बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् | ईमाउण्टेन समाचार

Our Network

साउन ६ २०८३, बिहीबार

बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । बिहीवार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले वर्तमान सरकार र प्रधानमन्त्री स्वयंले नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिएको उल्लेख गर्दै व्यक्तिगत चिनजान वा पहुँचका आधारमा नभई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताउनुभएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विधिपूर्वक काम गर्न र नतिजा देखाउन निर्देशन दिनुभएको उल्लेख गर्नुभयो । सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्णतः निरुत्साहित गरिने उहाँले बताउनु भयो । विगतमा सरुवाका लागि नेता र गुट समात्ने अभ्यासले ऊर्जा र समय नष्ट गरेको चर्चा गर्दै उहाँले अब त्यस्तो प्रणाली अन्त्य हुने दाबी गर्नुभयो । राजश्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि आफू स्वयं देशभरका भन्सार र कर कार्यालयहरूको स्थलगत अनुगमनमा जाने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । कर्मचारीहरूका समस्या, चुनौती र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताउँदै उहाँले कुनैपनि सुझाव वा समस्या भए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । प्रणाली सुधार र सुशासन प्रवद्र्धनका लागि आफू प्रतिवद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कतै अनियमितता वा बदमासी भएको भए प्रमाणसहित जानकारी गराउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो । यो कुनै व्यक्तिगत आग्रह नभई समग्र प्रणाली सुधारको अभियान भएको उनको भनाइ छ ।

Leave a Reply