काठमाडौँ ।
नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले जेनजी आन्दोलनका क्रममा भएको क्षति र शहीद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताउनुभयो । उहाँले आन्दोलनको एक वर्ष बितिसक्दा पनि शहीद परिवार पीडामा रहेको बताउनुभयो । शहीद परिवारले न्याय कहिले पाउने उहाँको प्रश्न छ । सांसद खातुनले आन्दोलनका क्रममा युवाहरूको मागलाई वर्तमान सरकारले सम्बोधन गर्न नसकेको बताउनुभयो ।
आन्दोलनका कारण ध्वस्त भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने विषयमा समेत सरकारले स्पष्ट गर्नुपर्ने उहाँको भनाई छ ।उहाँले शहीदको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै राज्यले पीडित परिवारको माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद खातुनले बालबालिका तथा युवाहरूलाई जोखिममा पारेर बाहिरबाट तमासा हेर्ने राजनीतिक प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । युवाहरूको बलिदान र आन्दोलनबाट उठेका प्रश्नको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाई छ ।





