राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छः विमलेन्द्र निधी | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छः विमलेन्द्र निधी

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।
जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता निधीले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राजनीतिक प्रणालीमाथि संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै नेता निधीले व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपिल गर्नुभयो । सुनचाँदी व्यवसायका क्षेत्रमा विद्यमान समस्याहरूबारे चर्चा गर्दै नेता निधीले सरकारको ध्यानाकर्षणसमेत गराउनु भयो । उहाँले सुनचाँदी व्यवसायीहरूलाई ‘कालोबजारी’को रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको टिप्पणी गर्दै यसलाई तत्काल बदल्नुपर्नेमा जोड दिनुभयो ।

सुनचाँदी व्यवसायीका लागि सहज, सुरक्षित र मर्यादित कानून निर्माण गरी भयमुक्त वातावरणमा व्यापार गर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायीहरूले ग्राहकबाट फिर्ता लिएको वा खरिद गरेको सुन बैंकहरूले किनिदिने उचित व्यवस्था गर्नुपर्ने, सुनचाँदी व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण अन्त्य गरी उनीहरूको सामाजिक मर्यादाको रक्षा गर्नुपर्ने माग गर्नुभयो । बैंकिङ प्रणालीमा देखिने तरलता अभावले व्यवसायमा पारेको असरप्रति संकेत गर्दै उहाँले बैंकिङ प्रणालीलाई थप व्यावहारिक र व्यवसायीमैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply