नाइजेरियामा इबोलाको जोखिमः संक्रमितसँग सम्पर्कमा आएका ५३ जनाको पहिचान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

नाइजेरियामा इबोलाको जोखिमः संक्रमितसँग सम्पर्कमा आएका ५३ जनाको पहिचान

नाइजेरियामा इबोला भाइरसको एक संक्रमित पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले शतर्कता बढाएका छन् । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले दिएको जानकारीअनुसार हालसम्म संक्रमित महिलाको सम्पर्कमा आएका ५३ जनाको पहिचान गरी उनीहरूको निगरानी शुरु गरिएको छ । एनसिडिसीका महानिर्देशक जिदे इद्रिसकाअनुसार युगाण्डाबाट इथियोपियाको अदिस अबाबा हुँदै अक्टोबर ३ मा अबुजा आएकी ४२ वर्षीया महिलामा इबोला संक्रमण पुष्टि भएको हो । ती महिलालाई अक्टोबर ७ देखि ज्वरो, पखाला, शरीर दुख्ने र घाँटी दुख्ने जस्ता लक्षण देखिएका थिए । उनी अक्टोबर १० मा उपचारका लागि निजी अस्पताल पुगेकी थिइन् भने अक्टोबर ११ मा अर्को अस्पतालमा भर्ना भएकी थिइन् । अक्टोबर १९ मा एनसिडिसीलाई जानकारी प्राप्त भएपछि गरिएको प्रयोगशाला परीक्षणबाट अक्टोबर २० मा संक्रमण पुष्टि भएको थियो । हाल ती महिलालाई अबुजाको एक आइसोलेसन केन्द्रमा राखेर उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । अधिकारीहरूकाअनुसार पहिचान गरिएका ५३ जना सम्पर्क व्यक्तिहरूमा स्वास्थ्यकर्मी, घरका कामदार र संक्रमितका पतिसमेत रहेका छन् । उनीहरूलाई पछिल्लो पटक सम्पर्कमा आएको मितिबाट २१ दिनसम्म निगरानीमा राखिनेछ । इद्रिसले हालसम्म अन्य कुनै पनि व्यक्तिमा लक्षण नदेखिएको र सबै सम्पर्क व्यक्तिहरूलाई वर्गीकरण गरी निगरानी गरिरहेको जानकारी दिए । यसका साथै, रिभर्स स्टेटमा देखिएको शंकास्पद केसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लागोस राज्य सरकारले पनि आफ्नो क्षेत्रमा इबोलाको कुनै जोखिम नरहेको स्पष्ट पार्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । नाइजेरियाले देशभरका स्वास्थ्य केन्द्रहरूमा संक्रमण रोकथाम र नियन्त्रणको क्षमता मूल्यांकन गर्नुका साथै प्रवेश बिन्दुहरूमा निगरानी कडा पारेको छ । इबोला संक्रमितको रगत, शरीरका तरल पदार्थ वा संक्रमित अंगहरूको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ । यसको लक्षण देखिने अवधि २ देखि २१ दिनसम्म रहने गर्दछ ।

Leave a Reply

ताजा समाचार