काठमाडौँ ।
सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तिब्रता दिइएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार एकीकृत प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको बैठकले कार्यान्वयनमा गएका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी कार्यक्रम सबै मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय गरेको समेत गरेको छ ।
उहाँले जेन–जी शहीद परिवार र घाइतेका मागहरु सम्बोधन गर्न सरकारले नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदामाथि गृहकार्य गरिरहेको बताउनु भयो । उक्त मस्यौदा परामर्शका लागि अर्थ, गृह र कानून मन्त्रालयमा पठाइएकोमा अर्थ र कानून मन्त्रालयबाट राय प्राप्त भइसकेको उल्लेख गर्दै उहाँले गृह मन्त्रालयको राय प्राप्त भएपछि आवश्यक परिमार्जन गरी पुनः कानून मन्त्रालयमा पठाइने बताउनु भयो । प्रवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको व्यवस्थापन परीक्षण शुरु गरिएको समेत जानकारी दिनुभयो । व्यवस्थापन परीक्षणमार्फत सरकारी निकायबाट सम्पादन हुने काम कानूनअनुसार भए–नभएको मूल्याङ्कनको कार्य भइरहेको छ ।उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रवार बिहानसम्म १८ अर्ब ६२ करोड ८ लाख ११ हजार ७ सय ४२ रुपैयाँ जम्मा भएको समेत जानकारी गराउनु भयो ।





