काठमाडौं, ९ चैत । प्रदर्शनीमार्गको वाल्मीकि विद्यापीठ पुग्नुभयो भने प्रवेशद्वारमै देख्नुहुन्छ— विद्या धनं सर्वधन प्रधानम्। यो उक्तिलाई वाल्मीकिले मात्र होइन, धेरै शैक्षिक संस्थाले आदर्श मानेका छन्। तर यो विद्यापीठको भौतिक, शैक्षिक एवं प्रशासनिक अवस्था देख्दा लाग्छ, उक्तिले क्याम्पसलाई जिस्क्याइरहेको छ। किनभने, न यहाँ पढाइ नियमित छ, न त यहाँका संरचनाको सदुपयोग भएको छ।
विद्यापीठ परिसरको पछिल्लो भागमा छ— पुस्तकालय भवन, जहाँ पुस्तकको संरक्षण त भएको छैन। यहाँ रहेका ऐतिहासिक एवं प्राचीन महत्त्वका हजारौं पुस्तक पनि धमिराले खाएका छन्। ६८ वर्ष पुरानो विद्यापीठमा संस्कृतको उच्च तहको पढाइ हुन्छ। यो नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत सबैभन्दा बढी विद्यार्थी भएको र बढी विषय पढाइ हुने मूल आंगिक क्याम्पस हो।
यहाँ नेपाली भाषाको जननी संस्कृत भाषामा शिक्षण हुन्छ। विद्यापीठमा धर्मशास्त्र, वेद, ज्योतिष, दर्शन, पुराण, व्याकरण आदि प्राचीन विषयसहित नेपाली, अंग्रेजी, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र पढाइ हुन्छ। काठमाडौंमा रहेकाले धेरैले यसलाई नेपाल संस्कृत विश्वविद्यालय नै ठान्छन्। यद्यपि विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा छ।
क्याम्पसका भवन भग्नावशेष अवस्थामा छन्। भवनका झ्यालमा नफुटेका सिसा देख्न मुस्किल पर्छ। केही सिसा चर्किएका छन्। केही झ्यालमै झुन्डिएका छन्— तुन्द्रुङ्ग। लाग्छ, सानो हावा आयो कि झरिहाल्छन्। नौ रोपनी जग्गामा फैलिएको क्याम्पस परिसरमा जोकोहीलाई सहज प्रवेश छ। तर अनौठो, यहाँ को आयो, गयो, कसैलाई चासो छैन। पुतलीसडक तथा आसपासका क्षेत्रमा काम परेर गएका तर सवारीसाधन पार्किङको समस्याले दिक्क भएकालाई यो ठाउँ अहिले गज्जबको विकल्प बनेको छ। पैदल हिँडेर थाकेकालाई थकाइ मार्नुपर्यो पनि यसले स्वागत गरेजस्तो लाग्छ। किनभने, यहीं भेटिन्छन् विद्यापीठमा असम्बद्ध व्यक्ति पनि।
बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म यहाँ पढाइ हुने रुटिन छ। तर त्यो समयमा धेरैजसो कक्षाकोठा रित्तै देखिन्छन्। कुनै कोठामा शिक्षक–विद्यार्थी देखिन सक्छन्। तर मुस्किलले दुईतीन जना विद्यार्थी लिएर गुरु पढाइरहेका हुन्छन्। भर्याङका कुनाकाप्चा फोहोर त छन् नै, सँगै थोत्रा बेन्च, कुर्सी र अन्य सामग्री त्यतैकतै छरपस्ट छन्।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




