काठमाडौं ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमवार पाकिस्तानले आगामी शुक्रवार स्विट्जरल्यान्डको जेनेभामा अमेरिका र इरानबीचको सम्झौताको आधिकारिक हस्ताक्षर समारोहको आयोजना गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सरिफले पाकिस्तानी संसदको तल्लो सदनलाई सम्बोधन गर्दै भन्नुभयो, “अमेरिका–इरान समझदारी पत्रको आधिकारिक हस्ताक्षर समारोह आउँदो शुक्रवार, जुन १९ मा स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुनेछ र यस समारोहको आतिथ्यता पाकिस्तानले गर्नेछ ।” उहाँले यो समझदारी दुई पक्षबीचको द्विपक्षीय सम्झौता मात्र नभई कूटनीतिको ठूलो सफलता भएको बताउनुभयो। उहाँले धेरै पटक यो शान्ति प्रक्रिया बिग्रने जोखिम देखिए पनि निरन्तरको कूटनीतिक प्रयासले यसलाई सही दिशामा राख्न मद्दत गरेको उल्लेख गर्नुभयो। यस प्रक्रियामा पाकिस्तानको नेतृत्व निरन्तर संलग्न रहँदै संयम, वार्ता र शान्तिपूर्ण समाधानको वकालत गरिरहेको उहाँले थप्नुभयो। प्रधानमन्त्रीले एक कठिन परिस्थितिमा पनि संयम, विवेक र शान्तिप्रतिको प्रतिबद्धता देखाएकोमा इरान र संयुक्त राज्य अमेरिकाको नेतृत्वलाई बधाई दिनुभयो । उहाँले यस विकासले जटिल अन्तर्राष्ट्रिय विवादहरू समाधान गर्न वार्ता र सामूहिक कूटनीतिक संलग्नताको महत्त्वलाई झल्काउने कुरामा जोड दिनुभयो ।





