काठमाडौं, ७ साउन । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकार भित्र देखा परेका कमीकमजोरीलाई सच्याउँदै जानुपर्नेमा जोड दिनुभएको छ ।
मंगलबार ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले देखेको सपना पूरा गर्न पनि पार्टी र सरकार भित्र देखा परेका कमीकमजोरीलाई सच्याउँदै अघि बढनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीलाई सुदृढ बनाएर विरोधीहरुको षडयन्त्रलाई परास्त गर्न पनि नेता, कार्यकर्तालाई आफू भित्रको कमीकमजोरीलाई सच्याएर अघि बढन आग्रह गर्नु भयो ।
अध्यक्ष दाहालले पार्टी एकताको बाँकि सबै काम साउन महिना भित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियाननै संचालन गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले पनि जनताको अपेक्षा अनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।