समाचार | Page 66 of 5959 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

थकित चालक र अपर्याप्त सडक सुरक्षाका कारण बस दुर्घटना भएकाे निष्कर्ष

काठमाडाैं । धादिङको बेनीघाटमा भएको बस दुर्घटनाको छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रतिवेदन पेश गरेको छ । पोखराबाट काठमार्डौ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी ४४ मध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाउँदैसंयोजक तिवारीले घटनास्थल निरीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, यात्रुहरुसँग सोधपुछ तथा सडक पूर्वाधारको अवस्थाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँले सवारी साधनमा कुनै यान्त्रिक खराबी नभेटिएको र चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि फेला नपरेको स्पष्ट गर्नुभयो । चालकमा थकान रहेको देखिएको र सडक सुरक्षा पूर्वाधार पनि अपर्याप्त रहेको कारण दुर्घटना भएको निष्कर्ष कार्यदलले निकालेको छ ।

गृहमन्त्री अर्यालले प्रतिवेदनको अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले अगामी दिनमा दुर्घटना हुन नदिने गरी प्रतिवेदनले सिफारिस गरेका विषयहरुको कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले विगतका दुर्घटना छानविन प्रतिवेदनहरुको कार्यान्वयन नभएकै कारण पनि दुर्घटना जोखिम बढेको जिकिर गर्नुभयो । प्रतिवेदनले भविष्यमा यस्ता दुर्घटना कम गर्न सार्वजनिक सवारी चालकका लागि थकान व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, सडक सुरक्षा पूर्वाधार सुधार गर्नुपर्ने तथा रात्रिकालीन यात्रामा निगरानी बढाउनुपर्ने तथा सार्वजनिक यातायातमा क्यामेरा जडानका साथै ट्र्याकिङ प्रणाली जडान गर्न सिफारिस गरेको छ ।

एनआरएनएमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ लगायतले फागुन ३० गतेबाट शुरु हुने सो महाधिवेशनको नेतृत्व सहमतीमा चयन गर्ने बताउनुभएको हो ।

अध्यक्ष केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा सर्वसम्मति नभए मात्रै निर्वाचनमा जाने गरी आफूहरुले सहमतीको प्रयास जारी राखेको समेत बताउनुभयो ।

सहमतीबाट नेतृत्व चयनका लागि अध्यक्षका प्रत्यासी रोविन शेरचनले उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्ष केसीले अध्यक्षको तीन जना प्रत्यासीहरुमध्ये २ वटा प्रत्यासीको बीचमा सहमती भइसकेको जानकारी दिनुभयो ।

उहाँले एनआरएनएहरुबीचको एकतालाई बलियो बनाउन पनि आफूहरुले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताउनुभयो । शनीबारबाट काठमाडौंमा शुरु हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ ।

एलपी ग्यास आयात नियमित, बजारमा किन भयाे अभाव ?

काठमाडाैं । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।

स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ । ग्यास विक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ ।

लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीले बताउनुभयो । नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उहाँको भनाइ छ ।

ग्यास विक्रेताले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन् । मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ ।

यद्यपि भैरहवा भन्सार कार्यालयका अनुसार भने ग्यास आयात नियमित रूपमा भइरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ । दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको जनाइएको छ ।

स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ ।

समानुपातिक सांसदकाे नाम छनाेटका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडाैं । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।

दिउँसो १ बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।

इराकमा अमेरिकी इन्धन भर्ने विमान दुर्घटनाः चालक दलका सबै ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको अमेरिकी केसी–१३५ इन्धन भर्ने विमानमा सवार चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेको छ । अपरेशन एपिक फ्युरीको क्रममा बिहीवार मित्र राष्ट्रको हवाई क्षेत्रमा उडान भर्दै गर्दा उक्त विमान सम्पर्कविहीन भएको कमाण्डले जानकारी दिएको थियो । कमाण्डले घटनाको परिस्थितिबारे अनुसन्धान भइरहेको थप जानकारी दिँदै विमानको क्षति शत्रुको आक्रमण वा आफ्नै पक्षको आक्रमणको कारणले नभएको दाबी गरेको छ ।

यसैबीच, इराकका इरान समर्थक लडाकु समूहहरूको छाता सङ्गठन इस्लामिक रेजिस्टेन्स इन इराकले शुक्रवार आफ्ना लडाकुहरूले पश्चिमी इराकमा दुईवटा अमेरिकी केसी–१३५ इन्धन भर्ने विमानलाई लक्षित गरेको बताएको छ । दुई छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त समूहले आफ्ना लडाकुहरूले एउटा केसी–१३५ लाई उपयुक्त हतियार प्रयोग गरी खसालेको र सोही प्रकारको दोस्रो विमानलाई पनि आक्रमण गरिएको दाबी गरेको छ ।

दोस्रो विमानका चालक दलले शत्रुको कुनै एक विमानस्थलमा आपतकालीन अवतरण गरेको समूहको भनाइ छ । उडानकै क्रममा अन्य सैन्य विमानहरूमा इन्धन भर्न डिजाइन गरिएको केसी–१३५ विमानले ६० वर्षभन्दा बढी समयदेखि अमेरिकी वायुसेनाको प्रमुख हवाई इन्धन भर्ने प्लेटफर्मको रूपमा सेवा गर्दै आएको छ ।

चीनको लङ मार्च–८ ए रकेटद्वारा नयाँ इन्टरनेट उपग्रहहरू प्रक्षेपण

एजेन्सी । चीनले शुक्रवार दक्षिणी टापु प्रान्त हाइनानबाट लङ मार्च–८ए क्यारियर रकेट प्रक्षेपण गर्दै नयाँ इन्टरनेट उपग्रहहरूको समूहलाई अन्तरिक्षमा पठाएको छ ।

उक्त रकेट बेइजिङ समय अनुसार बिहान ३ः४८ बजे हाइनान कमर्शियल स्पेसक्राफ्ट लन्च साइटबाट उडेको थियो ।

यसले २० औं समूहका तल्लो कक्षका इन्टरनेट उपग्रहहरूलाई सफलतापूर्वक पूर्व–निर्धारित कक्षमा स्थापित गरेको छ ।

एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौँ लाइनमा सर्वसाधारण (फोटोफिचर)

काठमाडाैं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ । ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन् । ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ । विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डरहरू सडकपेटीमा लामवद्ध राखिएका छन् ।

आफ्नो पालो कुरेर घन्टौं उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ । लाइनमा युवा, वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ । कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौं सिलिण्डर बोकेर डिपो धाउन बाध्य छन् । भीडभाडमा आफ्नो सिलिण्डर नहराओस् वा नसाटियोस् भनेर कतिपय उपभोक्ताले सिलिण्डरको रेगुलेटर लाग्ने ठाउँमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएको रोचक तर विवश दृश्य पनि तस्बिरमा कैद भएको छ । एउटा ग्यास सिलिण्डर भर्नका लागि आफ्नो दैनिक कामधन्दा, कार्यालय र व्यापार व्यवसाय नै माया मारेर दिनभर सडकमा बस्नुपर्ने बाध्यताले नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको छ ।

बजारमा ग्यास अभावको हल्ला चल्ने बित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ । जसका कारण ग्यास पाइने आशमा मानिसहरू यसरी उद्योग र डिपोहरूमा ह्वारह्वार्ती पुग्ने गर्छन् । अत्यावश्यक उपभोग्य वस्तुको रूपमा रहेको खाना पकाउने ग्यासको वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्नु र बेला–बेलामा यस्तो अभाव सिर्जना हुनुले आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । सम्बन्धित निकायले ग्यास आपूर्तिलाई सहज, पारदर्शी र नियमित बनाउन तत्काल कदम नचाल्ने हो भने सर्वसाधारणले यस्तो सास्ती अझै व्यहोरिरहनुपर्ने निश्चित छ ।

लाेकतन्त्र, प्रमाणित डेटा र संस्थागत पारदर्शिता

डिजिटल लोकतन्त्रको अवसर र एल्गोरिदमिकको चुनौती एकै साथ भित्रिएको छ । टेक्नोपोलिटिक्स सामाजिक सञ्जाल प्रयोगकर्तामा मात्र सीमित छैन, छलफलका सबै मञ्चमा फैलिएको छ । अहिलेको निर्वाचनले सामाजिक सञ्जाल, डिजिटल एल्गोरिदम र डेटा प्रवाहले मतदाताको धारणा र जनमत निर्माणमा महत्त्वपूर्ण प्रभाव पारेको विश्लेषण गरिएको छ । अब विश्वासिलो लोकतन्त्रका लागि प्रमाणित डेटा, एआई सहयोगी निगरानी, एकीकृत नियामक प्रयास र संस्थागत पारदर्शिता अनिवार्य भइसकेको छ ।

 

एल्गोरिदम पछिल्लो समय विश्वभर चर्चित शब्द हो । सामाजिक सञ्जालबाट सञ्चार, सूचना आदानप्रदान र लोकप्रियता प्राप्त गर्न एल्गोरिदमको विकास भएको हो । यससँगै नेपालमा सामाजिक सञ्जाल राजनीतिक संवादको प्रमुख माध्यम बनिसकेको छ । भरखरै भएको निर्वाचनले यसको प्रभाव स्पष्ट गरेको छ । फेसबुक, एक्स, टिकटक र रिल इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले मतदाता, दल र उम्मेदवारबीचको अन्तक्रियालाई तीव्र र प्रत्यक्ष बनाए । यसले लोकतान्त्रिक सहभागिता विस्तार गरेको छ । तर यही संरचनाले गलत सूचना र नियोजित डिजिटल चुनौती पनि थपिएको छ ।

एल्गोरिदमले प्राथमिकता दिने भावनात्मक, विभाजनकारी र सनसनीपूर्ण सन्देशहरू छिटो फैलिन्छन् । यही प्रक्रिया एल्गोरिदमिक प्रबर्द्धन हो । राजनीति र डिजिटल प्रविधिको संयोजन टेक्नोपोलिटिक्स एल्गोरिदमको पछिल्लो रुप हो । यसले लोकतन्त्रलाई सशक्त बनाउन सक्छ । तर नियमन र पारदर्शिता कमजोर भए संरचना लोकतान्त्रिक प्रक्रियाका लागि जोखिम हुन पनि सक्छ । टेक्नोपोलिटिक्सले राजनीति र डिजिटल प्रविधिको संयोजनमार्फत मतदाताका धारणा प्रभावित गर्ने रणनीति अपनाउँछ । एल्गोरिदमिक प्रवर्द्धनले यी सामग्रीलाई प्राथमिकता दिन्छ र तीव्र गतिमा फैलाउँछ जसले सानो वा अप्रमाणित सामग्रीलाई पनि व्यापक प्रभाव दिन सक्षम बनाउँछ ।

टेक्नोपोलिटिक्स र एल्गोरिदमिक प्रवर्धनको संयोजनले डिजिटल प्लेटफर्ममा फैलने चुनौती जटिल बनाएको छ । डिजिटल लोकतन्त्र सुरक्षित राख्न सावधानीपूर्ण नियमन, डेटा विश्लेषण र एल्गोरिदमिक निगरानी अनिवार्य छन् । चुनावको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न डेटा विज्ञान र कृत्रिम बुद्धिमत्ता नभै नहुने चुनावबाट स्पष्ट भइसकेको छ । यसले गलत वा अनावश्यक जानकारी हटाएर निष्पक्ष तथ्याङ्क सुनिश्चित गर्छ र मतदाताको विश्वास बलियो बनाउँछ ।

कृत्रिम बुद्धिमत्तामा आधारित एल्गोरिदमिक पारदर्शिता मोडेलले निर्णय प्रक्रियामा पूर्वाग्रह र गलत प्रवृत्तिहरू पत्ता लगाउन मद्दत गर्छ । ठूलो मात्रामा सामाजिक मिडिया सामग्रीको विश्लेषण, गलत सूचना पहिचान र वर्गीकरणमा एआई प्रयोगले निर्वाचन परिणाम र जनमत निर्माणमा सकारात्मक असर पु¥याएको देखिन्छ । निर्वाचनले नेपालमा डिजिटल प्रविधि र सामाजिक मिडियाको बढ्दो प्रभावसँगै प्रविधि आधारित राजनीति र एल्गोरिदमिक प्रवर्धनले लोकतन्त्रमा नयाँ चुनौती थपेको देखाएको छ ।निर्वाचनकालमा फैलिने गलत कुरा वा गलत सूचनाले मतदाताको धारणा र निर्णय प्रक्रियामा असर पार्छ ।

यद्यपि, आधिकारिक प्रचारप्रसार सामग्री निर्वाचन आयोगले अनुमोदित र नियमन गरेको हुन्छ जसले पार्टी वा उमेदवारको वास्तविक अभियानलाई सार्वजनिक पार्छ । दीर्घकालीनरूपमा डेटा विज्ञान र कृत्रिम बुद्धिमत्तामार्फत बनेका सार्वजनिक ड्यासबोर्ड र खुला डेटा संयन्त्रहरू आयोगको नियन्त्रणमा हुनु पर्छ । अन्य नियामक निकायहरूसँग समन्वयकर्ता र प्रविधि सहयोगीको भूमिकामा अनिवार्य रूपमा संलग्न हुनुपर्ने अवस्थालाई पनि हेर्दै कानुनी र प्राविधिक क्षमतातर्फ सोच्नुपर्ने देखिन्छ ।

प्रविधि लोकतन्त्रको शत्रु होइन । यसको प्रयोगको ढाँचाले नै भविष्य निर्धारण गर्छ । नयाँ निर्वाचन परिणाम, डिजिटल मतदाताको प्रभाव र डेटासञ्चालित पारदर्शिता एवं नियमनको संयोजनले मात्र डिजिटल संरचना लोकतन्त्रको रक्षक बन्न सक्छ ।

सुर्खेतकी इनिसाको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडाैं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।  शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सो जघन्य  अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् ।

आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनुभयो । उहाँले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

पश्चिम एशियामा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छ : श्रमविज्ञ नेपाल

काठमाडाैं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले त्यस क्षेत्रमा धेरै नेपालीहरु समस्यामा रहेको बताउनुभएको हो ।

उहाँले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएकोप्रति असन्तुष्टी जनाउँदै धेरै नेपालीहरु देश फर्किन चाहेको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्व जारी रहेकोले नेपाल फर्किन चाहनेहरुलाई उद्धार गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा असुरक्षित रहेको नाम दर्ता गराइसकेको उहाँको भनाई छ । अवैध रूपमा काम गरिरहेका धेरै नेपालीहरू सरकारी रेकर्डमा नभएकोले यो संख्या अझ बढ्न सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार अवैध रूपमा काम गर्न गएका नेपालीहरू कानूनी झन्झटमा पर्ने डरले पोर्टलमा नाम दर्ता गर्न हिच्किचाइरहेका छन् । डा. नेपालले सरकारको प्रयास सकारात्मक भएपनि उद्धार कार्यमा भने प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले प्राथमिकताका आधारमा गर्भवती महिला, अवैध बसेका नेपालीहरु र बढी जोखिम क्षेत्रमा रहेकाहरुलाई उद्धार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्वमा सबैभन्दा बढी आप्रवासीहरु परेको बताउनुभयो । सम्बन्धित देशहरुले आफ्ना नागरिकलाई सुरक्षित राख्ने गरेको र बाह्य देशका नागरिकलाई भने सुरक्षामा चासो नदेखाएको पाईएको जानकारी दिनुभयो ।

उहाँले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको पनि बताउनुभयो । सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको उल्लेख गर्दै उहाँले कसरी सुरक्षित हुने, कहाँ के भइरहेको छ भन्ने बारेमा भने जानकारी नगराएको बताउनुभयो । त्यहाँ रहेका नेपालीहरूलाई दैनिक दुई,तीन पटक त्यहाँको वस्तुस्थितिको बारेमा सरकारले यर्थात जानकारी दिनुपर्ने उहाँको भनाई छ ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ हुनुहुन्थ्यो । गएराति अप्ठ्यारो महशुस भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आउनुभएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उहाँको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उहाँ झापा फर्कनुभएको थिएन ।

प्रतिनिधि सभा उम्मेदवारले बुझाउन थाले निर्वाचन खर्च विवरण

काठमाडाैं । प्रतिनिधि सभा उम्मेदवारहरुले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन् ।
पारदर्शीताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगले उम्मेदवारका लागि आचारसंहिता बनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । राजनीतिक दल र उम्मेदवारले निम्नमध्ये कुनै एक माध्यमबाट खर्च विवरण सार्वजनिक गरी सोको फोटो वा स्क्रिनसटसहितको प्रमाण आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्छ ।

तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही हुने भएकाले उनीहरुले त्यस्तो विवरण धमाधम बुझाइरहेका छन्, भने आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन् ।

हालसम्म खर्च विवरण बुझाउनेमा रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहदेखि प्युठानबाट चुनाव उठेका एमाले नेता सूर्य थापासम्म छन् । झापा ५ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता साह (बालेन) ले निर्वाचन कार्यालयमा बुझाएको चुनावी खर्च विवरणअनुसार १४ लाख १७ हजार रुपैयाँ खर्च भएको  छ ।

उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ ।  पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ । यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ ।

बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ । यता प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् ।

उनको प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ । त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च ९ लाख ८९ हजार रुपैयाँ मात्रै भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका उनले आफ्नो मंगलबार निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण पेश गरेका छन् । पेश गरिएको विवरणमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, नमुना मतपत्र सामग्री छपाइका लागि ६८ हजार १६१ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यसैगरी मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजामा १४ हजार २०० रुपैयाँ, प्रचार सामग्री (झण्डा, ब्याच, स्टिकर) खरिदमा १ लाख १२ हजार रुपैयाँ, तथा व्यानर निर्माणमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।

खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ र हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् ।

सार्वजनिक विवरणअनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमूना मतपत्र÷घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख छ ।

त्यस्तै स्वतन्त्र सांसदमा विजयी महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन् ।

पेश गरिएको विवरणअनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ । यस्तै, चालक ज्यालामा करिव १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ,डिजेल ३ लाख ६० हजार ४९९ खर्च भएको छ ।

नेकपा (एमाले)का नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।
प्युठान जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार खर्च गरेका छन् । एमाले महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाएका छन्।

उनले पेश गरेको खर्च विवरणअनुसार मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) ३ लाख, प्रचारप्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी/अन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ ।
यस्तै, राप्रपा नेता कमल थापाले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन् । उनले २३ लाख १० हजार रुपैयाँ खर्च गरेको विवरण छ ।

उनले बुझाएको विवरणअनुसार थापाले चुनावमा निर्वाचन कार्यालय व्यवस्थापनका लागि सबैभन्दा धेरै ४ लाख ७५ हजार, डिजिटल सामग्री उत्पादन तथा विज्ञापनका लागि ४ लाख ५० हजार, घरदैलो कार्यक्रममा भोजन व्यवस्थापनका लागि ३ लाख ५० हजार, प्रचार प्रसार सामग्री छपाइ र वितरणका लागि ३ लाख १५ हजार रुपैयाँ खर्च गरेका थिए ।

यस्तै बुथमा ३ लाख १० हजार, प्रचार प्रसारका लागि गाडी भाडा र इन्धनबापत २ लाख ३५ हजार र कार्यकर्ता परिचालनमा १ लाख ५० हजार रुपैयाँ खर्च गरेको थापाले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा उल्लेख गरेका छन् । थापाले यसपटक निर्वाचनमा  जमानत पनि जोगाउन सकेनन् । गृह जिल्ला मकवानपुर छोडेर काठमाडौं–५ बाट चुनावी मैदानमा उत्रिएका थापाले जम्मा १ हजार ९२२ मत पाएका थिए । एक भोटका लागि थापाको एकहजार भन्दा बढि खर्च गरेको देखिन्छ । त्यस्तै, अन्य उम्मेदवारले पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने क्रम जारी छ । काठमाडौं–५ रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित हुँदा थापा चौथो भएका थिए ।

बञ्चरे डाँडामा स्थानीयकाे अवराेध, उपत्यकाकाे फाेहाेर विसर्जन राेकियाे

काठमाडाैं। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् ।

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहोर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।”

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहोर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।

राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ ।

अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने छ ।

‘उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ,’ विभागले भनेको छ ।

विभागले नयाँ प्रणाली सुरू हुने मिति र उक्त अवधिमा गरिने व्यवस्थाबारे अर्को सूचनामार्फत् जानकारी गराइने बताएको छ ।

नेपाल आयल निगमले आजदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्ने

काठमाडौँ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ ।

आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई/तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।

अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताउनुभएको छ । उहाँले विद्यमान उच्च भन्सार दरलाई समेत न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष अग्रवालले दक्षिण एशियाका अन्य देशहरुमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा राजश्वको अनुपात १३ देखि १४ प्रतिशत मात्रै रहेको तर नेपालमा १९.९ प्रतिशत पुगेको भन्दै यसले लगानी र व्यापारको प्रतिष्पर्धी वातावरण नबनेको बताउनु भयो ।

विगतमा लामो समय राजनीतिक अस्थिरताका कारण अर्थनीति पनि अस्थिर भएको भन्दै उहाँले अब बन्ने बलियो सरकारले अर्थनीतिमा स्थायित्व ल्याउनुपर्ने बताउनु भयो । नियामक निकायको संकुचित मौद्रिक नीतिका कारण विगत ४ वर्षदेखि अर्थतन्त्र अत्यन्तै शिथिल बनेको उहाँको भनाइ छ । यद्यपि हालै अर्थमन्त्रीको सहकार्यमा राष्ट्र बैंकले गरेका केही नीतिगत सुधारप्रति भने उहाँले सन्तोष व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रको रहेकाले नीतिगत परिवर्तनको प्रत्यक्ष असर निजी क्षेत्रलाई पर्ने उहाँले प्रस्ट पार्नुभयो । यसैलाई मध्यनजर गर्दै अब उप्रान्त कुनैपनि नीति नियम लागू गर्नुअघि ‘रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट’ (नियामकीय प्रभाव मूल्याङ्कन) गर्ने प्रथा शुरु गर्नुपर्ने उहाँको माग छ ।

आगामी दिनमा पर्यटन र सूचना प्रविधि (आईटी) जस्ता ‘वेटलेस र बोर्डरलेस’ (भारविहीन र सीमारहित) व्यापारलाई प्रवद्र्धन गर्न लगानीमैत्री नीति ल्याउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । विगतका भूतप्रभावी (रेट्रोस्पेक्टिभ) कर नीतिले निजी क्षेत्रलाई ठूलो अप्ठ्यारो पारेको, नयाँ अडिट प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभएको र भन्सारको अनलाइन मूल्याङ्कन प्रणालीमा अझै कमजोरी रहेको भन्दै उहाँले यी सबै समस्या तत्काल समाधान गरी अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताउनुभयो ।

निर्वाचन परिणामपछि निजी क्षेत्र उत्साहित भएको र लगानी गर्न आतुर रहेको उहाँले बताउनुभयो ।