काठमाडौं, २९ माघ । एक डाक्टरको भरमा १ हजार २ सय नागरिकले उपचार सेवा लिनुपर्ने बाध्यता छ । दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुनै मुस्किल छ । उपलब्ध भएका ठाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७५१ डाक्टर छन् । जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन् । पुरुष डाक्टरको संख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ ।
केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल जनसंख्या ३ करोड बढी छ । यसरी हेर्दा एउटा डाक्टरको भरमा १ हजार २ सय नागरिक पर्छन् । बिरामीको अनुपातमा डाक्टरको संख्या न्यून हुँदा बिरामीहरूलाई उपचार सेवामा समस्या हुने गरेको छ ।
जिल्लामा पर्याप्त डाक्टर नहुँदा बिरामीले घण्टौं कुरेपछि मात्रै पालो आउँछ । बिरामीको चाप अस्पतालमा भए पनि पर्याप्त दरबन्दी पूर्ति हुन सकेको छैन । सरकारले एक स्थानीय तह एक अस्पतालको नारा अघि सारे पनि कार्यान्वयनमा आउन सकेको छैन। संघीय शासनको मर्म भनेकै जनताको घरदैलोमा नै सेवा दिनु हो तर स्वास्थ्य क्षेत्रमा नागरिकहरु घण्टौ धायर र पर्खिएर सेवा लिन विवश छन् ।
७५३ स्थानीय तह रहे पनि २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा मात्रै चिकित्सकहरू सरकारी सेवामा कार्यरत छन् । जसकारण बिरामीहरू जिल्ला सदरमुकाम धाउन बाध्य छन् ।
यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।