प्रदेशको पहिलो नामकरण | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

प्रदेशको पहिलो नामकरण

pardaesh no 6

सुर्खेत, १३ फागुन । प्रदेशसभाको झन्डै शतप्रतिशत मतले प्रदेश ६ को नाम कर्णाली र राजधानी वीरेन्द्रनगर (सुर्खेत ) बनाउने निर्णय पारित गरेको छ । प्रदेशसभाको शनिबारको बैठकमा निर्णयार्थ पेस गरिएका दुई बेग्लाबेग्लै प्रस्तावलाई अनुमोदन गर्दै नामकरण र राजधानीको विषय टुंगो लगाइएको हो ।

अन्य प्रदेशमा नाम र राजधानीको विषय पेचिलो बनिरहेका बेला यहाँको प्रदेशसभाले दुई तिहाइ बढी मतले प्रस्ताव पारित गरेको हो । प्रदेशको नाम र राजधानी टुंगो लगाउने प्रदेश ६ पहिलो बनेको छ । ४० सदस्यीय प्रदेशसभामा ३७ सांसद (सभामुखबाहेक) मतदानमा सहभागी थिए । मन्त्री छनोटमा असन्तुष्ट भई पार्टी केन्द्रमा राजीनामा दिएका मुगुका एमाले सांसद चन्द्रबहादुर शाही र डोल्पाकी सांसद झोवा लामा विक अनुपस्थित थिए । दुईमध्ये एउटा प्रस्ताव सत्तापक्ष (एमाले) र अर्को प्रमुख विपक्षी दल (कांग्रेस) सांसदले सभासमक्ष पेस गरेका थिए ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले संविधानको धारा २९५ (२) बमोजिम प्रदेश ६ को नामकरण ‘कर्णाली प्रदेश राखियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव पेस गर्ने क्रममा उनले वैचारिक भिन्नताका बाबजुद प्रदेशको समग्र हितका सन्दर्भमा सबै पार्टी एकबद्ध भएको बताए । उनले प्रदेश ६ साविकको कर्णाली अञ्चलकै विस्तारित रूप भएको बताए । ‘अंकका आधारमा प्रदेश परिचय दिनुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने, ‘प्रदेशसभा पक्ष–प्रतिपक्षमा विभाजित नभएर ऐतिहासिक निर्णयमा सहभागी भएका छौं । यो नै हाम्रो सफलता हो ।’ कँडेलको प्रस्तावमाथि माओवादी केन्द्रका वीरबहादुर शाही, कांग्रेसका दीनबन्धु श्रेष्ठ र राप्रपाकी सोसिला शाहीले समर्थन जनाए । समर्थक सांसदको मन्तव्यपछि सभामुख राजबहादुर शाहीले खुला छलफलका लागि अन्य सांसदलाई बोल्न समय दिएका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरू कौशिलावती खत्री, सीता नेपाली, हिमबहादुर शाही, पदमबहादुर रोकाया, कृष्णा शाह, दानसिंह परियारले भाग लिए । प्रस्तावको पक्षमा ३७ जना अर्थात् बैठकमा उपस्थित सांसद सबैले दस्तखतका आधारमा मत जाहेर गरेका थिए । प्रमुख विपक्षी दलका नेतासमेत रहेका कांग्रेस सांसद जीवनबहादुर शाहीले ‘संविधानको धारा २८८ (२) बमोजिम प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत) कायम गरियोस्’ भन्ने प्रस्ताव पेस गरे ।

प्रस्ताव पेस गर्ने क्रममा बोल्दै उनले प्रदेशका विकास र समृद्धिका लागि आफूहरू केवल लोकप्रियता कमाउने बहानामा मात्र प्रतिपक्षीको भूमिका निर्वाह नगर्ने बताए । सबै दृष्टिकोणले सुर्खेतमा राजधानी उपयुक्त रहेको उल्लेख गर्दै उनले भने, ‘अस्थायी राजधानीलाई नै स्थायी बनाउनुको विकल्प छैन ।’ उनको प्रस्तावमाथि एमाले सांसद गुलाबजंग शाह, माओवादी केन्द्रका गणेशप्रसाद सिंहले समर्थन जनाए । सरकारले तत्काल प्रदेशसभा र प्रदेश सरकार सञ्चालन गर्न सुर्खेतलाई अस्थायी मुकाम तोकेको थियो । सुर्खेत साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पनि हो ।

विपक्षी दलका नेताले पेस गरेको उक्त प्रस्तावमाथिको छलफलमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई सभामुखले बोल्ने समय दिएपछि विपक्षी दलका नेतासमेत रहेका कांग्रेस सांसद शाहीले नियमापत्ति जनाए । सभामुखले प्रस्ताव सत्तापक्षको नभएको बताएपछि भण्डारीले बोलेका थिए । राजधानी वीरेन्द्रनगर सुर्खेतलाई बनाउने प्रस्तावमाथि फरक मत राख्दै जुम्लाका सांसदसमेत रहेका मन्त्री भण्डारीले पनि अन्तत प्रस्तावकै पक्षमा मतदान गरेका थिए । छलफलमा भाग लिँदै उनले जुम्लालाई ग्रीष्मकालीन र सुर्खेतलाई शीतकालीन राजधानीका रूपमा विकास गर्न सकिने धारणा राखेका थिए । छलफलमा सांसदहरू अम्मरबहादुर थापा, यज्ञबहादुर बीसी, धर्मराज रेग्मी, देवी ओली, ठम्मर विष्टले भाग लिए । प्रस्तावको पक्षमा ३६ र विपक्षमा १ सांसदले मत जाहेर गरे । राप्रपा सांसद सोसिला शाहीले विपक्षमा मतदान गरिन् । कालिकोटकी सांसद शाहीले पार्टी केन्द्रको निर्देशनबमोजिम आफूले राजधानीको विषयमा फरक मत जाहेर गरेको बताइन् । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावको समर्थनमा बोल्ने क्रममा उनले जुम्लालाई मौसमी राजधानी बनाउनुपर्ने तर्क गरेकी थिइन् ।

के हो कर्णाली 
कैलाश पर्वतलाई केन्द्र बनाएर बग्ने चार वटा नदीका सभ्यता ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली हुन् । हुम्ला निवासी पत्रकार डां. दीपेन्द्र रोकाया कर्णाली सभ्यताको प्रतीक भएकाले कर्णाली जलाधार क्षेत्रलाई प्रदेशको नामकरण गरिनु स्वागतयोग्य भएको बताउँछन् । ‘कर्णाली नदीले मात्र होइन, यो पूर्वीय दर्शनका हिसाबले पनि त्यत्तिकै परिचित छ,’ उनले भने, ‘कर्णाली साविकको कर्णाली अञ्चलका ५ जिल्लाका साथै भेरी र राप्तीसम्म आफ्नो ऐतिहासिक पहिचान फैलाउन सफल भयो ।’ कर्णाली सभ्यताको प्रतीक हुनुका साथै नेपालकै लामो नदी पनि हो ।

यसरी जुट्यो सहमति
२०७२ साउन २३ मा प्रदेश ६ को खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्र आन्दोलित भयो, जतिबेला सुदूरका ९ तथा मध्यपश्चिमका १० जिल्ला (रुकुम पश्चिम) समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । बेग्लै र स्वायत्त प्रदेश माग राखी चलेको आन्दोलनमा सुर्खेतमा ४ र जुम्लामा १ जनाको ज्यान गयो ।
आन्दोलन उत्कर्षमा पुगेपछि भदौ ४ गते प्रमुख दल ६ प्रदेशको सीमांकन पुनरावलोकन गरी ७ प्रदेशको संघीय संरचना निर्माण गर्न बाध्य भए ।

अन्तत कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम) समेटेर प्रदेश ६ जन्मियो । त्यतिबेलै प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत बनाउने विषयमा यस क्षेत्रका सबै दलबीच सहमति जुटिसकेको थियो । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिले दलीय सहमति जुटाउँदै अन्तत शनिबारको प्रदेशसभाबाट औपचारिकता दिएको हो । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);