डडेल्धुुरा, १८ चैत । प्रदेश नम्बर ७ को महत्वपुर्ण पर्यटकीय सम्भावना बोकेको आलीताल सरंक्षण र संबद्र्धनको पर्खाइमा रहेको छ । सम्बन्धित निकायले पनि आलितालप्रति खासै चासो नदेखाउँदा यो मेटिने अवस्थामा पुगेको स्थानीयले गुनासो गरेका छन् ।
डडेल्धुुराको आलीताल गाउँपालीकामा रहेको आलीताल समुद्री सतहबाट करिब ८ सय मिटर उचाईमा पर्छ । महाभारत पहाडी श्रृखलाको फेदमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकहरुको संख्या बढाउन सकिने स्थानीय अग्रजहरु बताउँछन् । तर, सरोकारवाला कुनै पनि निकायले तालको प्रवद्र्धन गर्ने विषयमा चासो देखाएका छैनन् । पर्यटकीय गन्तव्यको ठूलो सम्भावना बोकेको तालको संरक्षण र प्रचार–प्रसार नहुँदा लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
आलीताल भ्रमण गर्न एक घन्टाभन्दा बढी पैदल हिँडेर ताल पुगेका मोरङका अशोक राईले ताल पुरीने अवस्थामा रहेको बताए । उता, आलीताल गाँउपालीकाका अध्यक्ष बलबहादुर गुरुङ भने अलीताललाई संरक्षण गर्न योजना बनाईकेको दाबी गरेका छन् । प्रदेश नं ७ को यो ताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाएर यसै वर्षदेखि प्रचारप्रसारमा ल्याउने उनको भनाइ छ ।
एघार सय ७५ मिटर लम्बाइ तथा करिब चार सय मिटर चौडाइ रहेको तालमा महाभारतको चुरेबाट विभिन्न फोहर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ । तालको वरिपरि उम्रिएका बिरुवाले ताललाई छोप्दै लगेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने यो तालसम्म पुग्ने सडक समेत अधुरै अवस्थामा छ । यो दुरावस्थालाई चिरेर स्थानीय तहले आवश्यक कदम चालेको अवस्थामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने छ ।