काठमाडौं, १३ साउन । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपछि अर्को छानबिन र अनुसन्धान चलिरहेका छन् । प्रत्येक छानबिन समितिले पदाधिकारीलाई कारबाही सिफारिस गर्छन् । कारबाही भने हुन सकेको छैन ।
प्रतिष्ठानका पदाधिकारीबीच समन्वय छैन । उपकुलपति डा. संगीता भण्डारीले एकलौटी रूपमा प्रतिष्ठान चलाउन खोजेको, नियमअनुसार काम गर्न नसकेको र आर्थिक अनियमितता गरेको भन्दै शिक्षाध्यक्ष विश्वनाथ यादवले असहमति व्यक्त गरेका छन् । हालै सम्पन्न सिनेटमा उनले असहमतिका १० बुँदा पेस गरेका थिए ।
‘सिनेटमा मलाई बोल्नै नदिने षड्यन्त्र भयो । पछि असहमतिका बुँदा लिखित रूपमा बुँदा पेस गरें,’ उनले भने, ‘यही तरिकाले प्रतिष्ठान चल्न सक्दैन । बजेट बर्बाद मात्रै हुन्छ, उपयोग हुँदैन ।’
प्रतिष्ठानको अस्पतालमा स्वास्थ्य सेवा बिग्रँदै गएको र यसतर्फ उपकुलपतिको ध्यान नपुगेको उनको आरोप छ । ‘सामाजिक सुरक्षा सेवा बन्द छन् । पोषण पुनःस्थापनाको काम बन्द छ । प्रसूतिको सेवामा समस्या छ,’ उनले भने, ‘बिरामी आएपछि विशेषज्ञ डाक्टर छैनन् भन्नुपर्ने अवस्था छ । स्वास्थ्य सेवा दिनदिनै नाजुक भइरहेको छ, तर उपकुलपतिको ध्यान सामान खरिदमा छ ।’
ठेक्का प्रक्रिया सुरु नगरी ठूलो रकमको सामान खरिद गर्ने, आर्थिक अनियमितता गर्ने र प्रशासनिक भूमिका निर्वाह गर्न नसक्ने समस्या रहेको उनले बताए । ‘यो अवस्थामा कार्यालयमा बस्नसमेत गाह्रो छ । प्रतिष्ठान जस्तै छैन । मैले शिक्षाध्यक्षका रूपमा कुनै पनि काम गर्न पाएको छैन,’ उनले भने, ‘तीनवटा गाडी छन् तर मैले एउटा पनि प्रयोग गर्न पाएको छैन । उपकुलपति अधिकांश समय काठमाडौंमा बस्नुहुन्छ । एउटा गाडी त्यतै छ ।’ अनियमिततामा सहयोग नगर्नेलाई हटाउन खोज्ने प्रवृत्ति रहेको यादवले आरोप लगाए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।