काठमाडौं, २५ भदौ । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ ।
महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर (काठमाडौँ प्रहरी) को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था छ ।
तर, अब बन्न लागेको अपराध महाशाखा र परिसरको भवन भने वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराधअनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अबको भवन कसुरअनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना निर्माण हुने बताउनुहुन्छ । प्रहरीको उक्त भवनमा हत्या, चोरी, विशिष्ट व्यक्ति तथा अन्य कसुरमा फरक–फरक कक्षहरु राखिनेछ । परिसरमा ३०० र महाशाखाका १५० जना राख्न मिल्ने गरी भवन बन्दैछ ।
“अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुनुपर्छ, कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाइ नहोस्, मैले मेरो प्रहरीलाई सूचना दिन आएको हुुँ भन्ने महसुस हुने गरी छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाइन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।