समाचार | Page 70 of 5959 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’ : प्रधानमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ ।  आईतवार सिंहदरबारमा आयोजित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको आत्मसम्मान नै सर्वोपरि हुने बताउनुभएको हो ।

उहाँले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी नहुने पनि स्पष्ट पार्नुभयो । देशको विशेष र जटिल अवस्थामा सम्पन्न भएको निर्वाचनले शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको भन्दै उहाँले यसलाई नेपाली जनता, नेपाल राष्ट्र र संविधानको ठूलो विजय भएको बताउनु भयो । लोकतन्त्रमा कुनैपनि शक्तिको वैधता नागरिकको आत्मसम्मानको जगमा उभिएको हुने उहाँको भनाइ छ ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण नेपाली जनता, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा पर्यवेक्षकहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो । महिला लगायत विकासको मूल धारबाट पछि परेको वर्गलाई अवसर र स्रोतहरूमा पहुँच सुनिश्चित गर्दै राष्ट्र निर्माणमा सम्मानयुक्त सहभागिता गराउनु नै आजको लोकतन्त्रको मूल अभीष्ट हुनुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिनुभयो ।

काभ्रेका दुबै क्षेत्रमा अत्यधिक मतसहित रास्वपाकाे विजय

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्।

काभ्रे–१ बाट रास्वपाका मधुकुमार चौलागाईं विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४ सय ६२ मतान्तरले पराजित गर्नुभएको हो। चौलागाईंले २९ हजार ६ सय १८ मत प्राप्त गर्दा मुक्तानले १९ हजार १ सय ६६ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका दिननाथ गौतमले १४ हजार १ सय ८४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमि तामाङले १३ हजार ८ सय १४ मत प्राप्त गर्दै पराजित भएका छन्।

यसैगरी काभ्रे–२ बाट पनि रास्वपाका बदनकुमार भण्डारी विजयी हुनुभएको छ। भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत प्राप्त गर्दै पराजित हुनुभएको छ।

विगतका निर्वाचनहरूमा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा मुख्यतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको प्रभाव रहँदै आएको थियो। तर यसपटकको निर्वाचनमा भने रास्वपाले दुवै क्षेत्रमा जित हासिल गर्दै नयाँ राजनीतिक समीकरण देखाएको छ।

अमरेश सिंहलाई प्रतिस्पर्धी कांग्रेस सभापति थापाले दिए बधाई

काठमाडाैं । सर्लाही क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहलाई प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई ज्ञापन गर्नुभएको छ ।

थापाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिंहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेस सभापति थापाले आफूलाई माया, विश्वास र मत दिनुहुने सर्लाही–४ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले यस क्षेत्रमा देखिएका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तररूपमा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

निर्वाचनकाे गम्भीर समीक्षा गरेर कांग्रेस नियमित महाधिवेशनमा जुट्छ : उपसभापति शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ ।

उहाँले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गर्नुभयो । विगतमा मुलुकले व्यहोरेका अनेकौं प्रतिकूलतालाई चिर्न सफल काँग्रेसले आफ्नै प्रतिकूलतालाई पनि सजिलै चिर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आगामी दिनमा काँग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने शर्माले प्रष्ट पार्नुभयो । अब काँग्रेसले आराम नगर्ने बरु संगठन रूपान्तरण गर्दै नवीन सम्भावनाको खोजीमा लाग्ने प्रतिवद्धतासहित उहाँले बताउनुभयो ।

श्रम संस्कृति पार्टीले खाता खाेल्याे, खाेटाङबाट आरेन राई विजयी

काठमाडाैं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । खोटाङमा आरेन राई विजयी भएसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो । राई १६ हजार ६१२ मतसहित विजयी हुनु भएको हो ।

नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ र नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत पाउनुभयो ।

दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित

काठमाडाैं । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् ।

त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत पाएका छन् ।

पूर्वउपसभामुख मगरद्वारा पूर्वसभामुख घिमिरे भारी मतले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे पराजित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे पूर्वउपसभामुख इन्दिराराना मगरसँग पराजित भएका हुन् ।

रास्वपाबाट उम्मेदवार बनेकी मगरले ५२ हजार ३०६ मत पाउँदा घिमिरेले ९ हजार ८०५ मत पाए यस्तै श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ६ हजार ३४७ मत पाए । नेपाली कांग्रेसकी सरिता प्रसाईले ४ हजार ९७६ मत प्राप्त गरिन् ।

सल्यानबाट नेकपाका रमेश मल्ल विजयी

काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।

काठमाडाैं उपत्यकाका १५ वटै क्षेत्रमा रास्वपा निर्वाचित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका १० ललितपुरका तीन र भक्तपुरका दुई निर्वाचन क्षेत्र रास्वपाले जितेको हो ।

तत्कालीन नेकपा (माओवादी) को लहर आउँदासमेत २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा १५ क्षेत्रमध्ये सात क्षेत्रमा मात्रै निर्वाचन जितेको निर्वाचन आयोगले जनाएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिच तालमेल हुँदासमेत २०७४ सालको निर्वाचनमा काठमाडौँका १५ मध्ये १० क्षेत्रमा मात्रै निर्वाचन जितेका थिए । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दल २०७९ सालमा चुनावी तालमेल गर्दा कुल सात सिट मात्रै जितेको इतिहास छ । निर्वाचनको इतिहासमा पहिलो पटक उपत्यकाका सबै क्षेत्र रास्वपाका उम्मेदवारले जितेका छन् ।

काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले छ हजार ३६४ मत ल्याउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले तीन हजार ९७२ मत ल्याएर तेस्रो पटक पराजित हुनुभएको हो ।

काठमाडौँ–२ बाट रास्वपाका सुनील केसीले २९ हजार १४२ मत ल्याएर निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कबिर शर्माले आठ हजार ८२४ ल्याउनुभयो । राप्रपाकी कुन्तीदेवी पोखरेलले दुई हजार १३५ मत ल्याउनुभएको छ ।

काठमाडौँ–३ बाट रास्वपाका राजु पाण्डेले १८ हजार ७५७ मत ल्याएर निर्वाचित हुनुभयो भने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर पराजित हुनुभयो । कांग्रेसका उम्मेदवार रमेश अर्यालले छ हजार मत ल्याउँदा एमालेका उम्मेदवार रामेश्वर फुयाँलले तीन हजार ८१६ मत ल्याउनुभयो । काठमाडौँ–४ बाट रास्वपाका पुकार बमले २९ हजार १४२ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसका सचिन तिमिल्सेनाले आठ हजार ८२४ मत, एमालेका राजन भट्टराईले पाँच हजार ७३३ मत ल्याएर तेस्रो हुनुभयो ।

काठमाडौँ–५ बाट रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्वमन्त्री प्रदीप पौडेलले नौ हजार १५९ मत, एमालेका ईश्वर पोखरेलले चार हजार ७०१ मत ल्याएर तेस्रो हु्नुभयो । यस्तै काठमाडौँ–६ बाट शिशिर खनालले २७ हजार ७१९ मत प्राप्त ल्याई विजयी हुनुभयो भने कांग्रेसका कृष्ण बानियाँले छ हजार ६४७ मत र एमालेका अमन मास्केले चार हजार ३७३ मत ल्याउनुभयो । काठमाडौँ–७ बाट रास्वपाका गणेश पराजुलीले २७ हजार ८०५ मत प्राप्त गरेर निर्वाचित हुनुभयो भने निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरी गुरागाईंले तीन हजार ९८२ मत प्राप्त गर्नुभयो । नेकपाका वसन्तप्रसाद मानन्धरले तीन हजार ६६७, एमालेका प्रकाश श्रेष्ठले तीन हजार ५४४ मत ल्याउनुभयो ।

काठमाडौँ–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर निर्वाचित हुनुभयो भने नेकपाका सुमन सायमीले तीन हजार २१७ मत, कांग्रेसकी सपना राजभण्डारीले दुई हजार ८३८ मत पाएर तेस्रो हुनुभयो । काठमाडौँ–९ बाट रास्वपाका डोलप्रसाद अर्यालले ३५ हजार ९३ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसकी नानुमैया बाँस्तोलाले पाँच हजार ४६० मत, एमालेका अजयक्रान्ति शाक्यले चार हजार ५८० मत ल्याएर तेस्रो हुनुभयो । काठमाडौँ–१० बाट रास्वपाका प्रदीप विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसका हिमाल कार्कीले आठ हजार १०० मत, एमालेका विनोद श्रेष्ठले चार हजार ८६४ मत ल्याएर तेस्रो हुनुभयो ।

नेपाल मजदुर किसान पार्टीको पकट मानिने भक्तपुर १ र २ मा रास्वपाका उम्मेदवार निर्वाचित हुनुभएको छ । २०४८ सालदेखि भक्तपुर–१ नेमकिपा, कांग्रेस र एमालेले जित्दै आएका थिए । यो निर्वाचनमा रास्वपाबाट भक्तपुर–१ बाट रुकेश रञ्जित र भक्तपुर–२ बाट राजीव खत्रीले निर्वाचन जित्नुभएको छ ।

रास्वपाका रञ्जितले ३३ हजार ४३६ मत ल्याएर निर्वाचित हुनुभयो भने नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत ल्याएर दोस्रो कांग्रेसका किरण न्यौपानेले चार हजार १८२ मत ल्याएर तेस्रो हुनुभयो । भक्तपुर–२ बाट रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत ल्याएर निर्वाचित हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतले १० हजार ९९६ मत ल्याएर दोस्रो कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत ल्याएर तेस्रो भई पराजित हुनुभयो ।

ललितपुर–१ बाट रास्वपाकी बुद्धरत्न महर्जनले २३ हजार ३७३ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसका उदयशमशेर राणाले १३ हजार ५२० मत ल्याएर दोस्रो, एमालेका चेतनाथ सञ्जेलले छ हजार ५४६ मत ल्याएर तेस्रो हुनुभयो ।

ललितपुर–२ बाट रास्वपाका जगदीश खरेलले २२ हजार २३० मत ल्याएर विजयउन्मुख रहनुभएको छ । कांग्रेसका प्रेमकृष्ण महर्जनले दुई हजार ८७३ मत ल्याएर दोस्राे, एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ४५१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । ललितपुर ३ बाट रास्वपाकी तोसिमा कार्कीले ४३ हजार ९६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत ल्याएर दोस्रो हुनुभएको छ भने नेकपाका राजकाजी महर्जनले छ हजार २२ मत ल्याएर तेस्रो हुनुभएको छ ।

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार नेम्बाङ विजयी भएका हुन् ।

नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थिए ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गर्नुभयो ।

सर्लाही-४ मा अमरेशकुमार सिंह विजयी, गगन थापा पराजित

काठमाडाैं । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

सिंहले ३५ हजार ६८८ मत ल्याए भने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत पाए।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने गगन थापाको पहिलो हार हो।

०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरे ।

झापा–५ बाट बालेन शाहको ऐतिहासिक जित, केपी ओली पराजित

काठमाडौं, २३ फागुन ।

झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार बालेन शाहले ६८३४८  मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्। एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच ४९, ६१४ मतको फराकिलो अन्तर रहेको छ।यस वर्षको निर्वाचनमा झापा–५ सबैभन्दा धेरै चर्चामा रहेको निर्वाचन क्षेत्र बनेको थियो।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर देशभर चासो बढेको थियो।अन्ततः आएको मतपरिणामले बालेन शाहलाई स्पष्ट बहुमतका साथ विजयी बनाएको छ।

झापा-५ मा रास्वपाका बालेन शाह विजयी, एमाले अध्यक्ष केपी शर्मा ओली ४९ हजार मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

सर्लाही-४ मा रास्वपाका अमरेश अगाडि, ८ हजार मतले कांग्रेसका गगन थापा पछि

काठमाडाैं । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ८ हजार मतले पछि परेका छन्। रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहभन्दा करिब ८ हजार मतले पछि परेका हुन्।

पछिल्लो मत परिणाम अनुसार सिंहले १९ हजार २१९ मत ल्याउँदा सभापति थापा ११ हजार ११३ मतमा रोकिएका छन्।

यहाँ यी दुई बाहेक अन्य उम्मेदवार कमजोर देखिएका छन्। अहिले मतगणना जारी छ।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सीट जितेको छ। जुम्लाबाट राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीले राप्रपाको जितको खाता खोलेका हुन्।

शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाबाट नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याए।

तेस्रो स्थानमा रहेका कांग्रेसका दिप बहादुर शाही ७ हजार १४३, एमालेका उम्मेदवार शान्ति लाल महतले ४ हजार ५१८ मत पाउँदा रास्वपाकी विनीता कठायत ४२१ मतमै रोकिइन्।

यो निर्वाचनमा राप्रपा प्रत्यक्षतर्फ एक सीटमै खुम्चिने देखिएको छ। १६५ क्षेत्रमै उम्मेदवारी दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर छन्।

मुगु बाहेक अन्य जिल्लामा मतगणना जारी, आइतबार साँझसम्म मतपरिणाम आईसक्ने

काठमाडाैं । प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन आयोगका अनुसार मुगु जिल्ला बाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको हो ।

मतपेटिका ढुवानीमा देखिएको समस्याका कारण मुगुमा भने मतगणना कार्य शुरु गर्न ढिलाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. ले जानकारी दिनुभयो । उहाँकाअनुसार भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानी शनिवार विहान मात्रै सकिएको हो ।

हाल सर्वदलीय बैठक बसेको र  अपरान्ह ४ बजेदेखि मतगणना सुचारु हुने जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो । यस्तै, सङ्खुवासभा र गोरखा जिल्लाका मतपेटिका पनि शनिवार बिहान मात्र हेलिकप्टरमार्फत ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । ती दुवै जिल्लामा अहिले मतगणना शुरु भइसकेको उहाँले बताउनु भयो ।

आयोगकाअनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी रहेको छ । हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले शनिबार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आउने अपेक्षा गरिएको जानकारी दिनुभयो । शनिवारदेखि मतगणना शुरु भएका केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आईतबार साँझसम्म सार्वजनिक गरिसक्ने उहाँको भनाई छ ।

प्रत्यक्षतर्फ मतगणना सम्पन्न भई परिणाम घोषणा भएका निर्वाचन क्षेत्रमा क्रमशः समानुपातिकतर्फको मतगणना पनि सँगसँगै भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार समानुपातिकतर्फ हालसम्म करिब तीन लाख मतगणना भइसकेको छ ।