युएई दूतावासको आश्रयस्थलमा १३ पीडित महिला, त्यसमध्ये ८ जना नेपाल फर्कंदै | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

काठमाडौँ, ८ भदौ । वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यामा परी नेपाली राजदूतावास युएईको आश्रयस्थलमा बस्दै आएका आठजना नेपाली महिला बिहीबार स्वदेश फर्कंने भएका छन्। आश्रयस्थलमा रहेका अन्य पाँचजनालाई पनि बाँकी कानुनी प्रक्रिया पूरा गरी केही दिनपछि नेपाल पठाइने दूतावासले जनाएको छ।

 

 

दूतावासको तर्फबाट गरिने सम्पूर्ण प्रक्रिया पूरा भएकाले आठजना भने बिहीबार ‘आउट’ जेल जाने र जेलमार्फत नेपाल फर्कंने दूतावासकी श्रम सहचारी हीरा यादवले जानकारी दिइन् । उनीहरूसँग भिसा, पासपोर्ट नभएकाले आउट जेलमार्फत नेपाल फर्कनुपर्ने बाध्यता रहेको हो।

 

 

नेपाल फर्कनेहरूमा गंगा सुनुवार, सविना तामाङ, सम्झना माया थिङ, आइतिमाया नेपाली, संगीता पाण्डे, मीना तामाङ, गीता राई र संगीता थापा छन् । उनीहरू आगामी सोमबार ओमन एयरवेजमार्फत नेपाल फर्कने व्यवस्था गरिएको पनि यादवले बताइन्।

 

 

उनीहरू घरेलु कामदारको रूपमा कार्यरत रहँदा विभिन्न समस्यामा परेपछि दूतावासको शरणमा पुगेका थिए । घर मालिकबाट मानसिक तथा शारीरिक यातनामा परेका, तोकिएको पारिश्रमिक नपाएका तथा कतिपय मालिकबाट चोरीको आरोपमा मुद्दा लागेका कारण दूतावासको आश्रयस्थलमा बस्दै आएका थिए।

 

 

उनीहरूलाई नेपाल फर्काउन आफन्त, एजेन्ट र केही व्यक्तिले आर्थिक सहयोग गरेका हुन् । अवैधानिक बाटो भएर आउनेहरूको उद्धार गर्न दूतावाससँग बजेट नहुने भएकाले अन्यत्रबाट आर्थिक संकलन गरिएको हो । बाँकी पाँचजना भने आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कने छन्। आजको नयाँ पत्रिकामा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);