काठमाडौं, २१ असार । पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन् ।
अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ, दुई वर्षअघि प्रधानमन्त्री हुँदा बोलेका कुरा सन् २०१८ सम्म भ्याइएन भने सन् २०१९ को पुस १६ लाग्ला, तर स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई । प्रधानमन्त्रीले स्टिमरलाई नै पानीजहाज भनेका हुन् भने ती इन्जिनले चल्ने डुंगा मात्र हुन् जो अहिले पनि कालीगण्डकीमा र कोसीमा चलिरहेका छन् । बरु यसै साता परेको झरीले स्टिमर सेवा अवरुद्ध भएको छ, घाम लागे आफैँ सुरु हुन्छ । प्रधानमन्त्रीले साँच्चै पानीजहाज ल्याउने कुरा गरेका हुन् भने त्यसको लागि अध्ययनसमेत सुरु भएको छैन ।
पानीजहाज कुन मन्त्रालय र कुन विभागको हो, सरकारलाई थाहा छैन ।
प्रधानमन्त्रीले संसद्बाटै घोषणा गरिसके– सरकारले पुससम्म पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो । सरकारलाई पनि थाहा छैन । ऊर्जा तथा जलस्रोतले हो कि पर्यटन तथा संस्कृतिले यातायात तथा पूर्वाधारले हो कि वाणिज्य तथा आपूर्तिले सबै मन्त्रालयलाई सम्पर्क गर्दा कसैलाई पनि थाहा छैन । नेतृत्व गर्ने निकाय नै नभएकाले यो परियोजनाको अध्ययन गर्ने, प्राविधिक जनशक्ति नियुक्ति गर्ने तथा पूर्वाधार निर्माण गर्ने कसले भन्ने थाहै छैन । सबै मन्त्रालयमा सम्पर्क गर्दा जिम्मेवार अधिकारीहरू हाँसेर टार्छन् ।
कुन नदीमा जहाज चल्ने हो, के बोक्ने हो अध्ययन पनि छैन
सरकारले कोसी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेटमा गरेको छ । बजेटलाई आधार मान्ने हो भने अध्ययन गर्न मात्रै एक वर्ष लाग्छ । नेपालमा जलमार्ग चलाउन भारतसँग सम्झौता भएको छ । तर, कुन रुटमा चलाउने भन्ने अध्ययनसमेत भएको छैन ।
प्रारम्भिक अध्ययनसमेत नभएकाले कुन नदीमा चलाउन सकिन्छ, जहाजमा के बोक्न सकिन्छ र पूर्वाधार कसले बनाउँछ भन्ने विषयमा अनुमानसमेत गर्न नसकिएको वाणिज्य मन्त्रालयका एक अधिकारीले बताए । अध्ययन भएपछि बन्दरगाह, मल्टीमोडेल टर्मिनल, पार्किङलगायतका पूर्वाधार बनाउनुपर्छ । त्यसका लागि कम्तीमा थप एक वर्ष लाग्छ ।
तैपनि वाणिज्यका सहसचिव भन्छन्, पानीजहाज किन्ने तयारी छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैँजू भन्छन्, ‘नेपाल–भारत पानीजहाज सञ्चालन गर्ने तयारी छ । तर, पूर्वाधार विकास, आवश्यक थप समझदारी, पारवहन तथा व्यापार सन्धि पुनरावलोकन आदि काम बाँकी छन् । यस्ता प्रक्रियागत काम भइरहँदा नेपालले आफ्नै पानीजहाज भने सञ्चालन गर्न सक्छ ।
कम्तीमा कोलकातादेखि आसपाससम्म भए पनि नेपालले पानीजहाज सञ्चालन गर्न सक्छ । हामीले अहिले पानीजहाज किन्न प्रारम्भिक तयारी गरिरहेका छौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको मातहतमा रहने गरी जहाज किनिनेछ । यसका लागि कम्पनीको उद्देश्य संशोधन गर्नेलगायत काम थालेका छौँ ।’
समुद्र जोड्ने नेपालको सम्भावित बाटो
कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना र कोसी नदीबाट बंगालको कारागोला तथा भागलपुर जोड्न सकिने सम्भाव्यता अध्ययनपूर्वको अनुमान छ । कारागोलाबाट कोलकाता र हल्दियासम्म पुग्न सकिने अनुमान छ । यसका लागि अध्ययन गर्न ऊर्जा मन्त्रालयले कार्यदल गठन मात्र गरेको छ । यसले कहिले काम गर्छ र के सुझाब दिन्छ, लगानी कति लाग्छ र जहाजले के बोक्छ भन्ने जानकारी नपाई प्रधानमन्त्रीले पुसमा पानीजहाज चल्ने घोषणा गरेका छन् ।
भारतीय पक्षसँग छलफल गरेर रुट र रणनीति तय गर्छौँ
माधव बेल्वासे
संयोजक, इनल्यान्ड वाटरवेज अध्ययन समिति
उपलब्ध अध्ययन, प्रतिवेदन तथा खोजहरू पढ्ने, विज्ञसँग परामर्श गर्ने लगायतका काम गरिरहेका छौँ । भारतीय पक्षसँग अनौपचारिक छलफल पनि भइरहेको छ । ३१, ३२ असारमा भारतीय टोली आउँदै छ, त्योसँग छलफल हुन्छ । त्यसले कुन रुटमा कसरी पानीजहाज चलाउने, नेपाल र भारतको रणनीतिक चाहना के–के हो भन्ने टुंगोमा पुर्याउछ । त्यसपछि स्थलगत अध्ययन सुरु हुन्छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।