राष्ट्रिय सभाको सोमवारको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा सहभागी सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका हुन् । नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उठेर विरोध जनाएका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको छ भन्ने अभिव्यक्ति दिनुभएपछि प्रधानमन्त्रीको आलोचना भइरहेको छ । प्रधानमन्त्री साहले सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिने क्रममा उक्त अभिव्यक्ति दिनुभएको थियो । अहिले देशभर प्रधानमन्त्रीको अभिव्यक्ति विवादास्पद बनेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शीर निहुरिएको भन्दै आलोचना भइरहेको छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई संसदमा आएर माफी माग्न माग गर्दै प्रतिपक्ष दलहरुले संसद अवरुद्ध पारेका हुन् ।




