काठमाडौं, २७ साउन । गत साता भारतको दक्षिणी शहर मंगालुरुमा एक उद्यमीले बैंकको अति दबाबका कारण आत्महत्या गरे । मुलुकका विभिन्न स्थानमा एक हजार आठ सय क्याफे कफी डे सेन्टर सञ्चालन गरेका भीजी सिद्धार्थ नामका व्यवसायीको आत्महत्याले भन्दा पनि उनको मार्मिक टिपोटले सबैलाई भावविह्वल बनायो ।
इकोनोमिक टाइम्सका अनुसार उनले आत्महत्या गर्नुअघि लेखेका छन्, ‘मैले इमान्दार भएर व्यवसाय गरें, कसैलाई ठग्न र ढाँटेर पैसा कमाउन चाहिनँ, मैले सकेको गरें, यो भन्दा बढी दबाब सहन सकिनँ, सधैंका लागि बिदा !’
सिद्धार्थले आफूले आत्महत्या गरेर शुभचिन्तकलाई तत्कालका लागि निराश बनाए पनि बैंक, वित्तीय संस्था र आयकर कार्यालयले दिएको दबाबको घनत्व बुझेपछि र इमान्दार भएर व्यवसाय चलाउन चाहने मित्रको विकल्परहित अवस्थाको निर्णय भन्ने ठानेर माफी दिनुहुने विश्वास लिएको उल्लेख गरेका छन् । ‘म अझै बाँच्न चाहन्थें, तर योभन्दा बढी दबाब सहन सकिनँ, एक दिन मलाई अवश्य बुझिदिनु हुनेछ’ ६० वर्षे व्यवसायीले माफ गर्नुहोला भन्दै ‘सुसाइट नोट’ अन्त्य गरेका छन् ।
अफिसबाट निस्केर सिद्धार्थले घर जानुको साटो चालकलाई गाडी मंगालुरु शहरको दक्षिणी क्षेत्रमा रहेको पुलतिर लैजान भने, भारतीय समाचारपत्रहरुका अनुसार, पुलमा पुगेपछि गाडी रोक्न लगाएर उनी पैदल अघिबढे । यो आइतबार (साउन १२) को घटना थियो, एकै चोटि मंगलबार उनको लाश र आत्महत्या नोट आफन्तहरुले फेला पारे । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।