रसुवा बाढीः क्षतिको विवरण संकलन गर्न समस्या, उद्धारको लागि हेलिकप्टर परिचालन | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

रसुवा बाढीः क्षतिको विवरण संकलन गर्न समस्या, उद्धारको लागि हेलिकप्टर परिचालन

काठमाडौं ।

तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवामा आएको ठूलो बाढीका कारण रसुवामा प्रहरी चौकी, भन्सार कार्यालय र हेल्प पोस्टमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढी बुधबार बिहान करिब ८ः४० बजे नेपाल प्रवेश गरेको थियो । बाढी रसुवा, नुवाकोट हुदैँ धादिङको गल्छीसम्म पुगेको तर क्षतिको विस्तृत विवरण भने आइनसकेको उहाँको भनाई छ । बाढीका कारण नेपाल टेलिकम र एनसेलका टावरमा क्षति पुगेका कारण सूचना प्रणालीमा समस्या आएको छ । दुवै दूरसञ्चार कम्पनीसँग समन्वय गरी सेवा पुनः सञ्चालन तथा टावर मर्मतको काम भइरहेको उहाँले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका तीनवटा हेलिकप्टर परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीसहितको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको प्राधिकरणले जनाएको छ । केही व्यक्तिलाई उद्धार गर्नुपर्ने जानकारी आएपछि तत्काल हेलिकप्टर पठाइएको र तीन जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको महतले जानकारी दिनुभयो ।

बाढी हिमनदी पग्लिएर आएको हुनसक्ने देखिएको प्रारम्भिक अनुमान प्राधिकरणले गरेको छ । प्रवक्ता महतका अनुसार हिउँपहिरोका कारण नदी थुनिएको र केही समयअघि उक्त अवरोध खुलेपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक निष्कर्ष छ । यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको उहाँले बताउनु भयो । गत वर्ष पनि सोही क्षेत्रमा मनसुन सुरु हुने समयमा बाढी आएको थियो । त्यसबेला तिब्बततर्फको भोट्खोला क्षेत्रमा विस्फोटसम्बन्धी रिपोर्ट आएको थियो। यसपटक पनि बाढीको स्रोत नेपालबाहिर रहेको प्रारम्भिक अनुमानपछि नेपालले चीनसँग सीमा–पार विपद् जोखिम न्युनिकरण तथा पूर्वसूचना प्रणालीमा थप समन्वय गर्नुपर्ने आवश्यकता देखिएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतका अनुसार तिब्बततर्फ घटना भएकाले नेपालमा बाढी प्रवेश गरेपछि मात्रै प्रारम्भिक सूचना प्राप्त भएको थियो । नेपाल–चीनबीच विपद् जोखिमसम्बन्धी पूर्वसूचना र समन्वयलाई थप प्रभावकारी बनाउन सम्झौता गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनु भयो । बाढीको अवस्था र उद्धार तथा राहत व्यवस्थापनबारे प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ । यसअघि गृहमन्त्रीको अध्यक्षतामा मनसुन कमान्ड पोस्टको बैठक सम्पन्न भएको थियो ।

प्राधिकरणले विपद्सम्बन्धी सबै सरकारी निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा गैरसरकारी संस्थालाई परिचालन गरेको जनाएको छ । निजी क्षेत्रसँग भएको सम्झौताअनुसार हेलिकप्टर, ¥याफ्टिङलगायतका सेवासमेत तयारी अवस्थामा राखिएको छ । प्रवक्ता महतकाअनुसार निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई अन्यत्र परिचालन नगर्न निर्देशन दिइएको छ । आवश्यकता अनुसार ती हेलिकप्टरलाई बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार