काठमाडौं, ८ असार । काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) लगातार दोस्रो वर्ष उत्कृष्ट बिजनेश कलेज अवार्ड जित्न सफल भएको छ । गत वर्षको अवार्ड पनि कुसोमले नै प्राप्त गरेको थियो ।
मूल्यांकनका २२ ओटा आधारमा बाँकी १ हजार ८३३ ओटा कलेजलाई पछाडि पार्दै कुसोमले अवार्ड हात पारेको हो । ‘न्यू बिजनेश एज प्रालि’द्वारा शुक्रवार आयोजित ‘न्यूबिज बिजनेश स्कूल कन्क्लेभ एन्ड अवार्ड–२०१९’ मा कुसोमलाई उक्त अवार्डबाट सम्मान गरिएको छ । अवार्डको यो पाँचौं संस्करण हो ।
रोजगारी बजार तथा उद्यमशीलताका लागि उपयुक्त शैक्षिक जनशक्ति उत्पादन गर्नु नै कुसोमको यस सफलताको आधार रहेको अवार्ड निर्णायक मण्डलको भनाइ छ । ‘व्यवस्थापनमा अगाडि’ नाराका साथ यो कलेज २०४८ सालदेखि सञ्चालनमा छ । यस कलेजमा बीबीए, एमबीए÷ईएमबीए, बीबीआईएस जस्ता व्यवस्थापन विषय पठनपाठन हुँदै आएको छ । कुसोमले इन्क्युबेशनका माध्यमबाट व्यवसायसहित विद्यार्थीलाई कलेजबाट बिदा गर्दै आएको छ । साथै, उद्यमशीलता विकासका लागि विभिन्न गतिविधि सञ्चालन र बिजनेश ‘हाउस’हरूसँगको सहकार्यमा विद्यार्थीलाई वास्तविक व्यावसायिक अभ्याससँग परिचित गराउनेजस्ता काम पनि उक्त कलेजले गर्दै आएको छ ।
कुसोमबाट उत्पादित जनशक्तिको बजारमा उच्च माग, उत्कृष्टस्तरको जर्नल प्रकाशन, गुणस्तरीय फ्याकल्टिज (शिक्षक), पूर्वविद्यार्थीको अद्यावधिक तथ्यांक र उनीहरूसँगको सहकार्य, पर्याप्त भौतिक संरचना तथा उच्चस्तरका विद्यार्थी एक्सपोजर कार्यक्रमहरू यसका सबल पक्ष हुन् । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।




