काठमाडौं, ९ भदौ । नागरिक उड्डयन प्राधिकरणले भैरहवा विमानस्थलको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसनसँग ठेक्का तोड्ने तयारी गरेको छ।
हालै प्राधिकरणले ठेकेदार कम्पनीलाई अन्तिम मौकास्वरुप डेढ महिनाको समय दिँदै कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पठाएको छ। सन्तोषजनक रुपमा काम अघि नबढेपछि पठाईएको नोटिसपछि पनि कुनै सुधार नभएको प्राधिकरणका प्रवक्ता विरेन्द्रकुमार श्रेष्ठले बताएका छन्। डेढ महिनाको समयमा पनि केही सुधार नगरे स्वत ठेक्का तोडिने श्रेष्ठले बताएका हुन।
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी विमानस्थलको काम सुरु भएको थियो। तर, ठेकेदार र सहठेकेदारबीच बेलाबेला देखिएको विवादले लक्ष्य अनुरुप काम अघि बढ्न सकेन। पछिल्लो केही समयदेखि चिनियाँ कम्पनी आफँले गरिरहेको छ। तर पनि निर्माण कार्य सन्तोषजनक नभएको अधिकारीहरु बताउँछन्।




