काठमाडौं ।
नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयहरूमा सरकारको धारणा स्पष्ट पार्नुभएको छ । मन्त्री पोखरेलकाअनुसार अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको जवाफ संघीय संसद र संसदीय समिति दुवैमा दिइसक्नुभएको छ । उहाँले अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको बताउनु भयो । उहाँले आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने समेत स्पष्ट पार्नुभयो । विधेयक निर्माण र कानून संशोधनका विषयमा बोल्दै मन्त्री पोखरेलले सम्बन्धित मन्त्रालयहरूबाट प्राप्त प्रस्तावहरू मन्त्रिपरिषद्मा छलफल भई पारित भएपछि मात्र थप जानकारी दिइने बताउनु भयो ।
यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई) सँग जोडिएका अनियमितताका प्रसङ्गमा मन्त्री पोखरेलले हालसम्म मन्त्रालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पार्नुभएको छ । यद्यपि, परीक्षा सञ्चालनमा कुनै कमजोरी वा अनियमितता भएको पाइएमा त्यसमा संलग्न जोसुकैमाथि छानबिन गरी कारबाही गरिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।




