काठमाडौं, २१ वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले क्रान्तिकारी संस्कारमा क्षयिकरण हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्लमाक्र्सको जन्म द्धिशतवार्षिकी समारोहलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी र कम्युनिष्ट संस्कार अबलम्बन गर्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समयमा कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी संस्कारमा क्षयिकरण सुरु भएको, विकृति विसंगति देखिएको भन्दै चिन्ता व्यक्त गरे । क्रान्तिकारी चेत भएर मात्रै नहुने भन्दै उनले कम्युनिष्ट संस्कार र क्रान्तिकारी संस्कारको आवश्यकतामा जोड दिए ।
उनले माक्र्सको द्वन्द्वात्मक भौतिकवाद र समाजवादलाई गतिशिलताको आधारमा बुझदै र बुझाउदै जानुपर्ने बताए । उनले गतिशिलतामा सिद्धान्तलाई बुझ्नुपर्नेमा जोड दिए । जनजीविकाको प्रश्न र परिर्वतनका एजेण्डाको जिम्मेवारी लिँदै जनचेतना, जनजागरण र संगठन सुदृढीकरणको सम्बन्धलाई यथोचित बुझेर संगठन परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
विश्वमा समाजवादको औचित्य र सान्र्दभिकता अझै महसुस भईरहेको भन्दै उनले माक्र्सवादलाई अझै बुझ्नु र अध्ययन गर्नु जरुरी रहेको बताए ।
कार्यक्रममा एमालेका अर्का बरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट एकता हुनुको विकल्प नभएको बताए । त्यसैगरी एमाले उपाध्यक्ष बामदेव गौतमले पनि आफुले सुरु देखि नै नेकपा एमाले र माओवादीबीच एकता हुनुपर्छ भन्दै आएको उल्लेख गर्दै दुर्इ पार्टीबीचको एकतापछि अन्य कम्युनिष्टलाई पनि एकता गर्नुपर्ने बताए ।
युग पुरुष कार्लमाक्र्सको जन्मको भोलि शनिबार २ सय बर्ष पुग्दैछ । त्यसै अवसरमा एमाले, माओवादी केन्द्र, नेकपा मसाल र जनमोर्चा नेपालले शुक्रबार संयुक्त रुपमा कार्लमाक्र्सको जन्म द्धिशतवार्षिकी कार्यक्रम गरेका हुन् ।




