रौतहट, ३ कात्तिक । बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री आफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्याय पाउने आशामा छिन् । उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् ।
राजनीतिक शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुन: सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्वास उनमा बढेको छ ।
ओसी बम विस्फोटमा पर्दा रुबी करिब १३ वर्षकी मात्रै थिइन् । उनको त्यतिबेलै बिहे भएको थियो । उनी गौना नभएकाले माइतमै बसिरहेकी थिइन् । केही वर्षपछि उनको गौना भयो । दाइको हत्या घटनाको न्यायका निम्ति दौडधुप गरिरहेकी उनकी आमा रुक्सानाको गोली हानी हत्या भयो । आमाको हत्याको दिन २२ दिनको सुत्केरी रहेकी रुबीले त्यतिबेला घटना कसरी भयो, कसले गरायो, केही मेसो पाइनन् । समयान्तरमा उनलाई लाग्यो, दाइको जस्तै आमाको घटना पनि रहस्यमै हराउने भयो । ओसीको हत्या घटनाको १२ वर्षपछि अनुसन्धान सुरु भएसँगै उनले भनिन्, ‘हमर अम्मीको हत्यारा पत्ता लगेके चाही । ओकर कडा से कडा सजाय होएके चाही ।’
आलमको चुनावी प्रचारमा हिँडेका रुबीका दाइ ओसी २०६४ चैत २७ गते साबिक राजपुर गाविसको राजपुर फरदहवा टोलमा भएको बम विस्फोटमा परेका थिए । भोलिपल्टको संविधानसभा चुनाव बिथोल्न भन्दै आलमका मान्छेहरूले बम बनाउने क्रममा भएको विस्फोटमा ओसीसहित अन्य घाइते भएका थिए । घटनाको पोल खुल्ने भन्दै आलमका मान्छेहरूले घाइते ओसीसहितलाई इँटाभट्टामा हालेर मारेको भन्दै परेको उजुरीमा प्रहरीले वर्षौपछि यतिबेला अनुसन्धानलाई तीव्रता दिएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




