गोपाल शर्मा भट्टराई,
दाङ, २४ बैशाख । दाङका कृषकहरु पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन । कृषकहरुले पशुको कृत्रिम गर्भाधान गराउन पशु सेवा शाखाबाटै सेवा लिन थालेका हुन ।
विभिन्न प्रजातीका पशुहरुमा कृत्रिम गर्भाधान गराईने भएपछि पशु पालक कृषक थप उत्साहित बनेका पशु सेवा कार्यालय तुलसीपुरले जनाएको छ । कृत्रिम गर्भाधान विधिबाट आवश्यकता अनुसार भाले वा पोथीजातको पशु उत्पादन पनि गराउन सकिन्छ । आफुलाई आवश्यक भए अनुसार पशुको कृत्रिम गर्भाधान गराईने भएकाले पनि यो विधि लोकप्रिय बन्दै गएको शाखाका पशु सेवा प्राविधिक सुवास आचार्यले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ को ९ महिनामा करीव साढे आठ सय पशुको कृत्रिम गर्भाधान गराईएको छ । नेपाल सरकारले सञ्चालनमा ल्याएको यो प्रविधिलाई स्थानीय निकायहरुले राम्रोसँग लागू गरेको उनले बताए । वैज्ञानिक कृषि प्रणाली अन्तर्गत कृत्रिम गर्भाधानको विधिले नस्ल सुधार भएको किसन गोपी कृष्ण गौतमले बताए ।
व्यवसायिक रुपमा पशुपालनमा लागेका कृषकले कृत्रिम गर्भाधान विधिबाट बढी फाइदा लिन सक्ने विज्ञहरु बताउँछन् । यद्यपि, यो विधिलाई सबै कृषकसम्म पुर्याउने र बुझाउने गरी आवश्यक पहल हुन जरुरी छ ।




