काठमाडौं ।
विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबल र जलवायु परिवर्तनको गम्भीर मुद्दालाई जोड्दै काठमाडौंमा युवाहरूले ‘नेट जिरो’ को सन्देश दिएका छन् ।
‘जलवायु कार्य, विश्वकप र युवा सहभागिता’ विषयक उक्त कार्यक्रममा सहभागी युवाहरूले फुटबलको रणनीतिक कौशललाई जलवायु संरक्षणको मैदानमा उतार्दै विश्वका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । प्रकृति रिसोर्सेस सेन्टरद्वारा आयोजित उक्त कार्यक्रममा युवाहरूले फुटबलको मैदानमा रहने रक्षापंक्ति, मिडफिल्ड र फरवार्डको भुमिकालाई जलवायु कार्यका सरोकारवालाहरूसँग तुलना गरेका थिए । फुटबलमा टोलीको संयोजन जस्तै जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सरकार, अन्तर्राष्ट्रिय निकाय, नागरिक समाज र निजी क्षेत्रको एकीकृत प्रयास आवश्यक हुने उनीहरूको निष्कर्ष छ । कार्यक्रममा केही युवाहरूले सरकारलाई ‘फरवार्ड’ को भुमिकामा राखेर जलवायु लक्ष्य प्राप्तिमा गोल गर्नुपर्ने धारणा राखे भने कसैले नीति निर्माताहरूलाई ‘मिडफिल्ड’ र अनुसन्धानकर्ताहरूलाई ‘स्ट्राइकर’ को रूपमा चित्रण गरे । यसै क्रममा पेरिस सम्झौता र जलवायु कोषहरूबाट अलग रहने अमेरिकी नीतिप्रति लक्षित गर्दै युवाहरूले जिम्मेवारीबाट बाहिरिए पराजय भोग्नुपर्ने सांकेतिक चेतावनी समेत दिएका थिए ।
प्रकृति रिसोर्सेस सेन्टरका कार्यक्रम व्यवस्थापक सन्तकुमार महर्जनले फिफामा आवद्ध २ सय १२ राष्ट्रलाई ‘क्लाइमेट एक्टर’ का रूपमा अगाडि बढाउनसके विश्वभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) ले यस शताब्दीको मध्यसम्ममा विश्वलाई ‘नेट जिरो’ (शुन्य कार्बन उत्सर्जन) मा लैजाने लक्ष्य निर्धारण गरेको छ । यस सन्दर्भमा फिफा विश्वकप जस्ता व खेलकुद प्रतियोगिताहरूको वातावरणीय प्रभावबारे पनि प्रश्न उठेको छ । कार्यक्रम संयोजक प्रज्ञा शेरचनले फुटबलको माध्यमबाट विश्वका नेताहरूलाई जलवायु कार्यमा ऐक्यवद्ध हुन दबाब दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताउनु भयो ।
ग्लोवल कार्बन एकाउन्टिङ प्लेटफर्म (ग्रीनली) काअनुसार विश्वकप सञ्चालनका क्रममा करिव ७७ लाख ६७ हजार ५ सय ४३ टन कार्बन उत्सर्जन हुने प्रक्षेपण गरिएको छ । यो परिमाण सन् २०२२ को विश्वकपको तुलनामा झन्डै दोब्बर हो । दर्शकहरूको हवाई यात्रा, यातायात, आवास र रंगशाला सञ्चालनका कारण उत्सर्जनमा वृद्धि हुने देखिएको हो ।
यद्यपि, आयोजक राष्ट्रहरूले १३ वटा रंगशालालाई ‘एलइइडी’ प्रमाणित हरित भवन प्रविधिमा आधारित बनाएका छन् । प्रतियोगितामा प्लास्टिकको निषेध र विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिइएको छ । तर फिफाले गर्ने कुल बजेट (११ अर्ब डलर) को तुलनामा कार्बन न्युनिकरणका लागि गरिने लगानी नगन्य रहेको विज्ञहरूको तर्क छ ।
विश्वको कुल कार्बन उत्सर्जनमा ३३ प्रतिशत हिस्सा ओगटेको चीनले सन् २०६० सम्म र ८ प्रतिशत हिस्सा ओगटेको भारतले सन् २०७० सम्म नेट जिरोमा पुग्ने लक्ष्य राखेका छन् । युरोपेली मुलुकहरूले आफ्ना पूर्वाधारलाई कार्बन न्युनिकरणमैत्री बनाउँदै लगेका छन् । तर ११ प्रतिशत उत्सर्जन गर्ने अमेरिकाले ठोस लक्ष्य निर्धारण नगर्नु र जलवायु कार्यप्रति उदासीन देखिनुलाई चिन्ताको विषय मानिएको छ ।
विश्वकप फुटबलको उत्साहलाई कायम राख्दै यसलाई कसरी ‘नेट जिरो’ अवधारणामा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा व्यापक बहस आवश्यक देखिएको छ । सन् २०३० को विश्वकपसम्ममा फिफाले वातावरणीय लागत स्वीकार गर्दै पूर्ण रूपमा जलवायुमैत्री प्रतियोगिता आयोजना गर्नसक्छ कि सक्दैन भन्ने प्रश्न अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ ।




