काठमाडौं, ३ जेठ । नेपाली जुडोमा फुपु ल्हामु खत्रीको नाम एक राम्रो र उत्कृष्ट खेलाडीकोे रुपमा लिइन्छ । उनले नेपाललाई १२औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक दिलाएकी थिइन् । त्यस्तै रियो ओलम्पिक २०१६ मा चार मिनेट विपक्षीसँग टिकेका खेलाडी पनि हुृन् उनी । त्यसैले पनि उनलाई नेपालको उत्कृष्ट खेलाडीमध्ये एकमा गणना गरिन्छ । तर अहिले समयले अर्कै मोड लिएको छ । उनलाई निलम्बन गरिएको छ । त्यो पनि सन् २०२० सम्म ।
यस हिसाबले उनको लगातार दोस्रो पटक ओलम्पिकमा खेल्ने सपना टुहिएको छ । त्यति मात्र होइन, उनले आफ्नै देशमा हुने १३औं दक्षिण एशियाली खेलकुदमा समेत खेल्नबाट वञ्चित हुनु परेको छ । विगतमा सफल खेलाडीको छवि बनाइसकेका फुपू जस्ता खेलाडीको लागि यो निकै कठिन स्थिति हो । यसले फुपुको भविष्य कता जाने हो त्यो भविष्यकै गर्भमा रहेको छ । अहिलेको अवस्था हेर्दा भने फुपुले जुडोमा पुनरागमन गर्न निकै संघर्ष गर्नु पर्ने दृश्य छर्लङ देखिएको छ । याे समाचार नेपाल समाचारपत्रमा छ ।