसन्धान स्रोतलाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराउन सके विद्यार्थी तथा अनुसन्धानकर्ताले जुनसुकै स्थानबाट आवश्यक सामग्रीमा पहुँच पाउन सक्नेछन्। यसले अध्ययन तथा अनुसन्धानलाई थप सहज, छिटो र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।पुस्तकालय क्षेत्रका विषयमा छलफल तथा नयाँ व्यवस्था लागू गर्दा विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक पर्ने भए पनि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय नेपालको पुस्तकालय क्षेत्रमै महत्वपूर्ण सन्दर्भका रूपमा रहने गरेको सम्बन्धित अधिकारी बताउँछन्। पुस्तकालयसँग सम्बन्धित नीति, सेवा तथा प्रविधिको विकासमा पनि यसको भूमिका महत्वपूर्ण रहेको छ।

डिजिटल प्रणाली विस्तार गर्ने क्रममा पुस्तकालयले विभिन्न चुनौतीसमेत सामना गर्नुपर्ने हुन्छ। डिजिटल सामग्री व्यवस्थापन, प्रविधिको पहुँच, दक्ष जनशक्ति, सामग्रीको सुरक्षा तथा पुराना पुस्तक र दस्तावेजको संरक्षण प्रमुख चुनौती हुन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले रिसर्च कमन, ई–लाइब्रेरी तथा डिजिटल प्रणाली विस्तारमार्फत यही परिवर्तनलाई आत्मसात् गर्ने प्रयास गरिरहेको छ। भौतिक पुस्तक तथा ऐतिहासिक दस्तावेजको संरक्षण गर्दै डिजिटल पहुँचलाई समेत विस्तार गर्न सके केन्द्रीय पुस्तकालय नेपालको अध्ययन, अनुसन्धान र ज्ञान संरक्षणको अझ प्रभावकारी केन्द्र बन्न सक्नेछ।

पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग

काठमाडौँ ।

पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ ।
पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उक्त जानकारी गराउँदै तत्काल पुनर्निर्माणका लागि ६३ अर्ब रुपैयाँ आवश्यक रहेको बताउनुभएको हो । सचिव मैनालीले विपद्ले पु¥याएको क्षतिको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँले आवास क्षेत्र, सडक सञ्जाल, पुल तथा खानेपानीसहितका पूर्वाधारमा ठूलो क्षति पुगेको जानकारी दिनुभयो । सचिव मैनालीकाअनुसार सबभन्दा बढी क्षति आवास क्षेत्र (निजी तथा सार्वजनिक) मा भएको छ । ७ हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवन गरी कुल १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी सडक सञ्जालमा २० अर्ब, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड र खानेपानी तथा सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।
कुल क्षति १.४८ बिलियन डलर (झन्डै २ खर्ब २७ अर्ब रुपैयाँ) पुगेको उल्लेख गर्दै सचिव मैनालीले जलवायु न्यायका लागि प्राप्त हुने वैदेशिक सहायताका सन्दर्भमा यो तथ्यांकले गम्भीर प्रश्न उब्जाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रारम्भिक मूल्याङ्कनअनुसार भवन, सडक, मोटरेबल तथा झोलुङ्गे पुल र खानेपानी क्षेत्रमा गरी करिव २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यो प्रारम्भिक तथ्याङ्क हो र एम्ल्ब् पछि यकिन विवरण आउनेछ । कनेक्टिभिटी पुनःस्थापनालाई प्राथमिकतामा राखेर २० वटा क्षतिग्रस्त झोलुङ्गे पुलमध्ये १२ वटा मर्मत भइसकेका छन् । बेत्रावती क्षेत्रमा बेलीब्रिज निर्माण भइरहेको छ र क्रमशः धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने काम अघि बढिरहेको छ । पुनस्र्थापनाका लागि जग्गा पहिचान भइसकेको छ । तत्काल करिव ३०० वटा ट्रान्जिसनल सेल्टर निर्माण गर्ने लक्ष्यसहित डिजाइन र निर्माणको तयारी भइरहेको छ । समग्र पुनर्निर्माणका लागि तत्काल करिब ६३ अर्ब रुपैयाँ आवश्यक रहेको जानकारी गराइएको छ। क्षतिको ठूलो आकारलाई ध्यानमा राख्दै राहत र पुनर्निर्माणलाई दीर्घकालीन योजनासहित अघि बढाउन आवश्यक छ ।’
कनेक्टिभिटी सुधारका लागि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको उहाँले दाबी गर्नुभयो ।  त्रिशूली करिडोरमा अवरुद्ध सडक तथा बेलिब्रिज निर्माणलाई प्राथमिकतामा राखिएको छ । साथै, आगामी दशैँअघि नै पीडितहरूका लागि करिब ३०० वटा ट्रान्जिसनल सेल्टर (अस्थायी आवास) निर्माण गर्ने गरी गृहकार्य अघि बढेको उहाँले बताउनु भयो । सरकारले विपद् प्रतिकार्य र पुनःस्थापनाको शुरुवाती चरणका लागि ६३ अर्ब रुपैयाँको बजेट माग गरेको छ ।

विपद् प्रभावितका लागि कानून संशोधन गर्न ‘फास्ट ट्रयाक’ अपनाइने

काठमाडौँ ।

जलवायु परिवर्तनका कारण उत्पन्न विपद् र त्यसबाट बेपत्ता भएका व्यक्तिहरूको मृत्यु दर्तासम्बन्धी कानूनी जटिलता फुकाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘फास्ट ट्रयाक’ मार्फत कानून संशोधनको प्रक्रिया अघि बढाउने भएको छ ।
सिंहदरबारमा मंगलवार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सहसचिव शुभाषकुमार भट्टराईले विद्यमान कानूनमा रहेका प्रक्रियागत झन्झटले विपद् प्रभावित परिवारलाई परेको मर्कालाई सम्बोधन गर्न कानून संशोधन अपरिहार्य भएको बताउनुभएको हो । सहसचिव भट्टराईले विपद्मा परेका व्यक्तिहरूको कानूनी हैसियत र मृत्यु दर्तासम्बन्धी समस्या समाधानका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
हालको मुलुकी देवानी संहितामा व्यवस्था गरिएको प्रक्रिया लामो र झन्झटिलो हुँदा बेपत्ता परिवारले राहत र अन्य कानुनी सुविधा पाउन कठिनाइ भइरहेको छ । सोही समस्यालाई मध्यनजर गर्दै गृह मन्त्रालयबाट प्राप्त ‘विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन’ र ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन’ संशोधनको प्रश्तावलाई कानून मन्त्रालयले प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ । संसद अधिवेशन नभएको अवस्थामा पनि यसलाई कसरी छिटो टुंग्याउने भन्नेबारे छलफल भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाल बेपत्ता नागरिकको मृत्यु घोषणा तथा मृत्यु दर्ता गर्न विद्यमान कानूनी व्यवस्था पर्याप्त नभएकाले गृह मन्त्रालयसँगको समन्वयमा सम्बन्धित ऐन संशोधनको प्रक्रिया अघि बढाइएको छ । यसलाई आवश्यकताअनुसार फास्ट ट्र्याकबाट अघि बढाउने तयारीमा छौँ । दीर्घकालीन रूपमा जलवायु परिवर्तन र विपद्का असरलाई सम्बोधन गर्न विपद् व्यवस्थापन, वातावरण संरक्षण, भू–उपयोग तथा पूर्वाधारसम्बन्धी कानूनमा आवश्यक सुधार गर्नुपर्ने देखिन्छ । यस विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक कानूनी सुधारका लागि सुझाव र प्रक्रिया अघि बढाइनेछ । कानून मन्त्रालयको भुमिका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक कानुन निर्माण तथा संशोधनमा सहजीकरण गर्ने हो। यस विषयमा मन्त्रालय सक्रिय रूपमा समन्वय गरिरहेको छ ।’
सहसचिव भट्टराईकाअनुसार जलवायु परिवर्तनको दीर्घकालीन असरलाई व्यवस्थापन गर्न विभिन्न मन्त्रालयसँग समन्वय गरी कानूनी सुधारको आवश्यकता छ । यसका लागि वातावरण संरक्षण ऐनमा संशोधन वा आवश्यकता अनुसार छुट्टै जलवायु परिवर्तनसम्बन्धी ऐन निर्माण गर्ने विषयमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने भएको छ । साथै, जग्गाको जोखिमका आधारमा वर्गीकरण गरी उपयोग गर्न भू–उपयोग ऐन र पूर्वाधार सुरक्षासँग सम्बन्धित कानुनहरूमा सुधार गर्न सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरिने उनको भनाइ छ । हाल कानून मन्त्रीको संयोजकत्वमा गठित विशेष समितिले कानुन सुधारका लागि विभिन्न मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गरिरहेको छ । सरकारले कानून निर्माणमा समन्वयकारी भुमिका निर्वाह गर्दै जलवायुजन्य विपद्बाट सिर्जित समस्यालाई कानूनी रूपमै स्थायी समाधान खोज्ने प्रतिवद्धता जनाएको छ ।

भोटेकोशी–त्रिशूली विपद्ः बेपत्ताको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी

काठमाडौँ ।

गृहसचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपद्बाट  बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन दुईवटा ऐन संशोधनको प्रश्ताव अघि बढेको बताउनुभएको छ ।
सिंहदरबारमा मंगलवार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले विपद्को क्षति अभूतपूर्व रहेको र त्यसलाई सम्बोधन गर्न सरकारले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जानकारी गराउनुभएको हो । गृहसचिव शर्माले विपद्को शुरुवाती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि हाल सरकारी संयन्त्र, सुरक्षा निकाय र स्थानीय तहको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भयो । उहाँकाअनुसार हालसम्म स्थल र हवाई मार्गबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । साथै, १ हजार ४५७ जनाको शव फेला परेकोमा १ हजार ३३४ जनाको व्यवस्थापन र ११२ जनाको शव पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ ।
शव पहिचानका लागि भइरहेको डीएनए परीक्षणबारे जानकारी दिँदै सचिव शर्माले २ हजार ६६ जनाको नमूना संकलन गरिएको र दशैँअघि नै नतिजा ल्याउने गरी काम भइरहेको बताउनु भयो । क्षमताले भ्याएसम्म विदेशी विज्ञहरूको समेत सहयोग लिएर डीएनए म्याचिङको कामलाई तिब्रता दिइएको बताउनु भयो ।
राहत वितरणको सन्दर्भमा उनले हालसम्म स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन कोषमा गरी करिब १७ करोड रुपैयाँ पठाइसकिएको स्पष्ट पार्नुभयो । लाभग्राहीको पहिचान भइसकेपछि मात्र भुक्तानी प्रक्रिया अगाडि बढ्ने भएकाले केही प्राविधिक ढिलाइ भएको उहाँको भनाइ छ । पुनर्निर्माणका विषयमा बोल्दै उनले राष्ट्रिय योजना आयोगको ‘¥यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट’ अनुसार तत्कालका लागि ७ खर्ब २३ अर्ब रुपैयाँको क्षति अनुमान गरिएको बताउनु भयो । अहिले खोज तथा उद्धारको चरण पूरा गरी पुनस्र्थापना र पुनर्निर्माणको चरणमा प्रवेश गरिसकेको बताउनुहुँदै उहाँले प्रभावितहरूका लागि घरभाडाबापत प्रतिपरिवार १५ हजारदेखि १९ हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने निर्णय कार्यान्वयनमा रहेको छ ।
उहाँले भन्नुभयो, ‘बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन सम्बन्धित दुईवटा ऐन संशोधनको प्रक्रिया अघि बढाइएको छ । शव पहिचानका लागि २ हजार ६६ जनाको डीएनए नमुना संकलन गरी परीक्षण तथा मिलानको काम भइरहेको छ । राहत तथा घरभाडा व्यवस्थापनका लागि स्थानीय तहमा आवश्यक रकम पठाउने काम भइरहेको छ । हालसम्म स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन कोषमा करिब १७ करोड रुपैयाँ उपलब्ध गराइएको छ । थप माग आएमा आवश्यक रकम उपलब्ध गराइनेछ । क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत मूल्याङ्कन भइरहेको छ । पुनस्र्थापना र पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ । हाल होल्डिङ सेन्टरमा रहेका नागरिकको दीर्घकालीन पुनस्र्थापनाका लागि जग्गा पहिचान र पूर्वाधार निर्माणको काम पनि अघि बढाइएको छ । यो अत्यन्तै ठूलो र अभूतपूर्व विपद् थियो । कठिन भौगोलिक अवस्थाका बाबजुद संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न निकायको संयुक्त प्रयासबाट खोज, उद्धार र राहतको काम अघि बढेको छ । आगामी दिनमा पुनस्र्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।’
उहाँले विपद्को यो घटना नेपालले अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको स्वीकार गर्दै यसले सरकारको पूर्वतयारी क्षमतामा पनि प्रश्न खडा गरेको बताउनु भयो ।

राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ?

काठमाडौँ ।

राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न त्यस्तो सीमा बढाएको हो । संशोधित व्यवस्थाअनुसार आयातको अग्रिम भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, स्याटेलाइट सेवा, पर्यटन सेवा र विदेशी मुद्रासम्बन्धी कार्ड कारोबारमा लागू सीमा बढाइएको छ ।
संशोधित व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकलाई तोकिएको प्रक्रियाा पूरा गरी बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक अमेरिकी डलर ३० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसअघि यो सुविधा १५ हजार डलरसम्मको थियो ।
अब दूरसञ्चारसम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरुले विदेशी सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा तोकिएको कागजात लिई भाडाबापत वार्षिक अमेरिकी डलर ५ लाखसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयंले गर्न सक्नेछन् । यसअघि १ लाख डलरसम्मको सीमा थियो ।
त्यस्तै अब नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सटही सिफारिसका आधारमा आवश्यक कागजातहरु लिई प्रतिपटक अमेरिकी डलर ३० हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ ।
प्रतिपटक अमेरिकी डलर ३० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीका लागि नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रतिपटक अमेरिकी डलर ८ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीका लागिसमेत विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । यसअघि क्रमशः १५ हजार डलर र ८ हजार डलरको सीमा थियो ।
प्रतिपटक अमेरिकी डलर ३० हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नुपर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछ । यसअघि १५ हजार डलरसम्मको सीमा थियो ।
नेपालमा विधिवत दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त गरेका नेपाली तथा विदेशी संघ वा संस्था वा कम्पनी आदिले भारतस्थित संघ वा संस्था वा कम्पनीसँग विविध सेवा सुविधा लिने सम्झौता तथा सहमतिबमोजिमको प्रतिपटक भारतीय रुपैयाँ ६० लाखसम्मको भुक्तानी वाणिज्य बैंकहरुबाट आवश्यक कागजातहरुका अतिरिक्त भुक्तानी गर्नुपर्ने रकमका लागि सम्बन्धित नियामक निकायबाट सम्झौता तथा सहमति स्वीकृत वा सटही सिफारिस भएको पत्र लिई सटही सुविधा प्रदान गर्न सकिनेछ ।
प्रतिपटक भारतीय रुपैयाँ ६० लाखभन्दा माथिको भुक्तानी तथा नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा सोभन्दा कम रकममा समेत विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । यसअघि ४० लाख भारतीय रुपैयाँसम्मको सीमा थियो ।
अब कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रासमेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ । यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्थासमेत गर्नुपर्नेछ ।
कार्डको मौज्दात अमेरिकी डलर १० हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी भएको अवस्थामा सो बढी रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ । यसअघि ५ हजार डलरसममको सीमा रहेको थियो ।
संशोधित व्यवस्थाअनुसार अब नेपाली वायुसेवा कम्पनीहरुले हवाई जहाजका इन्जिन वा पार्टपुर्जाजस्ता सामान आयात गर्दा सम्बन्धित नियमनकारी निकाय (नेपाल नागरिक उडड्यन प्राधिकरण)को सिफारिससमेतका कागजातका आधारमा प्रचलित व्यवस्थाअन्तर्गत रही अमेरिकी डलर ५ लाखसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयमले पठाउन सक्नेछन् । तर यस प्रयोजनको लागिविदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछैन ।–

आर्थिक स्वतन्त्रता संकुचित बनाइए अर्को दुर्घटना हुनसक्छः अरुण सुवेदी

काठमाडौँ ।

अर्थराजनीतिक विश्लेषक अरुण सुवेदीले आर्थिक स्वतन्त्रताको क्षेत्रलाई पुनः संकुचित बनाइए मुलुकले अर्को आर्थिक दुर्घटना व्यहोर्नुपर्ने चेतावनी दिनुभएको छ ।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै सुवेदीले आर्थिक स्वतन्त्रता, परराष्ट्र नीति र सांस्कृतिक पहिचानका विषयमा व्यापक बहस आवश्यक रहेको बताउनुभएको हो । उहाँले यी विषयमा संविधानको पुनरावलोकनसमेत आवश्यक रहेको बताउनु भयो । नेपालले राजनीतिक र सामाजिक स्वतन्त्रतालाई अंगीकार गरे पनि आर्थिक स्वतन्त्रतालाई उपयुक्त रूपमा अवलम्बन गर्न नसक्दा पटकपटक दुर्घटना व्यहोर्नुपरेको उहाँको भनाइ छ । उहाँले २०४८ देखि २०५१ सालसम्म भएको नीति निर्माणको चरणलाई नेपालको आर्थिक उदारीकरणको महत्वपूर्ण समयका रूपमा उल्लेख गर्दै पूर्वमुख्यसचिव विमल कोईरालाले बैंकिङ, मेडिकल तथा इन्जिनियरिङ शिक्षा, उड्डयन र सञ्चारमाध्यमको उदारीकरणलगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । सुवेदीले पूर्वाधार तथा औद्योगिक उदारीकरणसँगै पुँजी बजार र डिजिटल सम्पत्तिको क्षेत्रमा समेत नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो ।
सुवेदीले भन्नुभयो, ‘अब फेरि आर्थिक स्वतन्त्रताको कुरालाई हामीले बाधित ग¥यौँ भने अर्को दुर्घटना नभई छाड्दैन र राष्ट्र र जनताले अर्को दुर्घटना धान्न सक्दैन । यो एक किसिमले सत्तालाई सुझाव हो र प्रतिपक्षलाई उपदेश पनि हो ।’
उहाँले वर्तमान सरकारसँग संविधान संशोधन अघि बढाउन विगतका सरकारभन्दा बढी राजनीतिक अवसर रहेको उल्लेख गर्दै संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताउनु भयो । सुवेदीले आर्थिक स्वतन्त्रतासहित परराष्ट्र नीति र सांस्कृतिक पहिचानका विषयमा देशव्यापी बहस आवश्यक रहेको बताउँदै नागरिक अभियानलाई राजनीतिक क्यारियर निर्माणको माध्यम नबनाई स्वार्थरहित सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।