काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता शेयर बजारको अल्पकालीन उत्तारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले स्थिर र परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य राखेको स्पष्ट पार्नुभयो । नयाँ सरकार गठन भएको दुई महिना पुगेको सन्दर्भ जोड्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले मुलुकमा उद्यमशील वातावरण निर्माण गर्न र इमानदार करदातालाई प्रोत्साहन गर्न विशेष जोड दिएको बताउनु भयो ।
व्यवसायीहरूलाई सरकारको सहयात्रीका रूपमा चित्रण गर्दै उहाँले इमानदारपूर्वक राज्यलाई कर तिर्ने र स्वच्छ प्रतिष्पर्धामा विश्वास गर्ने उद्यमीहरूलाई प्रवद्र्धन गर्नु नै बजेटको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । कर प्रणालीमा रहेका चुनौतीहरूबारे चर्चा गर्दै अर्थमन्त्री वाग्लेले उच्च करको दरले लगानी निरुत्साहित हुने तर्क गर्नुभयो। ३९.५ प्रतिशतसम्मको उच्च सीमान्त आयकर रहेको मुलुकमा वैदेशिक लगानी भित्र्याउन कठिन हुने उहाँको भनाइ थियो । करको दर घटाउँदा राज्यलाई हुने प्रत्यक्ष फाइदाबारे प्रस्ट पार्दै अर्थमन्त्रीले विद्यमान उच्च दरका कारण करको दायराभन्दा बाहिर रहेकाहरूलाई औपचारिक प्रणालीमा ल्याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।




