यसरी गरौं दसैंको खानपान | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

यसरी गरौं दसैंको खानपान

dashainma khanpan

काठमाडौं, २७ असोज । हिन्दू नेपालीको महान् पर्व बडा दसैं सुरु भइसकेको छ। दसैंका बेला अनेक परिकार खाने परम्परा छ। पछिल्लो समय यसमा तयारी (रेडिमेड) अन्य परिकार पनि थपिएका छन्। तर, स्वस्थ र रमाइलो दसैं मनाउन खानपानमा विशेष ध्यान पु-याउनुपर्ने पोषणविद्को सुझाव छ।

काठमाडौंस्थित नर्भिक अस्पतालकी पोषणविद् चन्द्रमाला अवस्थीका अनुसार एकै दिन धेरै ठाउँमा खानै परे पनि धेरै नखाने तरिका छ। यस्तो अवस्थामा दिएका सबै परिकार खानुको सट्टा सलाद, फलफूलजस्ता हल्का खानेकुरा खान सकिन्छ।

चाडबाडका नाममा अनावश्यक खाना खाएकै कारण उच्चरक्तचाप, मधुमेह र मुटु रोगमा जटिलता बढ्ने गर्छ। यसैकारण यस्ता रोगीले नियमित तालिकाभित्र रहेर दसैं मनाउनु उचित हुने पोषणविद् अवस्थी बताउँछिन्।

पछिल्लो समय दसैं मनाउने चलनमा केही परिवर्तन आएको छ । विशेष गरी कोकाकोला, फ्यान्टाजस्ता चिसो पेय पदार्थ तथा अन्य रेडिमेड परिकार बढी प्रयोग गर्ने । यस्ता किसिमका खानेकुरा खान नहुने उनको सुझाव छ । पोषणविद् अवस्थीका अनुसार यस्ता खानामा बढी चिल्लो, चिनी तथा नुनको मात्रा बढी हुने गर्छन् । जसले विभिन्न रोगमा जटिल समस्या ल्याउँछन् । यस्ता चिजको सेवनले स्वस्थ मानिसको शरीरमा समेत अनावश्यक तŒवहरू प्रवेश भई स्वास्थ्यमा नकारात्मक असर पर्छ।

दसैंमा मासुको परिकार बनाउँदा पनि केही गलत चलन छाड्नुपर्ने पोषणविद्को सुझाव छ । विशेष गरी मासु किन्दादेखि पकाउँदा र खाँदासम्म अत्यन्तै ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । खसीको मासु ल्याउँदा सकेसम्म ताजा मात्र ल्याउने । बजारबाट ल्याएको मासुलाई बोसो निकालेर छुट्याउने । थोरै तेल राखेर पनि मासुलाई पकाउन सकिन्छ । मसला खासै हानिकारक नभएकाले यो आवश्यकता अनुसार राख्न सकिन्छ । रातो मासु सकेसम्म कम खाने र मासुसँगै साग, तरकारी, सलाद समावेश सक्दो बढी खाने।

दसैंका बेला मासु एकै दिन पकाएर हप्तौं फ्रिजमा राखेर खाने चलन छ । यो चलन स्वास्थ्यका लागि राम्रो नभएको पोषणविद् बताउँछन् । पक्कु बनाउँदा धेरै तेल मासुमा सोसिने र मासुमा पनि बोसो हुने भएकाले यसरी पकाएको मासुमा चिल्लोको मात्रा ज्यादै हुन्छ । तताउँदै फ्रिजमा राख्दै गर्ने र धेरै दिनसम्म राखेर खानाले यसको पोषण तत्व पनि नष्ट हुन्छ।

यस्तै कोक, फ्यान्टाजस्ता पेय पदार्थको सट्टा मही, घरैमा बनेको जुस र कागती पानी पिउन सकिने पोषणविद्को सुझाव छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।