लगानी सम्मेलनमा प्रस्ताव गरेको ७७ मध्ये २६ परियोजनामा आवेदन | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

लगानी सम्मेलनमा प्रस्ताव गरेको ७७ मध्ये २६ परियोजनामा आवेदन

lagani sammelan-lagani board

काठमाडौं, ८ बैशाख । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको छ । लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरी गत चैत्र १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सरकारले प्रस्ताव गरेका ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको जानकारी गराएको हो ।

त्यसैगरी आह्वान नगरिएका ५ वटा थप परियोजनाका लागि पनि लगानीका लागि आवेदन परेको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए । आवेदन परेका परियोजनाहरुको अनुमानित लागत २५ खर्व भन्दा बढि रहेको पनि बोर्डले जनाएको छ ।

आवेदनमा पूर्वाधार विकासका आयोजनामा लगानीकर्ताहरुको बढि चासो देखाएका छन । त्यसैगरी कृषि, स्वास्थ्य, उर्जा र उद्योगको क्षेत्रमा पनि लगानीका लागि आवेदन परेको बोर्डका प्रवक्ता रिजालले बताए ।

बोर्डका अनुसार निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि ६ वटा आवेदन परेका छन् । त्यसैगरी काठमाडौंको बाहिरी चक्रपथका लागि ४ वटा, अन्तराष्ट्रिय सम्मेलन केन्द्रका लागि २ वटा प्रस्ताव पनि परेको बोर्डका प्रवक्ता रिजालले जानकारी दिए ।

बोर्डले लगानी सम्मेलनमा प्रस्ताव गरिएका ७७ वटा परियोजना मध्ये पहिलो चरणमा २७ वटा परियोजना ३ महिना भित्र, दोस्रो चरणमा १७ वटा परियोजना ९ महिना र तेस्रो चरणका लागि ६ वटा परियोजनाको १४ महिना भित्र कार्ययोजना तय गरिसक्ने योजना पनि बनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ताको पहिचानमा सहजहोस् भन्ने उद्देश्यका साथ परियोजनाहरुको बर्गीकरण गरी कार्ययोजना तय गर्न लागिएको बताए।

सरकारले परेका ती आवेदनहरुको मूल्यांकन तथा कार्यान्वयनका लागि अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको नेतृत्वमा ६ सदस्यीय उच्च स्तरीय अनुगमन समिति पनि बनाएको छ ।

ताजा समाचार