काठमाडौं, १४ चैत । सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गरिएको जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो । कर्मचारी समायोजन अनुसार सबैभन्दा बढि कर्मचारी स्थानीय तहमा परिचालन गरिएको छ । स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरिएको हो ।
त्यसैगरी, प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए । उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताए ।
सरकारले यही आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना रहेको पनि जनाएको छ । मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताए ।




