विपद् व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँः महावीर पुन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

विपद् व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँः महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गरिरहेको बताउनुभएको छ ।
बुधवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको उहाँको भनाइ छ । साथै उहाँले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको बताउनु भयो । विपद् उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएका छन् । यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले भविष्यमा नेपालमै उत्पादन गर्न सकिने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाउने उहाँले बताउनु भयो । मन्त्री पुनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गरी त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने गरी तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘खासगरी वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत–सम्भार, पुनःस्थापना र आवश्यक सहयोग गर्ने काम भइरहेको छ । हामी कुनै दैवी विपत्ति भयो भने केही समय त्यसलाई सम्झिन्छौँ, तर एक वर्षपछि बिर्सिहाल्छौँ । त्यसकारण यस्तो अवस्था नहोस् भनेर सबै मापन केन्द्रहरूलाई ठीकठाक, तन्दुरुस्त र दुरुस्त अवस्थामा राख्ने काम भइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणालीको विकास गर्ने तथा एउटा ‘सिचुएसन रुम’ बनाएर त्यसबाट निरन्तर रियल टाइममा विभिन्न पूर्वानुमान तथा निगरानी गर्ने व्यवस्था विकास गर्ने काम पनि भइरहेको छ । त्यस्तै, अहिले ड्रोन र रोबोटिक्सको उपयोगिता धेरै देखिएको छ । त्यसैले विज्ञान तथा प्रविधि मन्त्रालयले सकेसम्म नेपालमै ड्रोन उत्पादन गर्ने उद्देश्यका साथ काम अघि बढाइरहेको छ । अहिले चीन र यूएईबाट ड्रोनहरू आएका छन्, जसले ८० देखि १०० किलोसम्मको तौल बोक्न सक्छन् । त्यस्ता ड्रोनहरू खरिद गर्दा निकै महँगो पर्छ । अहिले सहयोगस्वरूप प्राप्त भएकाले तिनको प्रयोग भइरहेको छ । भविष्यमा भने यस्ता ड्रोन नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने सम्भावनासहित काम भइरहेको छ । त्यसैगरी, हिमताल विस्फोटन, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गर्ने र त्यसलाई व्यावहारिक प्रयोगका लागि तयारी अवस्थामा ल्याउने काम पनि भइरहेको छ । छोटकरीमा भन्नुपर्दा, हामीले जानेको र सकेको जति काम गरिरहेका छौँ ।’
मन्त्रालयले वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत, सम्भार र पुनःस्थापनालाई प्राथमिकता राखेको उहाँले बताउनु भयो । मन्त्री पुनले हाल मन्त्रालयले रसुवा वाढी पीडितका लागी विदेशी सरकारबाट प्राप्त राहत सामग्री बुझ्ने तथा व्यवस्थापन गर्ने काम गरिरहेको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार राहत सामग्री बोकेका विमान दैनिक दुई–तीन ट्रिपसम्म नेपाल आइरहेका छन् । मन्त्रालयका राष्ट्रसेवक कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तलबबाट योगदान गरिरहेको पनि उहाँले बताउनु भयो । श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनङ्कित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले भइरहेको कामको कुरा गर्दा, मुख्यतः विदेशबाट विदेशी सरकारहरूले उपलब्ध गराएका राहत सामग्रीहरू जहाजमार्फत आइरहेका छन् । जहाजमा गएर विदेशबाट विदेशी सरकारहरूले दिएको राहतका सामग्रीहरू छ, त्यो बुझ्ने काम गरिरहेको छु, दिनदिनै गइरहेको छु । दिनदिनै आइरहेको पनि छ । दिनमा २–३ ट्रिप पनि आउँछ ।’
उहाँले रसुवा बाढीका क्रममा मृत्यु भएकाको पहिचानका लागि राष्ट्रिय आविष्कार केन्द्र (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार नास्टमा दैनिक करिव ४० देखि ५० वटा नमूना परीक्षण भइरहेको छ । नेपाली तथा चिनियाँ टोली संयुक्त रूपमा काम गरिरहेको उहाँले बताउनु भयो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृत शरीरका १ हजार ५६२ वटा डीएनए परीक्षण नमूना प्राप्त भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, बुटवलमा पनि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । परीक्षणमा भारतीय विज्ञसहित चिनियाँ प्राविधिक टोलीसमेत संलग्न रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले भइरहेको अर्को महत्वपूर्ण काम डीएनए परीक्षण हो । यो परीक्षण दुई ठाउँमा भइरहेको छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा । नास्टमा दैनिकजसो ४०–५० वटा नमुनाको परीक्षण भइरहेको छ । यसमा चिनियाँ र नेपाली टोली मिलेर काम गरिरहेका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भने अहिलेसम्म मृतकहरूको १ हजार ५ सय ६२ वटा डीएनए परीक्षणका नमूना आएका छन् । त्यस्तै, बुटवलमा हराएका व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन गरी परीक्षण गर्ने काम पनि भइरहेको छ । बुटवलमा अहिलेसम्म ९८ जनाको डीएनए नमूना संकलन तथा परीक्षणको प्रक्रिया अघि बढेको छ । यसका लागि भारतबाट नौ जना विज्ञ आएका छन् भने चीनबाट १५ जना विज्ञ तथा प्राविधिक टोली आएको छ । नेपाली टोलीसँग मिलेर नास्ट र नजिकै रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा उनीहरूले काम गरिरहेका छन् ।’
नास्टले साना सौर्य बत्ती एसेम्बल गरी आवश्यक स्थानमा पठाउने कामसमेत गरिरहेको मन्त्री पुनले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार