एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३ औं संस्करण आगामी भदौ १८ गते | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३ औं संस्करण आगामी भदौ १८ गते

काठमाडौं ।

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण आगामी भदौ १८ गते काठमाडौँमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको २३ औं संस्करण भदौ १८ गते हुने भएको हो । यसपल्ट अवार्ड काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवको द ब्लु प्याभिलियनमा आयोजना हुने भएको छ । गत संस्करण पहिलोपल्ट अवार्ड उपत्यकाबाहिर पोखरामा आयोजना भएको थियो । मञ्चले पत्रकार सम्मेलनमा अवार्डको मितिसँगै मुख्य प्रायोजकबारे जानकारी दिएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र मुख्य प्रायोजक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  उक्त सम्झौता पुल ४५ लाख बराबरको हो । गोल्छा ग्रुप लगातार १९ औं वर्षसम्म अवार्डमा जोडिएको छ । अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता नवीकरण भइसकेको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकर्मीको सबैभन्दा लोकप्रिय एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डसँग १९ वर्षसम्म सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । यसपल्ट १७ लाख नगद र पाँच वटा बाइक प्रदान गर्ने उनको भनाई छ । गोल्छा ग्रुपले यो अवार्डलाई सहकार्यभन्दा पनि दायित्वका रूपमा लिँदै आएको उनले बताएका छन् । उनले खेलकुदका विभिन्न गतिविधिमा जोडिँदै आएपनि सबैभन्दा उत्साह यो अवार्डले दिने गरेको बताए । खेलकुदका विभिन्न गतिविधिमा सहकार्य गर्दै आए पनि खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई प्रत्यक्ष रूपमा सम्मान र प्रोत्साहन गर्ने भएकाले यो अवार्डसँग विशेष आत्मीयता रहेको उनको भनाइ थियो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले यो अवार्ड समग्र नेपाली खेलकुदकर्मीहरूको साझा सम्मान भएको बताए । उनले २३ औँ संस्करणसम्म निरन्तर रूपमा खेल क्षेत्रका लागि काम गर्न पाउँदा एनएसजेएफ परिवार उत्साहित रहेको उल्लेख गर्दै अवार्डलाई अझ व्यवस्थित, निष्पक्ष र भव्य बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको जानकारी दिए । मञ्चका महासचिव अन्जन खड्काले ९ विधामा अवार्ड अवार्ड प्रदान गरिने बताए ।

यसपल्ट वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड गरी ९ विधामा सम्मान प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ। प्रत्येक विधामा समान जनाको अन्तिम मनोनयन रहनेछ । उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक, पिपल्स च्वाइस र युवा विधाका विजेताले एक थान बजाज मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई नगदसहित सम्मान प्रदान गरिने मञ्चका महासचिव खड्काले जानकारी दिए । गत वर्ष दीपेन्द्रसिंह ऐरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाडी पूजा महतो घोषित भएका थिए । त्यस्तै स्पेसल अवार्डबाट तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङ्देम्बे तथा एसियन जर्नालिस्ट स्पोट्र्स अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।

Leave a Reply

ताजा समाचार