इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टादेखि अवरुद्ध भएको हवाई सेवा बिहीवार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । कर्मचारीहरूको अचानकको हडतालका कारण बन्द भएको विमानस्थल सेवा व्यवस्थापन पक्ष र कर्मचारी युनियनबीचको वार्तापछि सुचारु भएको इजरायल विमानस्थल प्राधिकरणले जनाएको छ । प्राधिकरणद्वारा जारी विज्ञप्तिअनुसार कर्मचारीहरूले उठाएका जनशक्ति वृद्धि र सञ्चालन सम्बन्धी मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धतापछि कामदारहरू काममा फर्कन सहमत भएका हुन् । यद्यपि, हडतालका कारण उत्पन्न अत्यधिक चापले गर्दा विमानको प्रस्थान र आगमनमा अझै केही ढिलाइ भइरहेको बताइएको छ । यो हडताल वर्षकै सबैभन्दा बढी व्यस्त समयमा भएको हो । ग्रीष्मकालीन बिदाको यो अवधिमा विमानस्थलबाट दैनिक एक लाखभन्दा बढी यात्रुले आवतजावत गर्ने गरेका छन् । हडतालको समयमा चेक–इन काउन्टर र सुरक्षा जाँच केन्द्रहरू पूर्ण रूपमा बन्द गरिएका थिए । जसका कारण प्रस्थान उडानहरू प्रभावित भएका थिए । पछि प्राधिकरणले जहाज अवतरणमा समेत रोक लगाउने निर्णय गरेको थियो । यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विमानस्थल सुचारु रहने स्पष्ट पार्दै कार्यसम्पादनमा अवरोध गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए । त्यस्तै, यातायात मन्त्री मिरी रेगेभले पनि कर्मचारीहरूलाई काममा फर्कन आदेश दिन श्रम अदालतमा निवेदन दिने चेतावनी दिएकी थिइन् । दुवै पक्षबीच सहमति जुटेसँगै अहिले विमानस्थलको सेवा बिस्तारै सामान्य अवस्थामा फर्कँदैछ ।




