काठमाडौं, ५ चैत । आगामी बुधबारबाट काठमाडौंमा ‘राष्ट्रिय इन्जिनियर सम्मेलन’ सुरु हुने भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १५ औं राष्ट्रिय इन्जिनियर सम्मेलन बुधबारबाट सुरु हुने जानकारी गराएको हो ।
‘समृद्ध संघीय नेपालका लागि इन्जिनियरिङ’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा राष्ट्रको समृद्धिका लागि आवश्यक पूर्वाधार विकासका विषयमा गहन छलफल हुने एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिए ।
३ दिनसम्म चल्ने सम्मेलनमा इन्जिनियरिङ क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिको विकास र विस्तारका विषयमा पनि छलफल हुनेछ । जलवायु परिवर्तन, वातावरण, प्राकृतिक प्रकोप व्यवस्थापन लगायतका क्षेत्रका विज्ञहरु पनि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय गरिएको छ ।