निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी

काठमाडौँ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्युत उत्पादनसँगै व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन अपरिहार्य रहेको बताउनुभएको छ । इप्पानको आयोजनामा भएको फ्राईडे फोरममा उहाँले नेपालमा विद्युत उत्पादन र प्रशारण पूर्वाधार निर्माणमा निजी क्षेत्र सक्षम भइसकेकोले अब विद्युत व्यापारमा प्रवेश दिनुपर्ने बताउनुभएको हो । नेपालमा नीजी क्षेत्रले विद्युत उत्पादन, प्रशारण लाईन निर्माणमा सक्षम रहेको प्रमाणित गरिसकेको उहाँले बताउनु भयो । अध्यक्ष डाँगीले भारतमा निजी क्षेत्रका दर्जनौं कम्पनी विद्युत व्यापारमा सक्रिय रहेको उदाहरण दिँदै नेपालमा पनि निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनुपर्ने बताउनु भयो । नेपालमा उत्पादन हुने विद्युतको बजार विस्तार सरकारले मात्रै गर्न नसक्ने उहाँको भनाई छ । विद्युत व्यापारका लागि आवेदन दिएका कम्पनीलाई यथाशीघ्र अनुमति प्रदान गर्न उहाँले सरकारसंग माग गर्नुभयो । उहाँकाअनुसार उर्जा क्षेत्रमा प्रवेश भएको २५ वर्षमा नै निजी क्षेत्रको विद्युत उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको छ । हाल करिव ६ हजार २०० मेगावाटका आयोजना निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो । २ हजार २०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको चरणमा रहेको र करिब १६ हजार १४० मेगावाटका आयोजना विद्युत खरिद सम्झौता (पीपीए) को प्रक्रियामा रहेका उहाँले बताउनु भयो ।

निर्माणाधीन तथा विभिन्न चरणमा रहेका आयोजनालाई समयमै अघि बढाउन सकेमा सरकारले लिएको आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न सकिने उहाँको भनाई छ । तर उत्पादन बढाउनको लागी आन्तरिक विद्युत खपत वृद्धि र निर्यात बजार सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष डाँगीले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेको दाबी गर्नुभयो । नेपाल विद्युत प्राधिकरणका ठेकेदारले समयमा निर्माण गर्न नसकेको तनहुँको मार्कीचोकदेखि चितवनको भरतपुरसम्मको २२० केभी प्रशारण लाइन निजी क्षेत्रको नेतृत्वमा निर्माण सम्पन्न भएको उहाँको भनाई छ । उहाँकाअनुसार हाल नेपालबाट भारततर्फ १३२÷३३ केभीका विभिन्न प्रशारण लाइनमार्फत करिब ७०० मेगावाट तथा ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनमार्फत १ हजार २०० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने अवस्था छ । सन् २०२७÷२८ सम्म ढल्केबर–सीतामढी, न्यू बुटवल–गोरखपुर, इनरुवा–पूर्णिया र लम्की–बरेली प्रशारण लाइन निर्माण सम्पन्न भएमा थप ८ हजार ८०० मेगावाट विद्युत निर्यात गर्न सकिने सम्भावना रहेको उहाँले बताउनु भयो । त्यस्तै, रातमाटे–रसुवागढी–केरुङ प्रसारण लाइनमार्फत चीनतर्फ करिब २ हजार ५०० मेगावाट विद्युत निर्यात गर्ने सम्भावना रहेको उहाँको भनाई छ । यसका लागि विद्युत उत्पादन र प्रशारण लाइनको विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यसैबीच, राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेड र इप्पानबीच प्रशारण पूर्वाधार विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौताले निजी क्षेत्रको सहभागितामा प्रशारण लाइन निर्माणलाई गति दिने अपेक्षा गरिएको अध्यक्ष डाँगीले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार