काठमाडौं, ७ कात्तिक । सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभरसिटी भिसा डिभीको आवेदन खुलेसंगै राहदानी बनाउनेको भिड लागेको छ । अमेरिकी सरकारले डिभीका लागि राहदानी अनिवार्य गरेपछि राहदानी विभागमा राहदानी बनाउनेको भिड लागेको हो ।
औषतमा दैनिक सातदेखि नौ सयसम्म राहदानी जारी गर्दै आएको विभागले डिभी खुलेसंगै दैनिक १३ सयदेखि २७ सयसम्म राहदानी वितरण गरिरहेको छ ।
अमेरिका जानका लागि राहदानी दिनेको चाप बढेपछि राहदानी विभागले मनग्य राजस्व संकलन गरिरहेको छ । तर चाप व्यवस्थापनमा भने साखै ध्यान दिएको पाइएको छैन ।
सरदर दश–पन्ध्र मिनेटको कामका लागि सेवाग्राहीहरु अहिले घण्टौं लाइनमा बस्न बाध्य भएका छन् । मुलुकका विभिन्न स्थानबाट आएका सेवाग्राही राहदानी लिनका दिनभर लाइनमा बस्नु परेको गुनासो गरेका छन् ।
विशेष गरेर इ डिभिको कारण सेवाग्राहीको भीड बढेको राहदानी विभागका महानिर्देशक रामकाजी खड्का बताउनुहुन्छ । तत्कालका लागि भिड व्यवस्थापन नै प्रमुख समस्या देखिएपनि सुधारको प्रयास भइरहेको महानिर्देशक खड्काको भनाइ छ।
मुलकमा बढ्दो वेरोजगारी र अवसरको कमीले गर्दा आमनेपालीहरु इ डिभी प्रति आकर्षित भएका छन् । यस्तो अवस्थामा मुलकमै रोजगारीको अवसर श्रृजना गरेर आम नेपालीलाई विदेशीनबाट रोक्ने तर्फ कसैले चासो देखाएको पाइदैन ।