सोमबारदेखि सबैखाले यात्रुवाहक साधन उपत्यकाबाट बाहिरिन र भित्रिन रोक | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

सोमबारदेखि सबैखाले यात्रुवाहक साधन उपत्यकाबाट बाहिरिन र भित्रिन रोक

काठमाडौँ, ९ चैत । सरकारले सोमबार (१० चैत)देखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदै छ । यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौं बाहेकका सहर (ठाउँ)को हकमा पनि यही नियम कार्यान्वयन हुँदै छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी ओलीको सम्बोधनमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने उल्लेख थियो । ‘काठमाडौं मात्र होइन, पोखरा, नेपालगन्ज, विराटनगरलगायत अन्य ठाउँबाट पनि एक–अर्को क्षेत्रका लागि यात्रुवाहक साधन सञ्चालन गर्न दिइने छैन,’ यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले नयाँ पत्रिकासँग भने । अन्य अत्यावश्यक यातायातका साधनलाई भने सञ्चालनमा छुट छ ।

कानुनअनुसार लामो दूरी भन्नाले दुई सय ५० किलोमिटरभन्दा टाढाको यात्रालाई जनाउँछ । तर, प्रधानमन्त्रीले कानुनी व्यवस्था नहेरी सहरभन्दा बाहिर जानबाट रोक्ने उद्देश्यले ‘लामो दूरी’ शब्द प्रयोग गरेको र शनिबारको बैठकले दुई सय ५० भन्दा कम दूरीको यातायात सञ्चालनलाई पनि रोक लगाउने निर्णय गरेको विभागले जनाएको छ । कानुनी व्यवस्थाअनुसार २५ किमिसम्मलाई छोटो र दुई सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ ।

कोरोनाको त्राससँगै विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन र परीक्षा बन्द भएपछि केही दिनयता काठमाडौंबाट बाहिरिनेको भिड लागेको छ । शनिबार मात्रै साँझ ५ बजेसम्म एक लाख ८६ हजार यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनायो । ५ बजेपछि पनि यात्रु जानेक्रम रहेकाले एकैदिन दुई लाखभन्दा बढी बाहिरिएको महाशाखा प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);