काठमाडौँ ।
वातावरण विज्ञ प्रा. डा. छत्रमणि शर्माले नेपालले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य हुँदा पनि जलवायु परिवर्तनको बढी असर भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग ‘क्लाइमेट जस्टिस’ माग गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका प्रमुख समेत रहुनभएका शर्माले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनसम्बन्धी तथ्यांकले हिमाली क्षेत्रमा यसले गम्भीर असर परिरहेको तथ्य स्थापित गरिसकेको बताउनु भयो । उहाँले १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी समेत जलवायु परिवर्तनको असरको कारण भएको कुरामा दुईमत नरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर प्रतक्ष्य रुपमा देखिन थालेको भन्दै यसलाई भविष्यमा निम्तिनसक्ने खतराको रुपमा मात्र हेर्न नहुने पनि बताउनु भयो ।
शर्माले जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया भएपनि पछिल्लो समय यसको गति तीव्र भएकाले त्यससँग अनुकूलन गर्न कठिनाइ भइरहेको बताउनुभयो । हजारौँ वर्षमा हुने परिवर्तन ५० वर्षमै हुँदा विश्वजगत यससँग एडप्ट हुन नसकेको उहाँको भनाइ छ । उहाँले औद्योगिकीकरणपछि मानवीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन बढेकाले जलवायु परिवर्तनको प्रभाव तिब्र बनेको बताउनु भयो । उहाँले विश्वका सबै देशले समान मात्रामा हरितगृह ग्यास उत्सर्जन नगरिरहेको भएपनि त्यसको असर समान रुपमा भोगिरहेको बताउनु भयो ।उहाँले नेपालको हिमालय क्षेत्रमा बढ्दो तापक्रम कारण हिमालहरु जोखिममा परेको बताउनु भयो ।




