काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद्हरु बजेटमाथिको दफाबार छलफलमा एकाएक नरमरुपमा प्रस्तुत भएका छन् ।
यसअघि मन्त्रीहरुलाई कमिशन खाएर योजना वितरण गरेको भन्दै जेल हाल्नुपर्ने माग गरेका नेकपाका सांसदहरु प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा एकाएक नरमरुपमा प्रस्तुत भएका हुन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले शनिबार पार्टीको संसदीय दलको बैठक बोलाएर संघीय संसदमा बजेटमाथिको छलफलमा जथाभावी रुपमा नबोल्न निर्देशन दिएपछि सांसदहरुको अभिव्यक्ति फेरिएको हो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।