काठमाडौं, २८ कात्तिक । निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाका कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो ।
निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरह नै ६० वर्ष पु/याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिनु भयो ।
तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पुर्याईनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताउनु भयो ।
समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो । बैठकले कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिने सहमति पनि गरेको छ ।